वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकलाई कार्यक्षमता बढाउने दबाब

50

वीरगन्ज १ फागुन । कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम(ईसीटीएस) लागू हुने भएपछि वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकलाई कार्यक्षमता बढाउने दबाब बढेको छ । ईसीटीएस कार्यान्वयनले वीरगन्ज सुक्खा बन्दरगाहमा कन्टेनरको चाप बढ्ने हुँदा व्यवस्थापन प्रभावकारी बनाउन बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिले सरोकारका पक्षसित समन्वय तीव्र तुल्याएको छ ।

आयातकर्ताको प्रतिनिधिका रूपमा बन्दरगाहमा कार्यरत भन्सार एजेन्टलाई काम गर्ने समय बढाउन आग्रह गरिएको टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए । ‘एजेन्टहरूलाई बिहान ८ बजेदेखि काममा आउन आग्रह गरेका छौं,’ उनले आर्थिक अभियानसित भने ‘ईसीटीएस लागू भएपछि यहाँ कन्टेनरको चाप बढ्छ । त्यसको सहज व्यवस्थापनका लागि कार्यअवधि र क्षमता बढाउनुको विकल्प छैन ।’



वीरगन्ज भन्सार एजेन्ट संघका पदाधिकारीसँग बन्दरगाह सञ्चालकले काम गर्ने समय बढाउन आग्रह गरेको हो । अहिले एजेन्टहरू बिहान ११ बजेअघि काममा नआउने चौधरीले बताए । वीरगन्जमा ७० ओटा एजेन्ट कम्पनी कार्यरत रहेको एजेन्ट संघका अध्यक्ष बालकृष्ण बस्नेतले बताए । उनले बिहान ८ बजेदेखि काम गर्न एजेन्टहरूलाई सूचित गरिएको जानकारी दिए ।

आफूहरू बिहानै काममा गए पनि सरोकारका अन्य कार्यालय र बैंक बिहान १० बजेपछि मात्र खुल्ने भन्दै एजेन्टहरूले समस्या देखाउने गरेका छन् । पहिला वीरगन्ज भन्सारमा मात्र सीमित एजेन्ट अहिले सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी (आईसीपी) भन्सार गरी ३ ठाउँमा बाँडिएका छन् । एजेन्टले जनशक्ति भने नबढाएकाले तोकिएको काममा ढिलाइ भइरहेको चौधरीले बताए । बन्दरगाह भन्सार पनि काम गर्ने समयावधि बढाउन तयार रहेको उनले बताए ।

एजेन्टका कारणमात्र नभएर स्वयम् बन्दरगाह सञ्चालकले आवश्यकीय पूर्वाधारको गतिलो प्रबन्ध गर्न नसकेको आरोप एजेन्टहरूको छ । कन्टेनरको चाप बढे पनि कन्टने र लाडे अनलाडे गर्ने चारओटा रिच स्टाइकरमध्ये दुईओटा बिग्रेको महीनौं बितिसक्दा टर्मिनलले मर्मतमा चासो नदेखाएको बताइएको छ । मर्मतमा बढी खर्च लाग्ने भन्दै दुईओटाले काम चलाइरहेको एजेन्टले बताए ।

आउँदो ३ फागुनदेखि तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट नेपाल आउने कन्टेनर कार्गोमा ईसीटीएस प्रविधि लागू गर्ने तयारी छ । यसका लागि कोलकाता पोर्ट ट्रस्ट, त्यहाँको बन्दरगाह भन्सार र सिपिङ कम्पनीहरूले आवश्यक तयारी गरिसकेको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । ‘सम्बद्ध निकाय र पक्षसित समन्वय भइरहेको छ । सबै पक्ष कार्यान्वयनमा तत्पर छन्,’ महावाणिज्यदूत अर्यालले भने ।

यो प्रणाली लागू भएपछि कोलकाता बन्दरगाहस्थित भन्सारमा हुँदै आएको कागजी प्रक्रिया सीमावर्ती भारतीय भन्सारमा हुन्छ । रेलसेवासँग जोडिएको एकमात्र सुक्खा बन्दरगाह भएकाले वीरगन्जमा स्वाभाविक चाप बढ्ने चौधरीले बताए । उनका अनुसार ईसीटीएस लागू भएपछि वीरगन्ज सुक्खा बन्दरगाहमा अहिलेको तुलनामा तत्कालै २५ प्रतिशतसम्म कन्टेनरको चाप बढ्न सक्छ । अहिले यो बन्दरगाहमा रेलमार्ग हुँदै महीनामा ४ हजार ५ सयको हाराहारीमा कन्टेनर आउँछन् ।

वीरगन्ज सुक्खा बन्दरगाहमा कन्टेनरको चाप बढ्दै गएकाले क्षेत्रफल पनि विस्तार नगरी नहुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । ‘१४ वर्षअघि निर्माण भएको बन्दरगाहको क्षमता बढ्दो व्यापारका कारण संकुचित भइसक्यो,’ केडियाले भने, ‘चाँडै नै क्षेत्र विस्तार नगर्ने हो भने आयातकर्ताले कोलकातामा भोगेको जामको समस्या वीरगञ्ज बन्दरगाहमा झेल्ने अवस्था आउन सक्छ ।’

सुक्खा बन्दरगाह र आईसीपीबीचको ६२ बिगाह जग्गा अधिग्रहण गरी क्षमता विस्तारको योजना राखिए पनि गति समात्न सकेको छैन । ४ वर्षअघि थालिएको अध्ययन भर्खरै सकिएर मुआब्जा निर्धारण गरिएको छ । मुआब्जा कम भएको भन्दै असन्तुष्ट स्थानीय विरोधमा उत्रिएका छन् ।