×

वीरगंज, ७ माघ । वीरगञ्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर ककआत्मरक्षा (सेल्फ डिफेन्स)’ को तालिम शुरु गरिएको छ ।

ककमिसन साहसी’ अभियान अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको हो । छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न साहसिक प्रशिक्षण अभियानलाई शुरु गरिएको हो ।

यसअघि चितवन र नवलपरासीमा अभियान सम्पन्न गरी आइतबारदेखि त्रिजुद्ध माध्यमिक विद्यालयमा औपचारिक उद्घाटन गरेर विद्यालयको प्रांगणमा प्रशिक्षक प्रशिक्षण सुरु गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आत्मविश्वास बढाउन बलियो शरीर, तेजिलो दिमाग, राम्रो सामाजिक सम्बन्ध र संवेगात्मक कुराहरुमा नियन्त्रण जरुरी रहेको बताए । सेल्फ डिफेन्सको बारेमा जानकारी भएपछि ढुक्कले हिँडडुल गर्न सकिने उनको भनाइ रहेको थियो ।

प्रदेश नं २ को ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक किरण बज्रचार्यले महिलाहरुले गर्ने सानो–सानो लापरबाहीको कारण ठूला दुर्घटना हुन पुग्ने भएकोले तालिम लाझदायक हुने विश्वास व्यक्त गरिन् ।

कार्यत्रममा प्रहरी उपरीक्षक रेवती ढकाल, प्राध्यापक डा. दिपक शाक्य लगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएकोले कहिल्यैपनि आफूलाई कमजोर छु भनेर नसोच्न आग्रह गरेका थिए ।

तालिममा सहभागी ५० जना छात्राहरुले प्रशिक्षण सम्पन्न भएपछि वीरगञ्जका विभिन्न विद्यालयमा कक्षा ७ देखि ९ सम्म अध्ययनरत अन्य छात्राहरुलाई सेल्फ डिफेन्स सम्बन्धि टेकनीकहरु सिकाउन आग्रह गरिएको थियो ।

महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन साहसी अभियान सुरु गरिएको कार्यक्रम संयोजक डा. सुष्मा तिवारीले जानकारी दिइन् ।

संयोजक तिवारीले अहिलेको अवस्थामा महिला हिंसा तथा महिला दुर्व्यवहारको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुर्व्यबहारको घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले मिसन साहसी अभियान सञ्चालन गरेको उनले बताइन् ।

समाजमा विद्यमान महिला हिंसा न्युनिकरण गर्न, लागु औषध दुर्व्यसनबाट अलग राख्न आत्मविश्वास बढाउन प्रशिक्षण सहयोगी हुने उनले दावी गरिन् ।

प्रशिक्षणमा सहभागी छात्राहरुलाई विभिन्न सेल्फ डिफेन्स टेकनिकहरु सिकाउनुको साथै आत्मविश्वासी बन्न प्रेरित गरिने थर्ड डन ब्ल्याक बेल्ट इन्टरनेशनल रेफ्री राजेश्वर कुमारले बताए । प्रशिक्षणमा सिकाईने वैचारिक एवं शारीरिक सीपहरुको पछि प्रदर्शनसमेत गरिने अभियान संयोजन समिति सदस्य लक्ष्मी कर्णले जानकारी दिइन् । प्रशिक्षक प्रशिक्षण तालिम माघ १२ गतेसम्म चल्ने छ ।

Back to top