×

वीरगंज २० माघ । वीरगंज–पथलैया करिडोरको नितनपुरमा रहेको शालिमार समूहको शालिमार मेटल्स प्रालिको उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । दुई सातादेखि उद्योगको उत्पादन र बिक्री वितरण बन्द भएको हो । जीतपुरसिमरा उपमहानगरमा असुलिने कबाडी करको त्रासले गर्दा उद्योग व्यवस्थापनले उत्पादनसँगै उद्योगबाट बिक्रीको लागि काठमाडौ पठाउने माल पनि रोकेको उद्योग सञ्चालक अशोक वैद्यले जनाए ।

आयातित जिंक र तामा (टुक्रयाई तथा गलाई) बनाइएको उत्पादित सामान बिक्रीको लागि काठमाडौं पठाउँदा कबाडी करको ठेकेदारले ज्यादती गरी चर्को शुल्क असुल गर्न लागेकोले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । नहुने शुल्क असुल भइरहेकोले विरोध गर्दै उद्योगको उत्पादन ठप्प पारी आवश्यक कानूनी उपचारको लागि पहल गरेको छ । कर असुल गर्ने अवस्थामा उद्योग चलाउन सकिन्न, वैद्यले भने ।

जीतपुरसिमरा उपमहानगरपालिकाले श्याम कमर्सियल टे«डर्स सिमरा बारालाई दिएको कबाडी करको ठेक्कामा गैरकानूनीरूपले कर असुली भएको उनको भनाइ छ । उक्त कम्पनीका सञ्चालक प्रतिष्ठित व्यक्ति, बोलबम पेट्रोल पम्पका सञ्चालक र नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका सभापति श्यामबाबू गुप्ता हुन् ।

“सिमरामा कबाडी करको ठेकेदारले ज्यादती गरेको छ, माघ ४ गतेदेखि नै उद्योगको उत्पादन र उत्पादित सामान बिक्रीको लागि काठमाडौं पठाउन पाएका छैनौं”–उनले भने–“उपमहानगरपालिकाले असुल भइरहेको कर नलिई गाडी छोड्न निर्देशन दिए तापनि त्यसको पालना हुन सकेको छैन ,कानुनी उपचार नभएसम्म यस्तो अवस्थामा कसरी उद्योग चल्छ ।”

उनले उद्योगबाट उत्पादित सामानमा कुनै पनि देशमा कबाडी कर लिइँदैन । शालिमारले भारत र विदेशबाट तामा र जिंक आयात गरी तामाको ग्याँस रेगुलेटरमा लाग्ने (सिट र सर्कल) तथा जिंकको एलोय इन्गोट उत्पादन गरी काठमाडौंलगायत शहरमा बिक्री बितरण गर्दै आएको छ ।

उद्योगी वैद्यका अनुसार वर्षमा २५ करोडको कारोबार गर्ने उद्योगले मासिक ४० लाख राजस्व बुझाउँदै आए तापनि स्थानीय तहमा यस्तो जबरजस्ती तथा गैरकानूनी कर असुलीले धातुबाट उत्पादन गर्ने उद्योग असुरक्षा महसुस गरिरहेको वैद्यले भने ।

हुलास स्टीलबाट उत्पादित सामानमा शुरूमा १० दिन गाडी राकेको तर पछि गाडी विनाकर तिरी गइरहेको समझदारी बनेको बुझिएको छ । नितनपुरको हनुमान मेटल्सबाट उत्पादित सामानमा ठेकेदार पक्षले कुनै प्रकारको कर नलिने गरेको पनि पाइएको छ । कबाडी कर भनी तामा र जिंकबाट उत्पादित तयारी वस्तुमा श्याम कमर्सियल टे«डर्सले पटकपटक पत्राचार गरी शालिमार मेटल्स प्रालिबाट उत्पादित सामानमा कर नलिन ध्यानाकर्षण गराउँदासमेत उपमहानगरलाई नटेर्ने गरेको पाइएको छ । माघ ४ गते प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले ठेकेदारलाई पत्र लेख्दै उपमहानगरसँग गरिएको सम्झौता अनुरूप कर लिन निर्देशन दिएका थिए । तर पनि ठेकेदारले ज्यादती रोकेको छैन ।

कबाडी करमा गैरकानूनी कर असुल भएपछि ठेकेदार कम्पनी श्याम कमर्सियल टे«डर्सलाई आवश्यक कारबाहीको लागि माग भएको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाद्वारा हस्ताक्षरित बुधवार प्रेषित पत्रमा ठेकेदारले गैरकानुनी कर असुली गरेकोमा कारबाहीको माग गरेका छन् । पत्रमा स्थानीय तहको निर्देशनको धज्जी उडाई व्यवसायीलाई ज्यादती गरी दुःख दिएको र उद्योग–धन्दा प्रभावित बनाएको भन्दै आवश्यक कारबाही तथा पहलको माग भएको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Back to top