×

वीरगन्ज १३ माघ । बारा जिल्लाको सदरमुकाम कलैयास्थित मोटरसाइकल चोरीमा संलग्न तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारण जिल्ला दरपा थानाक्षेत्र अन्र्तगत पिपरागाउँ घर भएका १९ वर्षीय रामनरेश कुश्वाहा र सोही ठाँउका अन्य दुईजना नाबालक नाम परिवर्तन एस र टी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न भई पक्राउ परेका तीनै जनामाथि चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्द्रकान्त साहले बताए ।

उनीहरुले माघ १० गते बिहिवार कलैया उपमहानगरपालिका–१ स्थित पार्किङ गरी राखेको बा५९प ८७०९ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल चोरर भारततर्फ लैजान लागेको क्रममा सुवर्णापुर गाउँपालिका–७ नजिक स्थानिय प्रहरी चौकीबाट खटिएको टोलीले कुशवाहासहित तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कुशवाहा यसअघि कलैयाबाट मोटरसाइकल चोरीमा पक्राउ भई २०७५/३/२१ गते जिल्ला अदालत बारामा ८० हजार रुपैयाँ धरौटी राखेर रिहा भएका व्यक्ति हुन् ।

Back to top