सिमेन्ट उधाेगहरूको लगानी धरापमा पर्ने उद्यमीहरूको चिन्ता

322

वीरगन्ज २५ माघ । पछिल्लो समय सिमेन्ट उद्योगमा ठूलो परिमाणमा लगानी भित्रिए पनि सिमेन्टको बजार भने अपेक्षित रूपमा बढ्न सकेको छैन । लगानीको तुलनामा सिमेन्टको माग नबढ्दा उद्यमीहरू चिन्तित देखिन्छन् । अब स्वदेशी बजार विस्तारको उपायसँगै निकासीको आक्रामक रणनीति नअपनाउने हो भने सिमेन्टको लगानी धरापमा पर्ने उद्यमीहरूको चिन्ता छ ।नेपालमा विकास निर्माणका कामले तीव्रता पाउने र सिमेन्टको माग बढ्ने अनुमानमा लगानी ह्वात्तै बढेको हो । अहिले नेपाली सिमेन्ट उद्योगमा २ खर्ब रुपैयाँ लगानी पुगिसकेको उद्योग विभागको तथ्यांक छ । लगानीको अनुपातमा बजार विस्तार हुन नसक्दा घाटा खाएर सिमेन्ट बेच्नुपर्ने अवस्था आएको उद्योगीहरूको गुनासो छ । प्रतिस्पर्धा तीव्र भएपछि उद्योगीहरू मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा गर्न थालेका छन् । यसले उपभोक्तालाई तत्कालीन फाइदा देखिएको छ । तर सानो बजारमा सम्भाव्यता अध्ययनविनै आएको लगानीको सुरक्षा र प्रतिफल भने जोखिममा परेको छ । केही समययता सिमेन्ट उत्पादनमा ठूलो परिमाणमा लगानी आए पनि बजार भने अपेक्षा गरिएअनुसार बढ्न नसकेको नारायणी सिमेन्ट उद्योगका प्रबन्ध सञ्चालक सतीश चाचानले बताए । ‘विगतका वर्षमा यति बेला सिमेन्टको माग पूर्ति गर्न भ्याइनभ्याई हुन्थ्यो । यो वर्ष उत्पादन भएको सिमेन्ट उद्योगमै थन्क्याएर बस्नुपर्ने अवस्था आएको छ,’ चाचानले भने । उद्योग विभागमा दर्ता भएका ११३ ओटा सिमेन्ट उद्योगमध्ये अहिले ६५ ओटा सञ्चालनमा छन् । विभागका अनुसार थप आठओटा उद्योग निर्माणाधीन छन् । नेपालका उद्योगको जडित उत्पादन क्षमता वार्षिक २ करोड मेट्रिक टन रहेकोमा बजारको माग भने ७५ देखि ८० हजार मेट्रिक मात्र भएको उद्योगीहरू बताउँछन् । उद्योगले जडितक्षमताको औसत ६५ प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् ।नेपालमा राजनीतिक संक्रमण समाधान भएसँगै विकास निर्माणले गति समात्ने आशामा लगानी ह्वात्तै बढे पनि पूँजीगत खर्चको कमजोर अवस्था र बैंकहरूको चर्को ब्याजदरको प्रभाव सिमेन्ट बजारमा पनि देखिएको बुझाइ श्री सिमेन्ट्स इन्डष्ट्रिजका सञ्चालक समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार अग्रवालको छ । ‘उद्योगहरू लागतभन्दा कम मूल्यमा सिमेन्ट बेच्न बाध्य छन् । यो सानो बजारमा अधिक प्रतिस्पर्धाको उपज हो,’ अग्रवालले भने । पछिल्लो समय चिनियाँ लगानीको होङ्शी शिवम् सिमेन्ट, रिद्धिसिद्धि, बालाजी, सौर्य, बन्धनलगायत ठूलो क्षमतासहित नेपाली बजारमा उत्रिएका उद्योग हुन् । पुराना उद्योगले समेत प्रविधि र उत्पादन क्षमता बढाउँदै लगेका छन् । थप आधा दर्जनजति ठूलो लगानीका उद्योग पाइपलाइनमा रहेको बताइएको छ । उद्योगमा लगानी आक्रामक रूपमा बढे पनि बजारमा भने मन्दी देखिएको छ । इन्टरनेशनल सिमेन्ट्स प्रालिका सञ्चालक सन्दीप अग्रवाल सिमेन्टको बजारमा मन्दी देखिएको बताउँछन् । ‘विगतमा माघमा सिमेन्ट बेच्न भ्याइनभ्याई हुन्थ्यो । अहिले विक्री नभएर मन्दीको समयजस्तो लागिरहेको छ,’ उनले भने । बजारमा माग बढ्न नसकेपछि मूल्यमा प्रतिस्पर्धा गरिरहेको उद्योगीहरूको भनाइ छ । पछिल्लो समयमा सिमेन्टको भाउ बोरामा १ सयदेखि डेढ सय रुपैयाँसम्म घटेको छ । उत्पादनमा नयाँ लगानी आउनु सकारात्मक भए पनि बजार विस्तार हुन नसक्नुचाहिँ चिन्ताको विषय भएको उद्योगी चाचानको भनाइ छ । सरकारले पूँजीगत खर्चको क्षमता बढाएर बजारमा तरलता अभावको अवस्थामा सुधार आएको खण्डमा सहज हुन सक्ने चाचानको तर्क छ ।

