फोरम पर्सामा भाँडभैलो, फोरम केन्द्रीय समितिले किन खोज्यो प्रदीप यादवको विकल्प ?

1573

वीरगञ्ज, २१ फागुन संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला समितिको आन्तरिक विवाद भुसको आगो झै फैलिदै गएको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका जिल्ला अध्यक्ष प्रदीप यादवको कार्यशैलीप्रति सशंकित केन्द्रीय समितिकै रुचीमा फोरम पर्सामा यादवको विकल्प खोज्न लागिएको छ । ती धारबीच सक्रिय सदस्यता वितरणको विषयमा तीव्र विवाद भइरहेको छ । केन्द्रीय महाधिवेशनलाई लक्षित गरी पर्सामा सक्रिय सदस्यता फारम भर्ने र दर्ता गराने विषयमा यो विवाद रणनीतिक रुपमै सतहमा आएको देखिएको छ । यसमा प्रदेश अध्यक्ष रेणु यादवले पनि सहयोगी भूमिका निर्वाह गरेको बताइएको छ । जिल्लामा प्रदीपको कार्यशैली मन नपाउने असन्तुष्टहरुलाई प्रयोग गरेर अध्यक्ष यादवले उनको विकल्प तयार पारिरहेको फोरम स्रोतले बताएको छ । प्रदीपको वैकल्पिक आधार बनाउने अभियानमा अग्रसर देखिएका नेता शशीकपुर मियाँले वैकल्पिक धारको नेतृत्व गरिरहेका छन् । सक्रिय सदस्यको फारम दर्तामा समेत मियाँको अग्रसरतामा जिल्ला अध्यक्षलाई बाईपार गरेर आफू निकटका करीब २ हजार २ सय फारम प्रदेश समितिमा दर्ता गराएको आरोप प्रदीप निकटका नेताहरुले लगाएका छन् । यसमा प्रदीप पक्षले असन्तुष्टि जनाएको छ । बेग्लै फारम दर्ता गराउने तयारी गरिरहेको प्रदीप पक्षधरभित्रै सक्रिय सदस्यताको विषयमा चर्को मतभेद रहेको बुझिएको छ । जबकि फारम दर्ता गर्ने समयसीमा बितिसकेको छ । यसको समयसीमा फागुन २० सम्म थियो । प्रदीप यादवलाई साइड लगाउने योजनाकै निम्ति पर्सालाई आधार बनाएर राजनीतिमा सक्रिय मियाँ, पुरुषोत्तम झा, लक्ष्मीकान्त तिवारी र सिपु तिवारीलाई केन्द्रीय सदस्य बनाइएको फोरमका एक केन्द्रीय नेताले बताए । केन्द्रीय उपाध्यक्षसमेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्जुर अन्सारी, सिंहासन कलवार, करिमा बेगम, भीमा यादव, जन्नत अन्सारी, राघिनी बरनवाललगायतका प्रदेशसभा सदस्यसमेत पर्साको वर्तमान नेतृत्वको विकल्पको पक्षमा उभिएको बताइएको छ । प्रदीप यादवको निकट मानिएका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले जिल्लालाई बाइपास गरेर सदस्यता दिन नमिल्ने दाबी गरे । विधि मिचेर प्रदेश समितिले जिल्लामा समानान्तर समिति बनाउन खोजेको आरोप उनले लगाए । यसबारेमा कुरा गर्न खोज्दा अध्यक्ष उपेन्द्र यादवले फोन नउठाएको गुनासो गर्दै प्रदीप यादवको गुटलाई बाईपास गर्न शक्ति नै लागेको आरोप कुर्मीले लगाए । तर, शशिकपुर मियाँले जिल्लाका वरिष्ठ उपाध्यक्ष मन्जुर अन्सारीको अध्यक्षतामा बसेको जिल्लाको बैठकले विधिवत निर्णय गरी प्रदेशमा फारम दर्ता गराएको बताए ।  पर्साबाट निर्वाचित सांसदहरु विमल श्रीवास्तव र हरिनारायण रौनियारले पनि प्रदीपविरुद्धको रणनीतिलाई सघाइरहेको बुझिएको छ । वीरगञ्जका मेयर विजय सरावगी र स्थानीय तहमा निर्वाचित केही प्रतिनिधिले पनि प्रदीपको साथ छोडिसकेका छन् । प्रदीपसँग मेयर सरावगीको असहमति त विगतमा सतहमै छताछुल्ल भएको थियो । पार्टीबाटै असहयोग भएको भन्दै राजनीमाको घुर्की लगाएका सरावगीलाई मनाउँन उपेन्द्र यादवले निकै कसरत गर्नु परेको थियो । प्रदीप यादवको निकट मानिएका जिल्ला इन्चार्ज वीरेन्द्र यादवलाई हटाएर सो पदमा पनि सिहासन कलवारलाई ल्याइएको छ । जिल्लाका निमित्त सह सचिव मुकेश द्विवेदी पनि प्रदीप समूहको विपक्षमा उभिएका छन् । चैत १५ गतेभित्र जिल्लाको अधिवेशन हुने र त्यही अधिवेशनबाट प्रदीपलाई हटाउने रणनीतिमा फोरमको केन्द्रीय नेतृत्व लागेको बुझिएको छ । प्रदीपको विकल्प किन ? लामो समयदेखि फोरम पर्सामा वर्चश्व जमाएका प्रदीप यादव बसेका र उनलाई पाखा लगाउन खोज्नुको मुख्य कारण भएको फोरम स्रोतले बताएको छ ।