×

वीरगन्ज १७ चैत । समुद्रपार व्यापारमा कोलकाता बन्दरगाहलाई गन्तव्य (सीआईएफ) तोकेर आयात गरिएका कन्टेनर अब रेलमार्फत ढुवानी नहुने भएका छन् । सोमवारदेखि सीआईएफ कोलकातामा अनलोड भएका कन्टेनर सडक मार्गबाट ढुवानी गर्नुपर्ने भएको हो । रेलमार्फत सोझै गन्तव्यसम्म ढुवानीका लागि कोलकाता बन्दरगाह भन्सारले नेपाली आयातमा गत फागुन ३ देखि विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) लागू गरेको थियो । ईसीटीएस कार्यान्वयनमा आए पनि कोलकाता सीआईएफ तोकेर कन्टेनर आउने क्रम नरोकिएपछि चैत १७ (मार्च ३१) भित्र आएका यस्ता कन्टेनर ओसार्न रेल र सडकमार्ग दुवै विकल्प दिने सहमति भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र त्यहाँको भारतीय भन्सारका अधिकारीहरूले तोकेको समयसीमा आइतवार सकिँदै छ । ‘सोमवारदेखि सीआईएफ कोलकाताका कन्टेनर आयातकर्ताले रेलबाट ढुवानी गर्न पाउँदैनन् । त्यस्ता कन्टेनरलाई सडकबाट लैजाने विकल्प मात्र बाँकी रहन्छ,’ महावाणिज्य दूत एकनारायण अर्यालले आर्थिक अभियानसित भने ।

आइतवारसम्म कोलकाता बन्दरगाहमा अनलोड भएका कन्टेनर आयातकर्ताले भन्सार प्रक्रिया पूरा गरेर पनि रेलमार्फत ल्याउन सक्छन् । त्यसपछि कोलकाता सीआईएफमा आएमा भन्सार प्रक्रिया पुर्‍याएर सडकबाट मात्र ढुवानी गर्न पाइन्छ । कोलकातामा कागजी प्रक्रिया पूर्ण रूपमा हटाउन नेपाल–भारत द्विपक्षीय सहमतिमा यो व्यवस्था गरिएको महावाणिज्यदूत अर्यालले बताए ।

भन्सार जाँचपासका नाममा कोलकाता बन्दरगाहमा कागजी प्रक्रियाका कारण बढेको लागत घटाउन ईसीटीएस प्रभावकारी हुने अपेक्षा गरिएको छ । कन्टेनरमा यो प्रविधि जडान गरेपछि कोलकातामा हुँदै आएको जाँचपास सीमावर्ती भारतीय भन्सारमा हुन्छ । अहिले कोलकाताबाट ईसीटीएस लगाइएका कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाह र विराटनगरको सीमावर्ती भारतीय बथनाहा स्टेशनसम्म ढुवानी हुन्छ । रेलमार्पmत हुने अधिकांश कन्टेनर रक्सौल हुँदै वीरगन्ज सुक्खा बन्दरगाहमा ल्याइन्छ ।

ईसीटीएस लागू भएयता महावाणिज्य दूतावासले जारी गर्ने ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी)मा कमी आएको अर्यालले बताए । ईसीटीएस कार्यान्वयनमा आउनुअघिको तुलनामा एनओसी ४० प्रतिशतमा झरेको उनले बताए । ‘यसको मतलव कोलकातामा आउने ६० प्रतिशत कन्टेनर अब सीआईएफ वीरगन्जमा आउन थालेको भन्ने हुन्छ,’ महावाणिज्य दूत अर्यालले भने । कोलकाता सीआईएफमा आउने कन्टेनरलाई महावाणिज्य दूतावासले एनओसी जारी गर्नुपर्छ । सीधै वीरगन्ज गन्तव्य उल्लेख गरेर आउने कन्टेनरमा यो प्रक्रिया आवश्यक पर्दैन ।

Back to top