×

वीरगंज, माघ १६ - नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला—भोजपुरा राख्नु पर्ने बताएका छन् । सहिद दुर्गानन्द झाको ५५ औं स्मृति सभालाई जनकपुरमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।

‘कोसीदेखि नारायणीसम्मको भु—भाग मिथिला हो । रौत्तहट, बारा, पर्सामा भोजपुरी बोलिन्छ,’ उनले भने, ‘यी दुवैलाई मध्य नजर गरेर प्रदेश २ को नाम मिथिला—भोजपुरा राखिनु पर्छ ।’ प्रदेशको भाषा मैथिली राख्नु पर्ने उनको भनाइ छ ।

पहिलो मैथिली र दोस्रो भोजपुरी भाषा राख्नु पर्ने नेपाली कांग्रेसको धारण रहेको उनले उल्लेख गरे । प्रदेश सरकार गठन भएको एक बर्ष बित्न लाग्दा पनि नाम, भाषाको टुङ्गो लागेको छैन ।

उनले आफूलाई कथित मधेशवादी भनाउने दलहरुकै कारण मधेश शक्तिशाली हुन नसकेको आरोप लगाए ।

कांग्रेस उपसभापति निधिले संवैधानिक परिषद्‍का पछिल्ला निर्णय आफूहरूलाई मान्य नभएको र त्यसलाई सच्च्याउनु पर्ने माग राखे । उनले निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पक्राउ गर्न नसकेकोमा खेद प्रकट गर्दै सरकारले डा गोविन्द केसीका माग तत्काल पूरा गर्नुपर्ने बताए ।

नेता निधिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) प्रदेश मातहत रहनुपर्ने बताउँदै जचुकालिमा रहेको प्रदेश सरकारका संरचनालाई अब कुनै पनि शक्तिले हटाउन नसक्ने दाबी गरे । उनले जनकपुरधाममा चुरोट फ्याक्ट्री खोल्ने दुसाहस गरिए कांग्रेसले सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी समेत दिए ।

नेता निधिले संसार मै हानिकारक वस्तुको उत्पादनमा रोक लगाइँदै गरेका बेला जनस्वास्थ्यलाई दीर्घकालीन प्रतिकूल असर पार्ने चुरोट कारखाना सञ्चालनमा सरकार लागेकाले त्यसविरुद्ध आन्दोलन गर्न पार्टीका नेताकार्यकर्तालाई तयार रहन निर्देशन समेत दिए । ‘सिगरेट फ्याक्ट्री पुन: सञ्चालन गर्नु भनेको मुर्खता हो’, निधिले भने, ‘जनकपुर चुरोट कारखfना बिक्री गर्ने नीतिअनुरूप नै केही स्थानीयसहितका नेता लागि परेको र फ्याक्ट्रीलाई केही धनी व्यक्तिको इसारामा बेचबिखन गर्न लागिएको छ ।’

नेता नीधिले पूर्वपश्चिम हुलाकी राजमार्गको नाम ‘सहिद दुर्गानन्द झा मध्य तराई लोकमार्ग’ नामाकरण हुनुपर्नेमा जोड दिंदै उनले सहिद झाले राष्ट्र र प्रजातन्त्रको लागि सहादत दिएकोले उनको नाममा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर हुलाकी राजमार्गको नाम परिवर्तन गरिनुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश २ संसदका प्रतिपक्षी दलका नेता रामसरोज यादवले सहिद दुर्गानन्दका नाउँमा अस्पताल बनाउन आफूहरू दत्तचित्त भएर काम गर्ने र अस्पताल बन्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वसांसद महेन्द्र मिश्रले दुर्गानन्दको जीवनबारे प्रकाश पार्दै १९९९ मा जन्मेका झाले २०१७ सालमा क्रुर शासनविरुद्ध आन्दाेलनमा हाेमिदै तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको बताए । उनले दुर्गानन्दले तत्कालीन समयमा कसरी हिम्मत जुटाएर क्रुर तानाशाह राजामाथि बम फालेको सविस्तार वर्णन गरेका थिए ।

Back to top