×

वीरगंज, पुष ३० - कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ, पर्साको आयोजनामा सञ्चालित प्रथम ‘सुविशु क्यान इन्फोटेक २०१९’ आज एक कार्यक्रम विच सम्पन्न भएको छ । वीरगंजको टाउन हल (नगर सभा गृह)मा पुष २७ देखि सुरु भएको प्रदेश नम्बर दुई कै पहिलो आईटी मेला आज सम्पन्न भएको हो ।

महासङ्घले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ् यस वर्ष देखि वीरगंजमा प्रदेश स्तरिय क्यान इन्फोटेक आयोजना गर्न लागेको हो । मेला अवधि भरिमा एक लाख भन्दा पनि बढीले अबलोकन गरेको आयोजकहरुले जनाएका छन् । प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकताको उत्तिकै उत्साह र सहभागिता रह्यो । यसपटक राजनीतिक दलका नेतृत्व, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेकाले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुग्ने क्यान पर्साका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

सम्पान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहानले यस क्यान मेलाले प्रदेश कै आइटी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुगेकोले यस्को निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए । प्रदेश तथा स्थानिय तहहरुले स्मार्ट सिटिको अवधारणा अगाडि बढाउदै लागेकाले यस मेलाले प्रदेश सरकारलाई टेवा पुगेको उनले बताए ।

प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपिएस, इन्डक्सन चुलो, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टिभी, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिकलगायतका स्टलहरु आकर्षणको केन्द्र बनेको थियो ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी विभिन्न कम्पनीका ५० भन्दा बढि स्टल रहेका थिए । यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविशु र एसोसिएट प्रायोजक डाइनामिक इनोटेक रहेका छन् । त्यस्तै गोल्ड स्पोन्सर–भायनेट, सिल्भर स्पोन्सर– लर्ड बुद्ध एडुकेसन फाउन्डेसन रहेको छ ।

Back to top