×

संजय कुमार सहनी ,रौतहट २० माघ । सरस्वती पूजा नजिकिँदै जाँदा रौतहटका बजारमा मूर्तिकार र मूर्ति व्यवसायीहरू मूर्ति बनाउन र सजाउन व्यस्त देखिएका छन् । माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । बसन्तपञ्मीको दिनलाई विधार्थी भाई बहिनीहरुले शिक्षकी देवीको रुपमा चिनिने सरस्वतीमाताको प्रतिमा मूर्तिलाई सजाई पूजा गर्ने चलन छ । सरस्वती पूजाको दिन नजिकीए संग कलाकार लाई भ्याइ नभ्याइ भएको हो । उनीहरुले यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेका छन् । रौतहटका शैक्षिक संस्था , टिउसन सेन्टर, निजी विधालय, कोचिङ्ग सेन्टर का विधार्थीहरुले दिएको अर्डर अनुसारको मूर्ति बनाउन र सजाउन साथै रंगरोगन गर्न यहाँका कारीगरहरु दिनरात मेहनत गर्दै खट्दै छन् । आजकाल रौतहटको गौरको कबिर चौक, धर्मशाला चौक, गरुडा, शिवनगर, कटहरिया, माधोपुर लगायतका स्थानमा कलकारहरु मूर्ति बनाउन व्यस्त छन् । एउटा सरस्वतीको मूर्तिको ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनीहरूले बताएका छन् । सरस्वती पूजाको अवधिभरमा करीब ६० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गढवाका विकेस पण्डितले बताए । अहिले बनाइएको र बुकिङ्ग भएको मूर्तिहरु लिन आउने गा्रहकको संख्या समेत बढेको र हाल सम्म दुई दर्जन भन्दा बढी मूर्ति तयार भईसकेको पंडितले बताए । बााकी मूर्ति सजाउन अझ ५ दिन लाग्ने बताएका छन् । भाग्यको कुरा छ, कुनै वर्ष सोचे भन्दा बढी आम्दानी हुन्छ । कुनै वर्ष त्यती फाईदा हुदैन पंडितले थपे । विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गरेको उनले जानकारी दिए । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकार बताउँछन् । बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २७ गते आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ ।चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आज सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

Back to top