×

वीरगन्ज १५ चैत । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हालाई अख्तियारले पक्राउ गरेको छ ।

शुक्रवार तारेख लिन काठमाडौंस्थित अख्तियारको केन्द्रिय कार्यालय गएका बेला उनलाई नियन्त्रणमा लिएका हो । तत्कालिन कृषि विकास कार्यालय पर्साका प्रमुख रहेका सिन्हाले भवन निर्माण, ट्रयाक्टर खरिद, किसान प्रोत्साहन अनुदान लगायतका शीर्षकमा व्यापक अनियमितता गरेको उनीमाथि आरोप छ ।

उपसचिव सिन्हाले कृषि विकास कार्यालयमा भवन निर्माणको क्रममा ईस्टिमेट र कार्य सम्पादनको किर्ते हस्ताक्षर गरी बिल फछ्र्यौट गरेका थिए । तर सिन्हाले हस्ताक्षर गरेको नामका ईञ्जिनियर सहरी भवन कार्यालयमा नरहेकाले उनी किर्ते गरेको प्रष्ट देखिन्छ ।

सिन्हाले पुरानै भवनमाथि दुई तल्ला थपेको, पर्खाल निर्माणलगायतका अन्य केहि निर्माण गराएका थिए । तर भवन तथा सहरी डिभिजन कार्यालयबाट ईस्टिमेट समेत नगराई आफै किर्ते गरी ईस्टिमेट र फछ्र्यौट गरेका थिए । यस्तै धान जोनको समेत तत्कालिन प्रमुख रहेका सिन्हाले खरिद गरेको ट्रयाक्टरको १४ लाखको दरले भुक्तानी गरेको थियो । तर त्यो ट्रयाक्टर त्यही डिलरले बारा जिल्लामा आपूर्ती गर्दा साढे ११ लाख मात्र मुल्य तोकेको थियो ।

ट्रयाक्टर खरिदमा सिन्हा सहित बिक्रेता समेत अख्तियारको कार्वाहीमा तानिएका छन् । सिन्हाले असार ३२ गते ३२ लाखको चेक काटेका थिए । किसानहरुलाई प्रोत्साहनका लागि प्रदान गरिने रकम सिन्हाले झिकेपनि किसानहरुलाई दुई देखि चार हजारसम्म रुपैया दिएको भर्पाईमा किर्ते गरी ४० हजारसम्मको बनाएको आरोप छ ।

Back to top