×

यतिवेला लामो समयसम्म नभएको स्वतन्त्र विद्यार्थी युयियनको चुनावले विद्यार्थीमाझ रौनकता छाएको छ । विभिन्न विद्यार्थीहरुको समूहले आफ्नो पोल्टामा स्ववियु हात पार्न कसरत समेत गर्दै आएका छन् । विद्यार्थीहरुबीच हुने वैचारिक बहसलाई केन्द्रमा राखेर जति हुनु पर्ने हो त्यो हुन संगठनका माउपार्टीले नै हुन नदिने गरेको पनि छ । देश भरका विद्यार्थीहरु आफ्नो क्षेत्रमा विद्यार्थीलाई आफ्नो पक्षमा मतदान गर्नसमेत भनेर गुटउपगुटमा केन्द्रीत रहेका छन् ।

यस परिप्रेक्षमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा लामो समय क्रियाशिल भई पर्सा जिल्लामा संगठनको क्रियाशील विम्बका रुपमा कार्य गर्दै आएका विद्यार्थी नेता रोशन सिंह (मुन्ना)संग गरिएको कुराकानीको संक्षेप ।

स्ववियुयु निर्वाचनलाई कसरी नियाल्नु भएको छ ?

यो विद्यार्थीहरुको स्वतन्त्र अनी बैधानिक मञ्च हो । स्ववियुयुको माध्यमबाट शैक्षिक उन्नयनका लागि हस्तक्षेप सृजना गर्दै राजनीतिक दबाब सृजना गर्नको लागी विद्यार्थीहरुको लागि सुनौलो अवसर रहेको मैले वुझेको छु । खासमा उमेर हदबन्दी लागेर निर्वाचन हुने यो अवसरले नेता विद्यार्थी नभैकन विद्यार्थी नेता जन्माउन सबल रहनेमा आम विद्यार्थीको वुझाई छ । विद्यार्थी मैत्री निर्वाचनमा सहभागि हुन पाउनु गर्वको रुपमा नियालेको छु ।

के निर्वाचन स्वच्छ हुन सक्छ ?

नेवि संघ वास्तवमै विद्यार्थीकै लागि आफ्नो गर्बिलो ईतिहास बनाउदै बर्तमानमा समेत गर्वका साथ शिर ठाडो पार्दै अगाडि बडेको संगठन हो, हामी ठुलो विद्यार्थी संगठन भएकाले समेत निर्वाचन शान्त र वास्तविक विद्यार्थीले नै आफ्नो नेतृत्व चयन गर्न पाउने अवसर सौहार्दता पुर्वक गराउन बिशेष चनाखो रहेका छौ ।

ठाकुर राम बहुमुखी क्याम्पसको निर्वाचनमा कस्तो प्रतिस्पर्धा छ ?

यसपाली हामीहरु मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन प्रकियामा शहभागी हुँदै छौ । ठाकुर राम क्याम्पसमा हाम्रो संगठन जित्दै आएको इतिहास छ । हाम्रो संगठन नै पहिलो हुनेछ भन्ने हाम्रो विश्वास हो । मिस्रित प्रणाली भएकोले नेविसंघ, नेकपा निकट विद्यार्थी संगठन, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्टिय विद्यार्थी संघ लगयातको पनि उपस्थिती हुन सक्छ स्ववियुमा समानुपातिक प्रणालिको माध्यमबाट प्रतिपर्धा हुने अवस्थामा देशले हेरिरहेको क्याम्पसमा हामीले सकारात्मक सन्देश दिनु आवस्यक छ ।

नेवि संघ भित्र दुई धार छ, तपाइको दृष्टिकोणमा पारिणाम कस्तो रहला ?

