×

वीरगन्ज ६ फागुन(यात्रा संवाददाता)ठोरी गाउँपालिकाको सेवाकेन्द्र सुवर्णपुरबाट घ्याङडाँडा सार्ने मन्त्री परिषदको निर्णयको विरोध गर्दै आन्दोलित सुवर्णपुरबासी हरु स्थानीय सरकारसंग बार्ता गर्न तयार भएका छन् । आइतबार प्रेस बिज्ञप्ति मार्फत उनीहरुले बार्ताको लागि तयार भएको बताएका हुन् । बार्ता टोलीका संयोजक तथा संघर्ष समितिका उपसंयोजक बिमल प्रधानद्धारा हस्ताक्षरित बिज्ञप्तिमा ठोरी गाउँपालिकाको विकास निर्माण लाई ध्यानमा राखेर स्थानीय सरकारले बार्ताको लागि गरेको आह्वानलाई सहज रुपमा स्वीकार गरेको बताईएको छ । ठोरी गाउँपालिकाको स्थानीय सरकारले आन्दोलनरत पक्षलाई केही दिन अघि बार्तामा आउन आह्वान गरेको थियो । संघर्ष समितिका उपसंयोजक बिमल प्रधानको संयोजकत्वमा गठित बार्ता टोली ३ सदस्यीय रहेको बिज्ञप्तिमा जनाईएको छ । ठोरी गाउँपालिकाको सेवाकेन्द्र सुवर्णपुरबाट घ्याङडाँडा सार्ने निर्णयको विरोध स्वरुप आफुहरु गाउँपालिको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको र तालाबन्दीका कारण सर्वसाधारण लाई परेको असरको लागि आफुहरु क्षमाप्रार्थी रहेको पनि बिज्ञप्तिमा जनाईएको छ । गत माघ १४ गतेको मन्त्री परिषदको बैठकले ठोरी गाउँपालिका र सम्बन्धित प्रदेशबाट प्रकृया पुरा भई आएको भन्दै ठोरी गाउँपालिकाको सेवाकेन्द्र सुवर्णपुरवाट घ्याङडाँडा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोध स्वरुप सुवर्णपुरबासीले माघ १७ गते देखि गाउँपालिकाको सुवर्णपुरको कार्यालयमा तालाबन्दी गरेका थिए । ठोरी गाउँपालिकाले भने केही दिन अघिदेखी अहिले कार्यालय सरेको स्थान घ्याङडाँडामा गाउँपालिकाको कार्यालय स्थापना गरी सेवा दिन थालेको छ ।

Back to top