×

वीरगञ्ज २३ माघ । जिल्ला प्रशासन कार्यालय पर्साले विकासका कामको जिम्मेवारी लिएर काम नगर्ने निर्माण कम्पनीहरुको लगत राख्न सुरु गरेको छ ।

निर्माणाधीन विकासे आयोजनाहरुको काम सम्पन्न गर्ने सम्झौता अवधि सकिएपनि काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुको लगत राख्न थालेको हो ।

आयोजनाको सम्झौता अवधि सकिएर काम सम्पन्न नगर्ने कम्पनीहरुमा संदिप कन्सट्रक्सन, राजन निर्माण सेवा, गौरीशंकर निर्माण सेवा, अर्चना कन्स्ट्रक्सन, जिएन कन्स्ट्रक्सन, स्नेहा कन्स्ट्रक्सन, सलोनी कन्स्ट्रक्सन, कुशल कन्स्ट्रक्सन, सोनी कन्स्ट्रक्सन, सजवन निर्माण सेवा, ओमसाई निर्माण सेवा र श्री गौरी पार्वती निर्माण सेवा रहेका छन् ।

यस्तै, पप्पु कन्स्ट्रक्सन, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन प्रालि, शिवराम कन्स्ट्रक्सन, म्यागलुङरटौदहरपञ्चकन्या जेभी ललितपुर, विशाल एण्ड विराट कन्स्ट्रक्सन प्रालि जोरपाटी, पप्पु र तिरुपती जेभी, मोनारअंकित जेभी, अजम्बरररशिवराम कन्स्ट्रक्सन, कुमाररआशिषरअमर जेभी निर्माण कम्पनीले पनि समयमै काम सम्पन्न गरेका छैनन् ।

यी सबै कम्पनीले सम्बन्धित कार्यालयबाट ५० लाखदेखि २२ करोडसम्मको आयोजना निर्माणको ठेक्का लिएका छन् । ठेक्का लिने तर समयमा निर्माण नगर्ने परिपाटीले नै विकास निर्माणको कामले गति लिन नसकेको गुनासो बढेको छ ।

अधिकांश स्थानीय ठेकदारहरु नै रहेको र कतिपयले पेटी ठेकेदारको रुपमा पनि काम गर्ने गरेकोले आफू अनुकुल नभएपछि काम नै रोक्ने गरेको स्थानीय बताउँछन् ।

विकास निर्माणका बारेमा धेरै जन गुनासो आएपछि प्रशासनले विभिन्न कार्यालयहरुसंग निर्माणसँग सम्बन्धित आयोजनाको प्रगति विवरण माग गरेर विश्लेषण गर्नुको साथै सम्पन्न हुन बाँकी आयोजना सम्पन्न गर्न आवश्यक सहजिकरण गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘तोकिएको समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुमाथि निगरानी बढाएका छौं । ठेक्का लगाउन सम्बन्धित कार्यालयहरुलाई छिटो सम्पन्न गराउनु भनेर प्रशासनले ताकेता गरिरहेको छ,’ उनले भने, ‘कतिपय आयोजनाहरुमा पहिले विनियोजन गरेको बजेट प्रिज भएको छ । नयाँ पैसा नआएको रहेछ, काम गरेपछि ठेकेदारलाई पैसा त दिनुपर्छ, त्यस्तो रकम आवश्यक भए सम्बन्धित कार्यालयलाई माथिल्लो निकायसँग माग गर्न भनेका छौं । पैसा भएर पनि काम नगरेको हो भने जो दोषी छ उसलाई कारबाही गर्न प्रशासन तयार छ ।’ पोखरीया नगरपालिका, पूर्वाधार विकास कार्यालय वीरगञ्ज, सघन शहरी तथा भवन निर्माण आयोजना पूर्वाधार विकास कार्यालय र नारायणी सिँचाइ व्यवस्थापन कार्यालयमार्फत सञ्चालित विभिन्न योजनाहरुको जानकारी जिल्ला प्रशासन कार्यालयले प्राप्त गरेको छ ।

