×

वीरगञ्ज, ९ माघ, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सरगर्मी बढेको छ । त्रिभुवन विद्यालयले स्ववियु निर्वाचन घोषणा नगरे पनि आगामी फागुन १४ गते चुनाव हुने आकांक्षामा विद्यार्थी नेताहरुले आआफ्नो तयारी तीव्र पारेका छन् । यसैबीच विद्यार्थी संगठनबीच स्ववियुका विभिन्न पदमा टीकटको दौडधुप र आन्तरिक प्रतिस्पर्धा पनि तीव्र भएको छ । विगतमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्चश्व रहेको यो क्याम्पसमा अहिले कुन विद्यार्थी संगठनले नेतृत्व फुत्काउला भन्ने स्वाभाविक चासो बढेको छ । नेविसंघको तर्फबाट स्ववियु सभापतिका आकांक्षीहरुले आफ्नो पक्षमा लविङ तीव्र पारेको बुझिएको छ । यो संगठनबाट समीर हुसेन, अनिल पटेल र आनन्द गुप्ताको नाम चर्चामा छ । तीनै जनाले स्ववियु सभापतिमा लड्न आआफ्नो तर्फबाट दबाब निर्माण गरिरहेको बुझिएको छ । संगठन र पार्टीमा आफू निकट नेताहरुलाई भनसुन तीव्र भएको बताइएको छ । नेताहरुले पनि आफूनिकट विद्यार्थीलाई टीकट दिलाउन पहल गरिरहेको नेविसंघ स्रोतले बताएको छ । नेविसंघ क्याम्पस एकाईको सिफारिस र जिल्ला समितिको रोहवरमा केन्द्रीय समितिले टिकट दिने नेविसंघको विधानमा व्यवस्था छ । नेविसंघ ठाकुरराममा अन्य विद्यार्थी नेताको तुलनामा हुसेनको लोकप्रियता बढी भएको विद्यार्थीहरु बताउँछन् । हुसेन नेविसंघको जुझारु नेताको रुपमा परिचित छन् । अन्य आकांक्षीहरुले पनि संगठनमा आआफ्नो योगदान भएको भन्दै आफूहरुले टीकट पाउनुपर्ने दाबी कसेका छन् । यो क्याम्पसमा विगत लामो समयदेखि स्ववियुको चुनाव हुन पाएको छैन । स्ववियु नहुँदा विद्यार्थी हकहितसँग सरोकार राख्ने विषय ओझेलमा परेको विद्यार्थी नेताहरुको भनाइ छ । २ वर्षअघि अन्य क्याम्पसमा चुनाव भए पनि ठाकुरराममा हुन सकेको थिएन । अन्य क्याम्पसमा चुनाव भएको २ वर्ष यही फागुन १४ गते पुग्दैछ । तर, त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म चुनाव घोषणा नगरेकाले चुनाव हुने कि नहुने भन्नेमै विद्यार्थीहरु अन्योलमा छन् ।

Back to top