लुक्लामा विमान दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

213
Share
  • 574
  •  
  •  
    574
    Shares

काठमाडौँ, बैशाख १ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान भएको समिट एयर विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आइतबार विहान ९ बजेर ५ मिनेटमा लुक्लाबाट काठमाडौंका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान टेकअफ गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरिराखेको मनाङ एयरको हेलिकप्टसँग ठोक्किएको थियो ।

दुर्घटनामा विमानका को-पाइलट सुजि ढुंगाना र पर्यटक प्रहरी कार्यालय लुक्लाका कार्यरत प्रहरी साहायक निरिक्षक राम बहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

दुर्घटनामा चार जना घाइते भएका छन् । विमानका पाइलट रबिनाथ रोकाया, असई रुद्र बहादुर श्रेष्ठ र मनाङ एयर हेलिकप्टरका पाइलट चेत बहादुर गुरुङ र विमानकी एयर होस्टेस आर लामा घाइते भएका छन् । घाइतेहरुमध्ये एयर होस्टेस लामाको अवस्था सामान्य रहेको छ । पाइलटहरू रोकाया, गुरूङ र असई श्रेष्ठलाई उपचारका लागि काठमाडाैं ल्याएको छ ।

प्रहरीका अनुसार काठमाडौका लागि उड्न लागेको विमान र रामेछापतर्फ आउने तयारी गरिरहेको मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो । विमान धावनमार्गबाट ट्रयाक अफ भई हेलिकप्टरसँग ठोक्किएको थियो । विमानमा पाइलट रोकाया, को पाइलट ढुंगाना र एयर होस्टेस लामा मात्र थिए ।

ट्रयाक अफ भएको विमानले हेलिकप्टरसँग ठोक्किनुअघि विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरु खड्का र श्रेष्ठलाई ठक्कर दिएको थियो ।

लुक्ला विमानस्थल ट्रेकिङको लागि उपयुक्त समयमा अत्यन्तै व्यस्त रहने विमानस्थल मध्ये एक हो । त्यस्तै लुक्ला विमानस्थल उडानका लागि विश्वकै जोखिमयुक्त विमानस्थल मध्ये एक मानिन्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here