ती कार्यालय अन्र्तगत रहेका २४ वटा आयोजनाहरु मध्ये अधिकांश आयोजनाको म्याद सकिएको छ तर काम भने पूरा भएको छैन । निर्माण सम्पन्न नभएका आयोजनामा अधिकांश नाला, सडक र स्वास्थ्य संस्थाको भवन रहेका छन् ।

चालु आर्थिक वर्षमा पोखरीया नगरपालिकाले ५०र५० लाखमा ठेक्का लगाएको ११ वटा सडक र नाला निर्माण सम्बन्धी आयोजनाको निर्माणको प्रगति सन्तोष जनक छैन ।

गौरिशंकर निर्माण सेवाले जिम्मा लिएको नाला निर्माणको काम बाहेक अन्य सबै निर्माण कम्पनीहरुसँगको सम्झौता अवधि सकिएको छ ।

कारबाहीको चेतावनी दिँदा पनि टेर्दैनन् ठेकदार

दशवटा आयोजनाहरु पुस १५ भित्र सक्नुपर्ने भएपनि प्रगति १० देखि बढीमा ७० प्रतिशत मात्रै छ । पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार काम समयमा सम्पन्न नगरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको भएपनि ठेकेदारले अटेर गरेको बताउँछन् ।

‘विशेषगरी वडा नं २, ३, ८ र ९ नम्बरमा सञ्चालित आयोजनाको प्रगति एकदमै खराब छ । हामीले पटक पटक ताकेता गर्दा पनि खासै सुनुवाई भइरहेको छैन । अन्यले पछिल्लो समयमा राम्रै काम गरिरहेका छन् । ती आयोजनाको तीनरतीन महिना म्याद थप्ने तयारी भइरहेको छ, ‘ उनले भने, ‘मुद्दा मामिलामा जानु भन्दा कसरी काम लिन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । हुँदै हुँदैन भने मात्रै कारबाही प्रक्रियामा जाने हो ।’

स्थानीय ठेकेदार भएका ठाउँमा झनै काममा ढिलासुस्ती देखिएको अनुभव उनले सुनाए । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत भेडियारी, देउरवाना, सम्भौता, औराहा, पटेर्वा सुगौली, शंकर सरैयाको स्वास्थ्य चौकी भवन, भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र भवन लगायतका योजनाको सम्झौता अवधि सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।

किन आयोजना समयमै पूरा नगरेको हो भनी ती आयोजना निर्माणको जिम्मा लिने केही ठेकदार प्रतिनिधिहरुसँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमै आउन चाहेनन् ।

पूर्वाधार विकास कार्यालय अन्तर्गत पप्पु कन्स्ट्रक्सनले लिएको जनता सडकको प्रगति ८९ प्रतिशत मात्रै छ भने श्री गौरि पार्वती निर्माण सेवाले ठेक्का हात पारेको आत्मराम पथको प्रगति ८५ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी नारायाणी सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत ठेक्कामा रहेको जमुनी सिँचाइ आयोजनाको प्रगति ९० प्रतिशत छ । जसको ठेक्का कुमाररआशिष र अमर जेभीले पाएका छन् ।

नारायणी सिँचाइ प्रणाली सम्बन्धी काम गरिरहेको अंकित कन्स्ट्रक्सनले ६० प्रतिशत मात्रै काम पूरा गरेको छ ।

सम्झौता अुनसारका काम नगर्नेहरुलाई सम्बन्धित निकायले कारबाहीसमेत गर्न नसक्दा उनीहरुको मनोबल बढी रहेको छ ।

निर्माण कम्पनीहरुले २०६८ सालमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनी लिएको ठेक्काको काम पाँच वर्ष वितिसक्दासमेत सम्पन्न नगरेको पाइएको छ ।

निर्माणका लागि ठेक्का लिने तर विभिन्न बाहना देखाएर निर्माण नगर्ने प्रवृत्ति देखिएपछि जिल्ला प्रशासन कार्यालयले भौतिक प्रगति विवरणहरु माग गर्दै त्यसको अनुगमन निरीक्षण सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको विवरण अनुसार सम्झौता अवधि बाँकी रहेका आयोजनाको पनि भौतिक प्रगति अध्ययन गर्दा समयमै काम पूरा हुनेमा आशंका छ ।

Back to top