×

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पसमा यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक गरेसँगै विद्यार्थी संगठन चुनावी मौहोलामा होमिएका छन् । वीरगंज स्थित ठाकुर राम बमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले आफ्नो चहलपहल बढाएका छन् र आफ्नो पक्षमा मत पल्टाउन विभिन्न कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् ।

मिश्रित प्रणालीअनुसार हुने स्ववियु निर्वाचनमा उमेर हद २८ वर्ष राखिएपछि विद्यार्थी संगठनले नै आपसमा सहमति कायम गरी निर्वाचन आफ्ना पक्षमा पार्न लागि परेका छन् । त्रिविले गरेको यो निर्णय स्वागत योग्य छ । विद्यार्थीले आफ्नो लागि आफ्नो नेता चुन्न पाउने अवसर पनि हो । जसले क्याम्पसमा विद्यार्थीका समस्यालाई क्याम्पस प्रशासन समक्ष प्रस्तुत गर्न सक्दछ । यसको अर्थ यो होइनकी विद्यार्थीले आफै पनि व्यक्तिगत रुपमा क्याम्पस भित्रका हरेक समस्या प्रत्यक्ष रुपमा भन्न सक्दैन ।

आफ्नो संगठन र पूरै टीमलाई जिताउन लागि परेका संगठनले क्याम्पमा विद्यार्थी भेटघाटलाई तीब्रता दिइ रहेका छन् । अझै पनि विद्यार्थी जुन रुपमा क्याम्पस भर्ना भई सक्नु पर्ने हो त्योे अनुपातमा भएको देखिएको छैन् । अर्कोतर्फ विद्यार्थीहरु समेत स्ववियु निर्वाचनलाई लिएर उत्साहित देखिन्छन । विगतमा विद्यार्थी संगठनले नै भर्ना गरिदिने, फर्जी विद्यार्थी भर्ना गर्ने गरेको घटना सुन्नमा आए पनि यो पटक भने त्यस्तो घटना सार्वजनिक भएका छैनन् ।

स्ववियु निर्वाचनमा विद्यार्थीले मताधिकारको प्रयोग गर्ने पाएमा पक्कै पनि नतिजा राम्रै आउने छ । यसघि पनि स्ववियुको निर्वाचनको मिति पटकपटक घोषणा हुँदै आएको छ । तर, विडम्बना निर्वाचन हुन सकेन् । निर्वाचनले सकारात्मक सोच पालेका युवापीढीले आफ्नो अधिकारको प्रयोग सँग-सँगै देशको सामाजिक, आर्थिक र शैक्षिक गुणस्तरका लागि लाग्न हौसला मिल्नेछ ।

स्ववियु विद्यार्थीको राजनीतिको पहिलो खुड्किलोको रुपमा पनि रहको हुन्छ । नेपालको शैक्षिक, आर्थिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसको उपज पनि हो, स्ववियु निर्वाचन ।

हरेक २–२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विभिन्न विवादका कारण १० वर्षेदेखि हुन सकेको थिएन । पटकपटक त्रिविले स्ववियुको निर्वाचन घोषणा गरे पनि विद्यार्थी संगठनबीचको विवाद तथा कुन प्रकारको निर्वाचन प्रणाली अबलम्बन गर्ने भन्ने विषयमा सहमति हुन सेको थिएन । जसले निर्वाचन पनि भएन । तर पटक ठाकुर राम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले देखाएको सक्रियताले सम्पूर्ण संगठन निर्वाचनको पक्षमा रहेको बुझिन्छ ।

निर्वाचनलाई मध्येनजर गर्दै त्रिविले आचारसंहिता समेत लागु गरेको छ । यसपटक सम्पूर्ण विद्यार्थीले त्रिविले जारी गरेको आचारसंहिताभित्र रही मताधिकार प्रयोग गर्नुपर्छ । कुनै किसिमको मतभेद नराखि संगठनलाई विजयी गराउनतर्फ लाग्न जरुरी छ । स्ववियुको नेतृत्वमा ‘हाम्रो भन्दा पनि राम्रो व्यक्ति’ ल्याउनु आजको आवश्यकता हो ।

देश राजनीतिक संक्रमणकालमा गुज्रिरहेका बेला हुन गइरहेको स्ववियु निर्वाचनले पक्कै पनि राम्रो सन्देश दिनेछ । यसले मुलुकको आगामी राजनीतिको मार्गदर्शन कोर्नेछ । मुलुकमा रहेका विकृति, विसंगति तथा भ्रटाचार, कालोबजारी नियन्त्रणसँगै विद्यार्थीको हक-अधिकारका निम्ति हिजोदेखि नै युवा पुस्ताले खेल्दै आएको भूमिका सराहनीय छ । अबका दिनमा पनि अन्याय अत्याचार र दमनको विरुद्ध विगुल फुक्ने काम पनि आम युवाकै काँधमा छ । यो घडी भनेको व्यक्तिका इच्छा आंकाक्षा भन्दा पनि समग्र विद्यार्थीको भलो र देशलाई प्रगतितर्फ डोर्याउन सोच्ने बेला हो ।

सबैको मनोभावनाको कदर गर्दै सबै जातजाति, समुदायकोको सम्मान गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ, त्यो अहिलेको स्ववियुको हिस्सेदार हो । त्यो नै नेतृत्वकर्ता हो । अब पनि खोक्रा चुनावी नारा लिएर क्याम्पसमा आउने जो कोहीलाई विद्यार्थीले अवश्य पनि स्वीकार्ने छैनन् ।

ताकिएकै मितिमा स्ववियु निर्वाचन भएमा वर्तमान देशको राजनीतिबाट आजित भएका युवामा पक्कै पनि सकारात्मक ऊर्जाको प्रवाह हुनेछ । खाली नेता बन्न मात्र निर्वाचनमा जानुको कुनै अर्थ रहदैन । भनिन्छ, नि ‘जुन जोगी आए पनि कानै चिरिएकै ।’ अबको स्ववियु नेतृत्वको हालत त्यस्तो नहोस् त्यसका लागि हामी सबै युवा विद्यार्थी सचेत र सजग हुन जरुरी छ ।

लेखक समाजवादी विद्यार्थी फोरम नेपालका प्रदेश सदस्य हुन् ।

Back to top