×

वीरगञ्ज – ‘महिलाले घरबाहिर निस्कनु हुँदैन’ भन्ने सोचका कारण धेरै महिलाले खुलेर बाहिरको काम गर्न सक्दैनन्। पछिल्लो समयमा यस्ता गलत सोचाइलाई तोड्दै मधेसी समुदायका महिला विभिन्न क्षेत्रमा अगाडि बढिरहेका छन्। मधेसका महिला समयअनुसार आफ्ना जीवनशैली फेर्दै जान थालेका हुन्।

३ वर्षदेखि वीरगञ्जको ब्यारेक रोडमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी गुडी साह भन्छिन्, ‘बढ्दो खर्च र आधुनिक जीवनशैलीका कारण घरका अन्य सदस्यसरह अगाडि बढ्न आफूले श्रीमानको सहयोगमा गार्मेन्ट उद्योग सञ्चालन गरेको हुँ।’ समयअनुसार विभिन्न परिस्थितिको सामना गर्नुपर्ने हुँदा महिला आफैँमा सक्षम हुन जरुरी रहेको उनको भनाइ छ।

वीरगञ्जकै माईस्थानमा कस्मेटिक पसल थापेकी पुनम सोनी घरको कामबाहेक खाली समयमा त्यसै बस्नुभन्दा बाहिरको कामले आत्मविश्वास बढ्नुका साथै परिवारमा पनि आर्थिक सहयोगसमेत हुने गरेको बताउँछिन्।

त्यस्तै बारा जिल्लाको बरियारपुरस्थित महागढीमाई मन्दिर परिसरभित्र फोटो खिच्ने व्यवसाय शुरु गरेकी ईन्दुदेवी साह समाजमा उदहारणीय पात्र बनेकी छन्। उनले श्रीमानलाई सघाउने मनसायले श्रीमानसँगै फोटोग्राफी सिकिन्। उनी आफ्नो यो पेशाबाट मनग्य आम्दानी गरिरहेकी छन्।

बारा सुराहीकी अफसाना खातुनले पनि १ वर्षदेखि वीरगञ्जको गहवामा सिलाइ तथा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छन्। श्रीमानले अर्की श्रीमती भित्र्याएपछि २ वटा सन्तानकी आमा अफसानालाई जीवन गुजारा गर्न निकै कठिन भयो। त्यसपछि उनले आफैँ केही व्यवसाय सञ्चालन गरी आम्दानी गर्ने सोच बनाइन्। अहिले उनी आफ्नो कमाइबाट सन्तुष्टसमेत छिन्।

वीरगञ्जमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी सिवाङ्गी सिंहले आफ्नो कमाइबाट परिवारमा आर्थिक सहयोग पनि हुने र आत्मबल पनि बढ्ने बताइन्। घरपारिवारलाई सम्हाल्दै व्यवसाय सञ्चालन गर्न महिलालाई त्यति सजिलो भने छैन। तर, महिलाहरू आत्मनिर्भर बन्ने चाहनाले उनीहरू दैनिक घण्टौँ मेहनत गर्छन्।

वीरगञ्ज बसपार्ककी मन्जित कौरले श्रीमानले शुरु गरेको होटल व्यवसाय अहिले आफैँले सञ्चालन गरिरहेकी छन्। कौरका अनुसार श्रीमानको देहान्तपछि घरपरिवार चलाउन निकै अप्ठ्यारो भयो, घरबाहिर काम गर्न लाज माने आफ्नो र बालबच्चाको खर्च कसले चलाइदिन्छन्? यस्तो बेला पसल आफैँले पनि सञ्चालन गर्नुपर्‍यो। होटलको आम्दानी पनि राम्रो भएको उनले बताइन्।

घरको काम सकेर खाली बसेको समयमा कुनै सीप सिकेर पनि महिला आत्मनिर्भर बनिरहेका छन्। रौतहट मौलापुरकी अनिता साहले खाली समयमा अहिले ब्युटिपार्लरको कोर्स सिकेर आगामी दिनमा केही गर्ने सोच बनाएकी छन्।

कपडा व्यवसाय तथा सिलाइ पसल गरेकी मेनका देवीका अनुसार बढ्दो महँगीमा परिवारको एक जनाले मात्रै कमाएर पुग्दैन। श्रीमानको कमाइमा थोरै भए पनि सहयोग पुगोस् भनेर आफूले व्यवसाय गरेको बताउँछिन्। बढ्दो महँगीमा परिवारको एक जनाले मात्रै कमाएर नपुग्ने हुँदा घरखर्चदेखि बालबच्चालाई राम्रो शिक्षादीक्षा दिन पनि श्रीमानकै सहयोगमा बाहिरी कामकाजमा अगाडि बढेको उनको भनाइ छ।

