×

वीरगञ्ज, १ चैत । कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहले नगरपालिकाको रकम दुरुपयोग गर्नको लागि नगरसभाको कुनै पनि प्रक्रिया नै पूरा नगरी आफ्नो मनोपोली ढंगले योजनाहरु राखेर नगरसभा गराएको आरोप उपप्रमुख नुरजाँहा खातुनले लगाएकी छन् । प्रक्रियाहरु पुरा नगरी कार्यालय प्रमुखलाई बलजफ्ती सही गर्न लगाएर गराएको नगरसभा स्वीकार्य नभएको भन्दै उपप्रमुखले शुक्रबार साँझ प्रेस विज्ञप्ति निकालेकी छन् । प्रेसविज्ञप्ति मार्फत उनले न्यायको लागि सम्बन्धीत निकायमा जाने चेतावनीसमेत दिएकी छन् ।

आ.ब.२०७५।०७६ को नगरसभा आ.ब.२०७४।०७५ को असाढ २५ भित्रमा हुनुपर्नेमा नगर प्रमुखले कारागारबाट नै आफ्ना पक्षधरका केही जनप्रतिनिधिहरुमार्फत नगरपालिकामा हिसाबकिताब लिनुपर्ने र आफ्नो अनुपस्थितिमा उपप्रमुखले करोडौं रकम अनियमितता गरेकोजस्ता झुठो आरोप लगाएर आफू नछुटुन्जेलसम्म नगरसभा हुन नदिएको उनले बताइन् । ‘नगरसभा भन्दा पहिला करका दरहरु र आन्तरिक आय विश्लेषण गर्न राजश्व परामर्श समितिको बैठक बस्नु पर्छ । वडागत तथा क्षेत्रगत बजेटको सिमा निर्धारण गर्न श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नु पर्छ । तर, कुनै पनि प्रक्रिया पूरा नगरी नगरसभा गराइनु नियमविपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ । योजना तथा कार्यक्रम माग गर्न वडा भेला, विषयगत योजना तथा कार्यक्रमको बारेमा छलफल गर्न विषयगत समितिहरुको बैठक, वार्षिक निति तथा कार्यक्रमको प्रस्ताव र योजना तथा कार्यक्रमको प्राथमिकिकरण, बजेट तथा कार्यक्रम तर्जुमा, बजेट तथा कार्यक्रम पास, बजेट स्वीकृति, लगायतका कुनै पनि प्रक्रिया पूरा नभएको विज्ञप्तिमा उल्लेख छ । ती प्रक्रियामा उपप्रमुखको अधिकार भएको र ती अधिकारबाट समेत आफूलाई वञ्चित गराइएको खातुनको भनाइ छ । नरपालिकाको रकम जनताको विकासको लागि सरकारले विनियोजित गरेर पठाएकाले केही जनप्रतिनिधिहरुको निजी स्वार्थको लागि दुरुपयोग हुन नदिने अडान खातुनको छ । यसैबीच नगरपालिकामा प्रतिनिधित्व गर्ने विपक्षी दल कांग्रेसका सदस्यहरुले पनि नगरसभा प्रक्रियाविपरीत भएको भन्दै विरोध गरेको बताइएको छ ।

Back to top