नेपाल–भारत सुरक्षा अधिकारीको बैठक, सिमामा सुरक्षा अवस्था कडा पार्ने निर्णय

43
Share
  •  
  •  
  •  

वीरगन्ज २९ माघ । भारतमा आसन्न लोकसभा चुनावका बेला सिमा क्षेत्रमा सुरक्षा कडा पार्ने नेपाल र भारतीय सुरक्षा अधिकारी सहमति भएका छन् । नेपाल र भारत अधिकारीबीच सोमवार जनकपुरमा भएको बैठकमा यस्तो सहमती भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र भारतको बिहार प्रदेश अन्तर्गत मधुबनी जिल्लाका डीएम कपिल अशोकको अगुवाइमा सुरक्षा सवालमा छलफल भएको छ । बैठकमा आगामी अप्रिल र मे महिनामा हुने लोकसभा चुनावलाई केन्द्रित गरेर सीमामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्ने सहमती भएको धनुषाका प्रमुख जिजिअ कणेलले बताए ।
उनले सीमामा हुन सक्ने सम्भावित अपराधिक क्रियाकलाप रोक्ने र नक्कली रुपैयाँको ओसारपसार हुन नदिने सवालमा दुवै पक्ष सहमत भएको जानकारी दिए । सिमा क्षेत्रमा हुने अवैध मदिराको कारोबार र लागुऔषधको कारोबार नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको प्रजिअ कणेलको भनाई छ ।

लोकसभा चुनावका बेला सिमा सिल (बन्द) गर्ने निर्णय पनि भएको छ । प्रायः भारतको हरेक चुनावमा सिमा ठप्प पार्छ । यसपटकको लोकसभा चुनावमा पनि २४ घण्टाका लागि सिमा ठप्पा पार्ने र नेपाली सुरक्षा अधिकारीले सहयोग गर्न सहमत भएको छलफलमा सहभागी एक भारतीय अधिकारीले बताए । उनले भने, ‘चुनावका बेला पनि भुलवस कोही नेपाली भारत प्रवेश गरेमा दुव्र्यवहार हुँदैन । हामी सम्मान पुर्वक फिर्ता पठाउँछौं ।’

गत डिसेम्बरमा भारतको बिहारको मधुबनीमा संयुक्त सुरक्षा अधिकारीको बैठकबाट सीमा स्तम्भको मर्मत तथा सम्भार गर्ने निर्णय भएको थियो । उक्त निर्णय विषयमा पनि छलफल भएको छ । प्रजिअ कणेल भने, ‘भारतीय क्षेत्रबाट हुने अतिक्रमण उनीहरुले रोक्ने प्रतिवद्धता जनाएका छन् । यतातिरबाट हुने अतिक्रमण हामीले रोक्ने प्रतिवद्धता जनाएका छौं ।’ अगामी फाल्गुनमा हुने मिथिला माध्यमिकी परिक्रमाका बेला पनि दुवै देशका अधिकारीले सम्बन्धित स्थानमा सुरक्षा प्रदान गर्ने सहमति समेत भएको धनुषाका प्रजिअ कणेलले बताए ।

भारतीय बजार जयनगरमा उखु किसानको समस्यालाई नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेर समस्या समाधान गरेको भन्दै नेपाली अधिकारीलाई मधुबनी जिल्लाका डीएम अशोकले धन्यवाद ज्ञापन गरे । उनले भने, ‘नेपाल–भारतबीचको सम्बन्ध कहिल्यै नबिग्रोस भन्ने चाहना छ । उनले विगतमा जस्तै आसन्न लोकसभा चुनावमा पनि नेपाली सुरक्षा अधिकारीहरुले सहयोग गर्छ भन्ने विश्वास छ ।’ सीमावर्ति क्षेत्रका दुवैतीरका जनता समृद्ध बनोस् भन्ने चाहना भारत सरकारको रहेको छ– उनले थपे ।

भारतबाट साना हतियार र लागुऔषध खुलेयाम नेपाल भित्रिने गरेको प्रश्नमा डिएम अशोकले त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए । नेपाल सरकारले किटान गरेर समस्याबारे जानकारी गराएमा समाधान गर्न भारत सरकार तयार रहेको उनले बताए । उनले एसएसबीबाट नेपालका सीमावर्ती क्षेत्रका नागरिकमाथि अमानवीय व्यवहार भइरहेको पटक पटक चल्ने गरेको चर्चामा सत्यता नभएको दावी गरे ।

नेपालमा अपराध गरेर भारतीय बजारलाई सेल्टर बनाउने गरेको चर्चा पनि छलफलमा चल्यो । विगतमा मधेसमा भुमिगत आन्दोलन गरिरहेका व्यक्ति पनि भारतमै लुकेर बस्थे । अहिले पनि साना अपराध गरेपनि भारत पसेर लुक्ने गरेका छन् । नेपालका अपराधीले भारतमा सेल्टर बनाएर बसेको थाहा पाए सहकार्य गरेर ति व्यक्तिलाई नियन्त्रणमा लिने भारतीय अधिकारीहरुले बताएका छन् ।

डीएम अशोकले भारतमा लुकेर बसेका अपराधी समातेर नेपालका अधिकारीलाई सुपुरर्दगी गर्ने पनि बताए । उनले भारतले कुनै अपराधीलाई संरक्षण नदिने भन्दै लुकेको जानकारी पाउने वित्तिकै पक्राउ गर्ने र यसतर्फ विशेष चासोका साथ काम गर्ने पनि प्रतिवद्धता जनाए ।

बैठकमा प्रदेश २ का चार जिल्ला धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकहरु र भारततर्फबाट बिहारको मधुबनी जिल्लाका प्रहरी उपरीक्षक दिपक बर्मासहित एसएसबी प्रमुखको उपस्थिति रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here