×

नेपाली कांग्रेसभित्रको विवाद कुनै ठूलो होइन । महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पक्षले महाधिवेशन प्रतिनिधिहरूलाई आआफ्नो पक्षमा पार्नका लागि निर्वाचनमा हुन सक्ने फाइदालाई आंकलन गरेर विभिन्न किसिमका प्रयास गरिरहेका छन् । बाहिरबाट हेर्दा यो विवाद देखिएला तर वास्ताविकता भनेको यो प्रजातान्त्रिक प्रक्रिया हो र यसलाई विवाद भन्न मिल्दैन । तर पार्टीको आधिकार बैठकमा छलफल हुँदा बाहिर आएको जस्तो विवाद देखिँदैन । तर, पछिल्लो चरणमा विवादजस्तो कुराहरू आएका छन् । महासमिति बैठकपश्चात् केन्द्रीय समितिको बैठकबाट विधान सर्वसम्मतले पारित भइसकेपछि केही विषयहरू विवादित हुन पुगेको हो । त्यसैले यस्ता कुराहरू महाधिवेशनलाई नै मध्यनजर गरेर आएका छन् ।

विवादका लागि विवाद खडा गर्ने मान्छेहरू जहिले पनि खुल्ला हुन्छन् । यस्ता किसिमका विवाद खडा गर्नका लागि कुनै किसिमको नियम कानून अथवा अन्य कुराहरू आवश्यक हुँदैन । कांग्रेसको महासमिति बैठकमा विधानमै सर्वसम्मतिबाट गर्ने विषयहरू छन् । त्यही विषयलाई केन्द्रीय समितिले प्रस्तावको रूपमा लैजान सक्छ । अर्को कुरा महासमिति सदस्यहरूले एक तिहाइले हस्ताक्षर गरेर विधानमै आवश्यक संशोधन हुनुपर्छ भनेर प्रस्ताव दर्ता गरेर दुई तिहाइले प्रस्ताव पारित गर्ने भनिएको छ । यहाँनिर के भयो भने महासमिति बैठकभन्दा पहिला पटक–पटक केन्द्रीय समितिको बैठक बस्यो र सहमति हुन नसकेका विषयहरूले बैठक नै प्रभावित हुने अवस्था भएपछि एउटा विषयमा सहमतिमा पुग्यो । सहमति भएर अगाडि बढिसकेको विषयमा पनि कतिपय साथीहरूले हैन यो गलत भयो भनेर नोट अफ डिसेन्ट पनि लेख्नुभएको छ । अहिले आएर नोट आफ डिसेन्ट लेख्ने हो भने यसभन्दा अगाडि किन सर्वसम्मति भनेर लेख्नुभयो । यो प्रश्न उहाँहरूलाई गर्न सकिन्छ । तर त्यसरी पार्टी चल्दैन । त्यसले पार्टीभित्र द्वन्द्वको परिस्थिति सिर्जना हुनसक्छ । उहाँहरूले सभापतिले पेलेर लैजान खोज्यो भन्ने आरोप लगाउनुभएको छ, यो सरासर निराधार हो । हामीले हेर्ने भनेको दस्तावेज र त्यसको विधि प्रक्रिया हो । त्यसैले उहाँहरूले महाधिवेशनमा आफ्नो स्ट्रेन्थ कायम गर्नका लागि यस्ता कुराहरू गर्नुभएको हो ।

कांग्रेसको केन्द्रीय समितिले विधानको विषयमा छलफल ग¥यो, यसलाई कार्यसमितिमा राखिन्छ, निर्णय गर्ने बेलामा कुनै कुरामा सर्वसहमत पनि हुनसक्छ, कुनै विषय अल्पमत र बहुमत पनि हुनसक्छ । किनभने लोकतान्त्रिक विधि नै यही हो । अल्पमतले सत्ता सञ्चालन गर्न खोजेको भए लोकतान्त्रिक विधिको उपहास हुन्थ्यो । हाम्रो लोकतान्त्रिक परिपार्टी नै के हो भने जोसँग बहुमत छ उसले शासन सत्ता सञ्चालन गर्ने हो । हामीले संसदीय व्यवस्था, लोकतान्त्रिक विधिलाई मानेका छौं । जुन विषयमा सर्वसम्मत हुन सक्दैन त्यसलाई अनन्तकालसम्म बन्धक बनाएर राख्न पनि त उचित हुँदैन । त्यसैले लोकतान्त्रिक विधिबाट पार्टी चलेको छ । त्यसैले लोकतान्त्रिक विधिअनुसार नै विधानको सर्वसम्मतबाट प्रस्ताव गएको हो । कांग्रेसको विधानमा संशोधन गर्नका लागि दुईटा बाटो मात्रै छ । एउटा केन्द्रीय कार्य समितिले निर्णय गरेर विधान संशोधन माथि लैजाने अथवा महासमिति र महाधिवेशनमा एक तिहाइ सदस्यले हस्ताक्षर गरेर त्यसमा दुई तिहाइ पु¥याएर संशोधन गर्न सक्छ । ती दुइटै विधिबाट नआएको विषयलाई कसैले मेरो स्वार्थ र चाहना छ भन्दैमा हुँदैन । किनभने नेपाली कांग्रेस त सबैको पार्टी हो । नेपाली कांग्रेसले समावेशीको मुद्दालाई समेट्यो त्यसकारण महासमिति बैठक समाप्त हुनासाथ चारैतिर प्रसंशाको विषय भयो । किनभने कांग्रेसले संविधानको भावनाअनुरूप आठवटा कलस्टर तय ग¥यो । कांग्रेसले संघीयतालाई मानेर आफ्नो मोडालिटी तय ग¥यो । संघीयता र समावेशितामा नेपाली कांग्रेस गइसकेपछि त्यसको आलोचना गर्नु उपयुक्त होइन । कतिपयले समावेशीअनुसार उही पुरानै अनुहार आउँछन् भन्ने गुनासा गर्छन् । तर, अनुहार त नयाँ र पुराना पनि हुन सक्छन् । ती कुरा त मतदाताले तय गर्ने कुरा हो ।