तराई मधेसमा अहिले मधेसी महिला हरेक क्षेत्रमा अगाडि बढ्न उत्सुक देखिन्छन्। तर, समाजमा अझै पनि महिला र पुरुषको काममा विभेद हुने गरेको छ। परिवारको साथ र सहयोग पाए महिला पनि घरभित्रको काममात्र नभई बाहिरको काम पनि कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्– यी महिला।

महिलाले घरभित्रको काम मात्रै गर्नुपर्छ भन्ने गलत मान्यता समाजबाट विस्तारै हट्दै गएको छ। पुरुषको बुझाइ पनि फेरिएको छ। वीरगञ्ज गहवाका स्थानीय रामबाबु सर्राफले श्रीमतीका लागि रेडिमेड कपडा पसल थापिदिएका छन्। उनी भन्छन्, ‘महिला र पुरुष एक रथका दुई पांग्रा हुन्।’ श्रीमतीलाई आफूले सक्दो सहयोग गरिरहेको उनले बताए।

वीरगञ्ज गहवाकै अर्का स्थानीय अजय मिश्रा बौवाले सिलाइ गरेर श्रीमती अनामिका मिश्रालाई स्नातकोत्तर डिग्रीसम्म पढाए। अहिले उनकी श्रीमती समता स्कूलकी प्रधानाध्यापक छिन्। अजय मिश्राका अनुसार हरेक कामकाजमा महिला र पुरुषको भूमिका उत्तिकै अहम् हुने गर्छ। त्यसैले महिलाले मात्र घरभित्रको काम गर्नुपर्ने पितृसत्तात्मक सोच नै गलत छ।

शिक्षिका मिश्राका अनुसार मधेसी समुदायमा रहेको पुरातन सोचले महिला घरबाहिर निस्कनुहुन्न, काम गर्नुहुन्न भन्ने गलत सोचलाई नकार्दै मधेसी समुदायका महिला अगाडि बढ्न थालेका छन्। समयअनुसार शिक्षाको विकास तथा बदलिँदो परिवेशमा महिला आफैँमा सक्षम हुन जरुरी छ भन्ने सोचले हरेक क्षेत्रमा महिलाको पहुँच बढेको छ।

शिक्षिका मिश्रा भन्छिन्, ‘पुरुषत्व हावी भएको मधेसी समुदायमा जब महिलामा चेतनाको विकास भयो, तब उनीहरूले आफँै सक्षम हुनका लागि प्रतिकार गर्न सिके। घरमा विरोध गरेर भए पनि अहिलेको बदलिँदो परिवेशमा महिला आपूmलाई पुरुषसरह बदल्न चाहन्छन्, जसका कारण समाजमा विद्रोह गरेर भए पनि हरेक क्षेत्रमा महिला अगाडि बढ्न थालेका हुन्।’

प्राध्यापक डा. सुष्मा दुवेदीका अनुसार पहिलेभन्दा अहिले महिला हरेक क्षेत्रमा अगाडि बढ्दैछन्। मधेसी समुदायका महिला हरेक क्षेत्रमा अगाडि बढे पनि जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म उनीहरूको पहुँच पुग्न सकेको छैन। ‘यसमा राम्रो पक्षको कुरा गर्दा समयअनुसार शिक्षा तथा जनचेतनामूलक कार्यक्रमले महिलालाई हरेक क्षेत्रमा समावेश गर्नुपर्छ भन्ने सकारात्मक परिवर्तन आएको छ,’ उनले बताइन्।

उनका अनुसार प्रदेश २ सरकारले अहिले ल्याएको ‘बेटी बचाई, बेटी पढाई’ भन्ने अभियानले पनि निकै प्रभाव पारेको छ। अहिले हरेक क्षेत्रमा महिलाले अवसर पाएका छन्। महिला शिक्षित हुँदै घरभित्र बस्ने सोचलाई नकार्दै अगाडि बढ्न थालेका छन्। साथै ग्रामीण भेगका अशिक्षित महिलाले पनि आफूभित्र रहेको सीपलाई आयआर्जनमूलक काममा लगाउनुपर्छ भन्ने सोच गर्दै हरेक क्षेत्रमा पुरुषसरह काम गर्दै आइरहेका छन्। नेपाली पब्लिकबाट

Back to top