एउटा घरमा भान्छा एउटै प्रयोग गरी खाना खादा ढिलो चाडो हुनु स्वाभाबिक नै देखिन्छ, कसैले धेरै खाला कसैले थोरै तर भोको कोही रहन्नन । भान्छा बाट निस्किए पछी बेलुकाको जोहोको लागि नै सबै मिलेर नै संघर्ष गर्दछन, तसर्थ भान्छा भित्रको अलिक अलिक मन भित्रको तुस हात पखाल्दा नै पखाल्ने र फेरी एक माना एकताको साथ अगाडि बढ्ने नेवि संघका नेता कार्यकर्ताको बिशेषता नै हो तसर्थ यस्ता साना तिना कुराहरुले स्ववियु निर्वाचनमा केही असर पार्ने म देख्दिन, समग्रमा भन्दा हामी अहिले केन्द्रदेखि नै एक ढिक्का भएर नै निर्वाचनको तयारिमा छौ ।

तपाईंहरुले स्ववियु लक्षित विद्यार्थी हित योजना के बनाउनु भएको छ ?

प्रथमतः हामी ठाकुर राम बहुमुखी क्याम्पसमा मौलाएको अराजकता र भ्रष्टाचार अन्त्य गर्न तर्फ लाग्ने छौं । त्यस पश्चात क्याम्पसको भौतिक संरचना सुधार्ने देखि लिएर विद्यार्थीहरुको गुनास सम्बोधन गर्नु हाम्रो मुख्य प्राथमिकता हुनेछ । साथै हामीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा, नेपालको प्राकृतिक स्रोत साधन केन्द्रित मौलिक शिक्षा, सामान्य जनताको पहुँचमा रहेको सुलभ सहज शिक्षा, अधिकार कर्तब्य र दायित्व बोध गराउने नैतिक शिक्षा, शारीरिक र मानसिक रुपमा समृद्धी कायम गर्ने स्वास्थ्य शिक्षालाई शैक्षिक सुधारका पाँच आधारका रुपमा अगाडि सारेको छौं ।

स्ववियु जित्ने नेवि संघको आधार चाँही के हो नि ?

बिगतमा नेवि संघको नेतृत्वको स्ववियुले गरेका शैक्षिक बिकासका साथसाथै शिक्षा क्षेत्रको आमुल परिवर्तनको अग्र मोर्चामा नेवि संघ रहनु नै प्रमुख आधार हो । त्यस पश्चात ठाकुर राम बहुमुखी क्याम्पसको स्थापना देखि नै विद्यार्थीको हक र अधिकारका लागि अगाडि आएर संघर्ष गर्ने एक मात्र संगठन नेवि संघ हो, यो कुरा विद्यार्थीहरुले विर्सेका छैनन् । निर्वाचनमा जित हासिल गर्ने हामीलाई हाम्रो इतिहासले धेरै सघाउछ ।

विद्यार्थी माझ आफूलाई कसरी चिनाउनु हुन्छ ?

हामी, बिशेष गरी म सानै देखि बालबालिका र विद्यार्थीकै क्षेत्रमा काम गरेको र यही क्षेत्रमा काम गर्न रुचाउने भएकाले विद्यार्थी समस्या समाधान र रचनात्मकताको आन्दोलनको एक अभियन्ता विद्यार्थीको रुपमा आफूलाई चिनाउन चाहन्छु ।

स्ववियुले विद्यार्थीको काम नगरि पार्टीको काम गरेको आरोप छ नि ?

काम गर्ने दौरानमा पार्टीका नेताहरु स्ववियुको कार्यक्रममा आउनु नौलो कुरा रहेन, नत्र नेवि संघले जितेका स्ववियुहरु बिल्कुल रचनात्मक क्षमता अभिबृद्धि गराउने कार्यमै केन्द्रित भएको ईतिहास छ, साथसाथै हामीले भौतिक संरचना तयार समेत गराएका छौ, स्ववियुले कस्को काम गरेको छ एकपल्ट ठाकुर राम क्याम्पसको भ्रमण गरेपछि प्रस्टै देखिनेछ त्यस्तै अन्य क्याम्पसहरु जहाँ नेवि संघले जितेको छ ति क्याम्पसहरु हेर्दा पनि अवस्या थाहा हुन्छ ।

अन्त्यमा केही छ कि ?

धन्यवाद मेरा कुरा राख्ने अवसरको लागि तपाईं लगाएत तपाईंको संचार गृहलाई । अन्त्यमा सम्पूर्ण विद्यार्थीहरुले नेवि संघको यो शैक्षिक परिवर्तनको अभियानमा हातेमालो गर्नको लागि अनुरोध समेत गर्दछु ।

Back to top