गत वर्षको निर्वाचनमा जसरी नेपाली कांग्रेस कमजोर भएको देखियो यसको विभिन्न पाटाहरू छन् । अहिले यथार्थ र सत्य हामीले मूल्यांकन गर्नुपर्छ । किनभने पहाडको निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टी एक ठाउँमा आयो, स्वाभाविकरूपले कांग्रेस कमजोर भयो । यस्तै, तराईका दलहरूसँग पनि निर्वाचनमा चुनावी सहकार्य हुन सकेन, जसले गर्दा कांग्रेसको सिट कम हुन गयो । कहीं न कहीं गुटउपगुटभन्दा पनि अन्तर्घातले पार्टीलाई ठूलो क्षति भयो । तर, निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुको मुख्य कारक विभिन्न दलबीच चुनावी मोर्चाबन्दी, पुरानै अनुहारहरूलाई उम्मेदवार बनाइनु र अन्तिम समयमा उम्मेदवार टुंगो लगाउनु नै रह्यो । कांग्रेसको पराजको कारण अन्तर्घात मात्रै होइन यसका विभिन्न पाटाहरू छन् । हामीले मतको संख्या हेर्ने हो भने २०७० को निर्वाचनभन्दा अहिले मत बढी देखिएको छ । प्रतिनिधित्वको विषयलाई हेर्ने हो भने समानुपातिकमा पनि राम्रै अवस्था आएको छ । तर, दुईटा पार्टी एक ठाउँमा मिल्दा एक दुई मतले हार÷जीत हुँदा त्यो ठूलो कुरा होइन । तर, संख्याको आधारमा अहिले हामी निश्चितरूपमा कमजोर देखिएका छौं । त्यसैले गर्दा अहिले हामी जुन अवस्थामा आइपुगेका छौं त्यो अन्तद्र्वन्द्वले मात्रै होइन । हामी पनि मधेशका दल वा तत्कालीन माओवादीसँग गठबन्धन बनाएर जानसक्थ्यौं । गठबन्धन बनाएर जान सकेको भए कांग्रेसको अवस्था धेरै राम्रो हुन्थ्यो ।

विधि र विधानबाट आएको सभापतिलाई कसैले हटाउन सक्दैन । मेरो अनुहार, व्यवहार, कार्यशैली कसैलाई मन नपर्ला, तर त्यो अनुसार, व्यवहार र कार्यशैली विधि र विधानबाट आएको हो नि । यदि सभापति देउवालाई हटाउन कसैले चाहन्छ भने त्यसका लागि विधि र विधान चाहियो नि । त्यो विधि भनेको कांग्रेसको महाधिवेशन नै हो । त्यो विधिसम्म त कुर्नैपर्ने हुन्छ नि ।

अर्लि महाधिवेशन हुने सम्भावना नै छैन । कांग्रेसको इतिहासमा अहिलेसम्म यस्तो अवस्था आएको छैन । निर्वाचन आयोगमा नेपाल कांग्रेसले यदि आफ्नो विधानअनुसार पाँचवर्षे कार्यकाल पूरा गरेर पनि महाधिवेशन गर्दैन भने पार्टी नै खारेज हुने अवस्थामा जानसक्छ । त्यसकारण यस्ता कुराहरू जनमत जुटाउनका लागि गरिने प्रपञ्चहरू मात्रै हो । यसले उहाँहरूलाई पनि फाइदा गर्दैन । किनभने जो अहिले अर्लि महाधिवेशनको पक्षमा हुनुहुन्छ, जसले देउवालाई हटाउनुपर्छ भनिरहनुभएको छ, उहाँहरूले हिजो पार्टी सञ्चालनमा पुग्नुभएको थियो । आफूले गर्न नसक्ने अनि आज अलि अधिवेशन चाहियो भनेर हुँदैन । अर्लि अधिवेशनको परिणाम पनि उनकै फेवरमा जान्छ भन्ने पनि छैन नि । केही समस्याहरू छन् भने टेबुल टक गरेर समाधान गर्नुपर्छ । त्यसलाई सभापतिले पनि सरल र सहज तरिकाले स्वीकार्नुपर्छ ।

नेपाली कांग्रेस विभिन्न मुद्दाहरूमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गरेकै छ । मुलुकमा देखिएका हरेक जल्दाबल्दा मुद्दाहरूमा कांग्रेस खरो रूपमा आफ्नो प्रस्तुती दिँदै आएको छ । सभामुख र उपसभामुख फरक–फरक दलहरूबाट हुनुपर्छ अन्यथा सदन चल्नै दिन्नौं भन्ने परिस्थिति हामी सिर्जना गर्न सक्थ्यौं । मुलुक अहिले शान्ति प्रक्रियामा गइसकेपछि फेरि द्वन्द्व चर्काउनेतर्फ कांग्रेस लाग्दैन । विभिन्न भ्रष्टाचारका मुद्दाहरूमा कांग्रेसले खरो रूपमा आवाज उठाएको छ । कर्मचारीहरूको समस्याका विषयमा पनि कांग्रेसले आवाज उठाएकै छ । त्यसकारणले नेपाली कांग्रेस चुप लागेर बसेको अवस्था छैन । (नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मुसलमानसँग गरिएको कुराकानीको आधारमा) (मधेश दर्पण फिचर सेवा)

Back to top