मेयर सरावगी र नेपाली काग्रेस पर्साद्वारा मधेशी शहीद पार्क शिलान्यासको विरोध

966
दुई तस्विरलाई जोडेर बनाइएको तस्विर ।

वीरगंज, १५ माघ – वीरगंजको घण्टाघर स्थित रहेको वि.पी. उद्यानको जग्गाको विषयमा विवाद उत्पन्न भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. ९ स्थित १० विगाहा क्षेत्रफलमा रहेको जग्गामा बुधबार मधेशी शहीद पार्कको शिलान्यास हुने सार्वजनिक भए पछि विवाद उत्पन्न भएको हो । वि.पी. उद्यानको जग्गामा मधेशी सहिद पार्कको शिलान्यास गर्न लागिएको थाह पाए लगतै वीरगंज महानगरपालिका मेयर विजय सरावगी र नेपाली कांग्रेस पर्साले त्यसको विरोध गर्दै तत्कालको लागि शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेको छ ।

प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा संयुक्त रुपमा गर्न लागिएको पार्कको शिलान्यास कार्यक्रम बुधबार रहेको छ ।



पत्रकार सम्मेलनमा वोल्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले वि.पि. उद्यानको नाउमा र महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा महानगरपालिका मेयर विजय सरावगीसंग कुनै समन्वय नै नगरी सहिद पार्कको शिलान्यास गर्न लागिएकोले हाम्रो विरोध रहेको वताए ।

नेपाली कांग्रेस पर्साले महानगरपालिकाको स्वामित्वमा रहेको विपी उद्यानको बुधबार हुने भनिएको शिलन्याश कार्यक्रम रोक्न प्रदेश सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले भने, ‘विपी उद्यानको नाम परिवर्तन गरेर सहिद पार्क बनाउनु नै गलत हो, त्यसमा पनि महानगरपालिकाको जग्ग्गामा पार्क बनाउनका लागि प्रदेश सरकारले स्वीकृति पनि नलिनु प्रदेश सरकारको बलमिच्याइँ हो । यस विरुद्ध कांग्रेस पर्साले कानूनी र राजनीतिक लडाइँ लड्ने छ ।’

द्धिवेदीले आफूहरुको आग्रहलाई अटेरी गरेर प्रदेश सरकारले बलमिच्याइँ गर्यो भने मुठभेडको स्थिति आउने भन्दै चेतावनी दिएका छन् । र त्यसको जिम्मेवार मुख्यमन्त्री र प्रदेश सरकार नै हुने उनको भनाइ छ ।

यस विषयमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी संग बुझदा उनले शिलान्यास कार्यक्रमबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले शिलान्यास कार्यक्रम आफ्नो इच्छा विपरित गर्न लागिएकोमा आक्रोश समेत व्यक्त गरेका थिए । ‘यस बिषयमा कार्यपालिकाको बैठक बोलाएर निर्णय लिन्छौं, मेयर सरावगीले भने, ‘प्रदेश सरकारले पार्क शिलान्यास सम्बन्धमा महानगरपालिका कार्यालय संग कुनै स्वीकृति समेत लिएको छैन ।’ तर मेयर सरावगी आबद्ध पार्टी संघीय समाजवादी फोरम नेपाल पर्साका एक वरिष्ट नेता अनुसार केहि दिन अगाडि मेयर सरावगीले वीरगंज स्थित श्रीपुर विद्यालयको पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै उक्त जग्गामा शहिद पार्क निर्माण गर्ने घोषणा नै गरेका थिए ।

शहरी विकास तथा भवन कार्यालय वीरगंजले आयोजना गर्ने शिलान्यास कार्यक्रमको निम्तो ।

उनका अनुसार मेयर सरावगीले शिलान्यास कार्यक्रम महानगरपालिका संग सहकार्यमा गरिने समेत बताएका थिए ।

वीरगंजको मुर्ली स्थित रहेको नेपाली कांग्रेस पर्साले आफनै पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाकी उप-मेयर शान्ति कार्की, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व मन्त्री दुर्गा देवी, पर्साका सचिव श्याम पटेल, क्षेत्रिय सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछानेलगायतकाको सहभागिता रहेको थियो । प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।