सरकारको विरोधमा देशैभरि नेविसंघको प्रदर्शन, ठाकुरराम क्याम्पसअगाडि टायर बालियो

124

वीरगंज, माघ १३ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा आइतबार देशभरि प्रदर्शन गरेको छ । नेविसंघले देशभरिका क्याम्पसअगाडि र काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसअगाडि नेविसंघका नेता तथा कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । विद्यार्थीले बालेको टायर प्रहरीले खोसेर निभाएको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारविरुद्ध नारावाजी गरेका थिए । नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइको अगुवाइमा भएको प्रदर्शनमा इकाइ अध्यक्ष मनोज साह, नेविसंघका नेता दिलिप कार्कीलगायतका नेता र विद्यार्थीहरुको सहभागिता थियो ।



नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारीको संरक्षक बनेको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए । सरकारको गैर प्रजातान्त्रिक चरित्रको विरोधमा सडकमा उत्रिनु परेको नेविसंघ ठाकुरराम इकाइ अध्यक्ष साहले बताए । सरकारको अधिनायकवादी शैलीलाई संघर्षको माध्यमबाट ठेगान लगाउनु बाध्यता भएको भनाइ साहको थियो ।

नेविसंघ पर्साका नेता कार्कीले केपी ओली नेतृत्वको सरकार दुई तिहाईको दम्भमा सर्वसत्तावादतिर उन्मुख भएकाले सशक्त आन्दोलनको आवश्यकता परेको बताए । उनले सर्वसत्तावादविरुद्ध संघर्ष गर्दै आएको नेविसंघले वर्तमान सरकारको दम्भ चकानाचुर पारेरै छोड्ने चेनावनीसमेत दिए ।