×

वीरगञ्ज ११ माघ । वीरगञ्ज महागरपालिका वडा नं.१४ बहुअरी टोल माइती भएकी २० वर्षीया सजरा खातुन २५ दिनदेखि वेपत्ता छिन् । सजरा हराएपछि प्रहरीलाई खोजीका लागि निवेदन दिएको भएपनि अहिलेसम्म छोरी फेला नपरेपछि उनीहरु चिन्तित भएका हुन् ।

दुई वर्षअघि वीरगञ्ज महानगरपालिका वडा नं. १८ ईनर्वा मनियारी बस्ने चोकट मिया र फतमा खातुनको कान्छो छोरा २४ वर्षीय रहिम हवारीसँग उनको विवाह भएको थियो ।

पछिल्लो पटक झण्डै डेढ महिनादेखि माइतमै रहेकी सजरा अंग्रेजी नयाँ साल मनाएर त्यसको भोलिपल्ट पुस १८ गते ससुराल (घर) फर्के्कि थिइन् । त्यसपछि उनी कहाँ छिन माइती पक्षले थाहा पाउन सकेको छैन ।

घरमा जेठानी लगायतले कुटपिट गर्ने गरेका कारण भागेर सजरा माइत आउने गरेको माइती पक्षको दावी छ ।

‘सँधै आउने जाने गर्थिन, पछिल्लो पटक कुटेर पठाएका रहेछन, डेढ महिनाजति बसिन, जेठानीले फोन गरेर पठाइदिन भनेपछि पठायौं, अहिले ससुरालमा पनि छैन भन्ने खबर आयो,’ सजराका बुवा फैजुलले भने, ‘ जेठो छोरालाई ससुरालमा बुझ्न पठाँए, उसले बहिनी कहाँ छ ? भनेर सोध्दा माईतीबाट आई व्याग राखेर भागी भनेर जवाफ दिए । ससुराल पक्षको गतिविधि शंकास्पद छ ।

प्रहरीले भने सजराको तीव्र खोजी गरिरहेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले खोजीमा कुनै कसर बाँकी नराखेको दावी गरे । ‘सजराको श्रीमान र जेठानीलाई ल्याएर सोधपुछ गरिसक्यौं, अन्य अनुसन्धानहरु पनि अघि बढाएका छौं । ठोस प्रमाण फेला नपरेसम्म यसै हो भन्न सक्ने अवस्था छैन,’ उनले भने ।

Back to top