×

वीरगन्ज ११ माघ । लामो समय देखि भईरहेको पर्साको राष्ट्रिय वनमा अतिक्रमण अहिले पनि अतिक्रमण रोकिएको छैन । राष्ट्रिय जङ्गल क्षेत्रसँग जोडिएको सखुवापरसौनी गाउँपालिका अन्तर्गत सखुई, जमुनिया, रामभौरी, थापाडाँडीलगायत स्थानमा वनको सीमा अतिक्रमण हुने क्रम जारी छ ।

त्यसैगरी जीराभवानी गाउँपालिका अन्तर्गत काठमाडौं टोल, शान्तिटोल, पर्सागढी नगरपालिका अन्तर्गत झबराहा, बढनिहार, कटानी, छतवनटाडी, वीरगज महानगरपालिका अन्र्तगत रामवनलगायत स्थानमा वन अतिक्रमण भइरहेको छ ।

उक्त क्षेत्रका गाउँहरू वनसँग सीमा जोडिएको छ । वनका संधियारहरूको वन अतिक्रमण गर्ने तरीका पनि गज्जबको छ । उनीहरू एकैपटक नभई विस्तारै–विस्तारै कछुवाको चालमा क्रमश जङ्गल क्षेत्रलाई आबादीमा रुपान्तरण गर्छन् ।

अतिक्रमणकारी शुरूमा अतिक्रमण गर्न चाहेको क्षेत्रका रूखबिरुवाको बोक्रा खुर्केर बोट नाङ्गो पार्छन् । यसरी बोक्रा ताछेको रूख विस्तारै सुक्दै जान्छ । यसपछि रूखमा आगो लगाइन्छ । आगोले डढेर रूख ढलेपछि कसैलाई आरोपपनि लागेन । यसरी रूखबिरुवा नाश भइसकेको क्षेत्रलाई खनजोत गरेर घेराबार गर्दै बाली लगाएर आबादी क्षेत्र बनाइन्छ । कतिपयले त्यस्ता क्षेत्रमा चौपायाको गोठ बनाएर आबादी गरिरहेका छन् । यसो गर्दा अतिक्रमित क्षेत्र पुरानो आबादीजस्तो देखिन्छ । नाम नक्साविना अतिक्रमित क्षेत्र छुट्याउन गा¥हो हुने संरक्षणकर्मीहरू बताउँछन् ।

यस सम्बन्धमा पर्साका डिभिजन वन अधिकृत रामबाबू साह भन्छन“हामी छिट्टै एउटा समिति गठन गरिरहेका छौं । जुन समितिमा प्रमुख जिल्ला अधिकारी, एसपी, राजनैतीक दलहरूका जिम्मेवार व्यक्ति, सम्बन्धित स्थानीय तहका प्रमुखलगायतको सहभागिता रहने छ । संयुक्त टोली वन अतिक्रमित क्षेत्रमा गएर स्थलगत निरीक्षण गर्नुका साथै अतिक्रमित क्षेत्रमा मुख्यमन्त्री योजना अन्तर्गत वृक्षारोपण गरिने छ ।” वन अतिक्रमण भइरहेको कुरा स्विकार्दै उनले रोकथामको प्रयास पनि भइरहेको दाबी गरेका छन् ।

Back to top