×

प्रत्येक वर्षझैं यसवर्ष सरस्वती पूजा देशभरि धुमधामका साथ् मनाईंदै छ । विशेष गरेर विद्यालयामा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेशजस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ । केही वर्षयता अन्य धर्म मान्ने समुदाय जस्तै बुद्धिष्ट, जैनजस्ता धर्म सम्प्रदायले मनाउने गरेको देखिन्छ । यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भन्ने गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने परम्परा छ ।

सेतो हाँसमा बसेकी, वीणा र पुस्तक हातमा लिएकी, हेर्दा सुन्दर देखिने, बली नलिने, कलामा निपूर्ण, सेतो सारीमा सजिएकी विद्याकी खानी, माला धारण गरेकी, पद्मासनमा पद्ममाथि बसेकी सरस्वतीले श्रीपञ्चमीका दिन पृथ्वीमा आउने र विद्यार्थीलगायतका कला सिक्न चाहनेको गला र जिब्रोमा बसेर सहयोग गर्छिन् भन्ने जनविश्वास छ । भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाममा सरस्वतीलाई पुकार्ने गरिन्छ । मन्जुश्रीले चीनबाट आएर उपत्यकामा बस्ती बसालेको कारण मञ्जुश्रीलाई सरस्वती देवी भनेर पूजिने गरिएको छ ।

सरस्वतीको उत्पत्ति सन्दर्भमा अन्त खासै चर्चा पाइँदैन तर शिवपुराणको खण्ड पाँचको अठ्तीसौंँ श्लोकमा भने ब्रह्माद्वारा सम्पूर्ण जगत्को सृष्टि भएपछि वाक् र विधाका लागि शिवको शक्तिद्वारा ब्रह्माको शक्तिबाट उत्पत्ति भएको भनिएको छ ।

श्रीपञ्चमीका दिनलाई पवित्र दिनका दृष्टिले हेर्ने प्रचलन छ । यस दिन नयाँ काम गर्दा, विवाह, व्रतबन्ध, घर सर्दा, पसल सर्दा, बच्चालाई पढ्न सुरु गराउँदा, नयाँ गोरु अभ्यास गर्न सुरु गर्दा साइत हेर्नु नपर्ने जनविश्वास छ । त्यस्तै संस्कार, सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्य आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन भन्ने मान्यता समाजमा रहेको छ । सरस्वतीलाई भाव, विचार एवं संवेदना तीन विषयको सङ्गम मानिन्छ । वीणाले सङ्गीत पुस्तकले विचार र मयूर बाहनले कलाको अभिव्यक्ति दिने गर्छ । सरस्वतीको आराधनाले मुर्ख पनि विद्वान् बन्न सक्छ भनिन्छ । वेदाङमा शिक्षाको पनि स्थान छ तर त्यस शिक्षामा माता सरस्वतीको पूर्ण अधिकार छ । शिक्षाविना व्यक्ति पशु समान हुन्छ भनिएको छ । त्यसैले पनि सरस्वतीको महìव रहिआएको छ ।

वसन्तको पञ्चमी पछि गर्मी लाग्ने हुँदा यस दिनदेखि वातावरण परिवर्तन भयो भनेर बुझ्ने गरिएको छ । वर्षभरिमा पञ्चमी धेरै आउँछ । तर, चार पञ्चमी महìवपूर्ण रहेको छ । नाग पञ्चमी, ऋषि पञ्चमी, विवाह पञ्चमी, वसन्त पञ्चमी वा श्री पञ्चमी महिनामा दुई पटक पञ्चमी आउँछन् । जसमध्ये श्री पञ्चमी नै महìवपूर्ण छ । संसारमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले यस दिनको महìव धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्त पञ्चमीमा भने श्री जोडिनु सरस्तीलाई सम्मान गरेर पद दिइएको हो । श्री शब्दले ऐश्वर्य, मान, सम्मान, मङ्गल, आदि भाव बुझाउँछ । यस दिनमा मानिसमा नयाँ सोचको विकास हुन्छ । सरस्वतीको बारेमा एउटा श्लोक प्रचलनमा छ । जसले पनि सरस्वतीको बारेमा प्रष्ट पार्छ । ‘जिबाग्रे वसते लक्ष्मी ब्रह्मरूपा सरस्वती’ जिब्राको अगाडि बसेकी ब्रह्मको रूप धारण गरेकी सरस्वतीलाई मेरो नमस्कार छ । शास्त्रमा पनि ‘विद्या धनम् सर्वधनम् प्रधानम’ भनेर भनिएको छ ।

सरस्वती र लक्ष्मीलाई सँगै जोडेर हेर्ने पनि गरिन्छ । सरस्वती र लक्ष्मी दुवै एकैसाथ नबस्ने विश्वास गरिन्छ । किनभने उनीहरू एक सौता हुन भन्ने छ । विद्या भएका विद्वान् व्यक्तिमा सधैँ पैसा र धनको अभावै अभाव रहेको हुन्छ भन्ने छ तर त्यो कुरा मिल्दैन विद्यावान मानिस कहिल्यै भोकै बस्नु पर्दैन । विद्या र सरस्वतीको महìव हाम्रो मानव जीवनमा सधैँ महìवपूर्ण रहेको पाइन्छ । सम्पत्ति मात्र भएर बुद्धि नहुँदाको परिणमले मानिसको सम्पत्ति सत्यानास भएर भएको र समाजमा मानिस पुनः गरिब र दरिद्रताले झनै दुःखमा परेका उदाहरण प्रशस्त छन् । त्यसैले पनि लक्ष्मी र सरस्वती दुवै मानव जीवनका लागि आवश्यक छन् । सरस्वती नै लक्ष्मी हुन् किनभने सरस्वतीले विद्या दिइन् भने लक्ष्मीको आफैँ बास हुन्छ । जहाँ सरस्वतीको बास हुन्छ त्यहाँ लक्ष्मी एवं काली पनि बस्नुहुन्छ । यसको प्रमाणको रूपमा माता वैष्णोको दरबारमा जहाँ सरस्वती, लक्ष्मी, काली यी तीनै महाशक्ति सँगैै बसेका छन् । हिन्दु समाजमा दुर्गा (नवरत्र) पूजाका दिनजस्तो महìव हुन्छ उस्तै प्रकार वसन्त पञ्चमीका दिन सरस्वती पूजाको महìव छ ।

सरस्वतीको बारेमा एक किंवदन्ती छ । जसमा श्रीकृष्णले सरस्वतीसित खुसी भएर उनलाई श्रीपञ्चमीको दिन तिम्रोे आराधना गरिनेछ भनी वरदान दिएको भनेर भनिन्छ । मानिसको हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास भएको मानिन्छ । यस कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्पराअनुसार प्रत्येक दिन प्रभातकालीन समयमा कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती । करमूले स्थितो ब्रह्मा प्रभाते शुभ दर्शनम् । । भन्दै सरस्वतीसहित लक्ष्मी र ब्रह्माजीलाई स्मरण गरिन्छ । राजहाँसमा सवार भएकी सरस्वतीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएर सधैँ मुस्कुराइरहने सरस्वतीले सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्ने विश्वास गरिन्छ ।

लेखक ठाकुर राम बहुमुखी क्याम्पसको विद्यार्थी हुन् ।

Back to top