सीमाञ्चालमा बेग्लै समस्या
सिमेन्टको बजार सोचेजति विस्तार नभएकै बेला बारा र पर्साका १३ ओटा सिमेन्ट उद्योगले भने कच्चा पदार्थको आपूर्तिमा समेत १ वर्षदेखि नयाँ समस्या खेपिरहेका छन् । भारतीय रेलवेको रक्सौल स्टेशनमा क्लिंकरको ‘लोड–अनलोड’मा प्रतिबन्ध लागेकाले यो कोरिडोरका उद्योगले १२५ किलोमिटर टाढाको भारतकै नारायणपुरबाट क्लिंकर ढुवानी गरिरहेका छन् । यसबाट बारा र पर्साका उद्योगको लागत अझ बढी पर्न गएको गुनासो उद्योगीहरूको छ । बारा र पर्साका सबै उद्योग ग्रान्डिङमा आधारित उद्योग हुन् । शतप्रतिशत कच्चापदार्थ बाहिरबाट आपूर्ति गर्नुपर्ने भएकाले यी उद्योगलाई यो अवरोधले समस्या परेको छ । बारा र पर्साका उद्योगको लागत अझ बढी पर्न गएकाले पूर्वी र पश्चिम नेपालका उद्योगसँग प्रतिस्पर्धामा थप कठिनाइ बेहोर्नु परेको इन्टरनेशनल सिमेन्ट्सका सञ्चालक अग्रवालले बताए ।



सस्तियो क्लिंकर
नेपालमा पछिल्लो समयमा खुलेका सिमेन्ट उद्योगले क्लिंकर पनि उत्पादन गर्न थालेपछि क्लिंकर पनि सस्तिएको उद्योगीहरूले बताएका छन् । केही महीना अघिसम्म भारतीय क्लिंकरको तुलनामा करीब बराबर मूल्य रहेको स्वदेशी क्लिंकर अहिले प्रतिटन ८ हजार ५ सय रुपैयाँमा झरेको उद्योगीहरू बताउँछन् । नेपाल क्लिंकरमा पूर्ण आत्मनिर्भर बन्ने उद्देश्यमा छ । अहिले २० ओटा उद्योगले क्लिंकर उत्पादनको अनुमति लिएकोमा १८ ओटाले उत्पादन गरिहेको उद्योग विभागको तथ्यांक छ । नेपालका चुनढुंगा खानीमा समान गुणस्तर नभएकाले सिमेन्टमा गुणस्तरको सन्तुलन मिलाउन उत्पादकले पनि क्लिंकर आयात गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरू बताउँछन् ।

कसरी हुन्छ निकासी ?
भारतबाट आयात हुने क्लिंकरको आयातमा राजस्व घटाउने हो भने नेपालको क्लिंकर थप सस्तो हुने र निकासी सम्भव हुने तर्क उपाध्यक्ष अग्रवालको छ । सिमेन्टमा आत्मनिर्भर हुने उद्देश्य राख्दा ग्रान्डिङमा आधारित उद्योगलाई पनि संरक्षण गर्ने उपाय अपनाइनुपर्ने उनको भनाइ छ । क्लिंकरको आयातमा प्रतिमेटिकटन २ हजार ४ सय रुपैयाँ भन्सार महशुल लाग्ने गरेको छ । क्लिंकरको मूल्यको आधारमा तुलना गर्दा यो ५० प्रतिशतभन्दा बढी हुने अग्रवालले बताए । ‘औसत कच्चा पदार्थमा ५ प्रतिशत भन्सार महशुल लाग्नेमा सिमेन्टको कच्चा पदार्थमा यति धेरै राजस्व असुल्ने नीतिले नेपालमा सिमेन्टको मूल्य बढी भएको हो,’ उनले भने, ‘यसबाट अधिक मूल्यको अन्तिम भार उपभोक्तामाथि थपिएको छ ।’ यो नीति सीमित उद्यमीलाई आर्जनको औजारमात्र बनेको आरोप पनि लाग्ने गरेको छ ।