×

दुई-दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन १० वर्षपछि हुने तरखरमा छ । ०६५ सालपछि केही पटक मिति तोकिए पनि स्ववियुको निर्वाचन हुन सकेको थिएन । नेपालका अन्य धेरै शैक्षिक संस्थाहरुमा ०७३ सालमा स्ववियु निर्वाचन भएपनि वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा भने केहि कारणले निर्वाचन हुन् सकेन । देशको राजनीतिक अवस्था, मधेस तथा विभिन्न सामाजिक आन्दोलन, संविधान लेखन, आम तथा स्थानीय निर्वाचन जस्ता कयौं कारणहरुले झन्डै एक दशक देखि ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थीहरु नेतृत्व विहिन अवस्थामा रहेका छन् जस्ले ठुलो स्तरमा विद्यार्थी र क्याम्पसको प्रगतिलाई असर पारेको छ ।

स्ववियु निर्वाचनलाई भविष्यमा देशलाई आवश्यक पर्ने दक्ष राजनीतिक नेतृत्व उत्पादन गर्ने नर्सरीको रुपमा लिन गरिन्छ । तर, विगतका दिनहरुमा स्ववियु निर्वाचन नभएको कारण देशलाई नयाँ नेतृत्वको साच्चिकै खाँचो परेको छ । नयाँ पुस्ताले राजनीतिमा पाउनु पर्ने अवसर गुमाएका छन् भने राजनीतिबाट एउटा युवाहरुको समुहको विस्वास समेत उठेको छ । अर्को तिर नयाँ सोच र प्रगतिशील विचार बोकेका व्यक्तिहरुलाई राजनीतिबाट टाढा बस्नु पर्ने अवस्था छ ।

नेपाली राजनीतिक इतिहास पल्टाउने हो भने हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा युवा विद्यार्थीको महत्वपूर्ण योगदान छ । २००४ सालको जयतु संस्कृतम् आन्दोलन, २००७ सालको राजनीतिक परिवर्तनपछि क्‍याम्पसहरूमा गठन भएको छात्र संघ नै अहिलेको स्ववियुको जग थियो । ०३६ को जनमत संग्रह, ०४६ सालको राजनीतिक परिवर्तन, ०६२ र ६३ को जनआन्दोलनमा संघर्षको अग्रमोर्चामा विद्यार्थीहरु नै थिए । त्यसैगरि विगतमा ३/३ पटक संघीयता, मधेसी, मुस्लिम, आदिवासी, थारु, महिलालगयात सम्पूर्ण अपेक्षित जाति र समुहहरुको हितका लागि गरिएको मधेस आन्दोलनमा समेत विद्यार्थीहरुले ठुलो भूमिका खेलेका छन् । जनताको हक, अधिकार पटकपटक भएका राजनीतिक आन्दोलनलाई सफल बनाउन विद्यार्थी संगठन र आन्दोलनले खेलेको भूमिका अतुलनीय छ ।

त्यसैगरि विद्यार्थी आन्दोलनले देशमा भएको अन्य कयौं अराजकता विरुद्ध समय-समयमा सरकार र सरोकारवाला निकायहरुलाई सचेत गराउदै आएको छ । आजपनि नेपालमा गौरवको यहि इतिहासलाई विद्यार्थी राजनीतिले आफ्नो औचित्य पुष्टी गर्ने प्रमाणको रुपमा उपयोग गरिरहरेको छ । तर पछिल्लो समय स्ववियु निर्वाचन नभएका कारण विद्यार्थी संगठनहरु आन्दोलनको उपलब्धिहरूलाई संस्थागत गर्ने चुनौतीहरुको सामना गर्नु परेको छ । एक दशक भन्दा बढि देखि स्ववियु निर्वाचन नभएका कारण अहिले विद्यार्थीहरुलाई राजनीतिक दलहरुले गलत ढंगबाट प्रयोग गर्ने गरेका छन् भने देशभरीका क्याम्पसहरुमा अराजकता मचिएको छ । आजको दिनमा विद्यार्थी नेतृत्व माथि आम नागरिकको विश्वास छैन र विद्यार्थी राजनीतिक अवस्था समेत दयनीय छ ।

स्ववियुले देशका राजनीतिक शक्तिहरुको मनोमानी विरुद्द खबरदारी गर्न, नयाँ पुस्तालाई राजनीतिप्रति रुचि जगाउन, राजनीतिक चेतनालाई देशको कुना कन्दरासम्म पुर्याउने, शिक्षा क्षेत्रका तमाम विकृती र विसंगतिको अन्त गर्दै प्रतिभा पलायन रोक्न, शैक्षिक गुणस्तर र समानताको बहस गर्न, उपयुक्त शैक्षिक क्यालेन्डर निर्माण गरी लागू गर्न, विश्वविद्यालयमा कार्यरत कर्मचारी र प्राध्यापकहरूलाई आफ्नो कर्तव्यप्रति वफादार बनाउन, पाठ्यक्रमको समयानुकुल परिमार्जन गर्न ठुलो भूमिका खेल्ने गरेको छ ।

नेपालको शैक्षिक इतिहासलाई हेर्ने हो भने वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसको नाम सुवर्ण अक्षरहरुमा लेखिएको पाउनु हुनेछ । नेपाललाई चाहिने जनशक्ति र बुद्धि उत्पादन गर्ने दशकौं देखिको शैक्षिक थलो हो ठाकुर राम । देशलाई प्रधानमन्त्री र कयौं सपुतहरु दिएको यो क्याम्पसमा नेतृत्वको खाँचोका कारण आज अराजकताको सिकार भएको छ । नेपालका अन्य स्थानहरुमा धेरै पछि खुलाका क्याम्पसहरुले प्रगति गरे पनि ठाकुरराम अपेक्षित हुँदै आएको छ । यस्को एउटा ठुलो कारण स्ववियु निर्वाचन नहुनु पनि हो ।

अर्को तिर नेतृत्व बिहिन अवस्थामा रहेको हाम्रो ठाकुर राम क्याम्पसको विद्यार्थीको संख्या पनि दिन प्रति दिन घट्दै गएको छ । राम्रो शिक्षाका खोजीमा विद्यार्थीहरु मोटो रकम तिरेर पनि निजि क्याम्पसहरुमा अध्ययन गर्न बाध्य छन् । त्यस्तै अति आवश्यक पूर्वाधारहरु कमजोर छन् । हेर्ने हो भने पिउने पानीको समेत सहज सुविधा छैन् । शौचालयहरु महिला मैत्री र अपाङ्गमैत्री छैनन् र भएका शौचालय समेत फोहोर छन् । सुलभ क्‍यान्टिनको व्यवस्था छैन्, पुस्ताकालयहरुमा पुस्तकको खाँचो छ । खेल मैदान र खेल सामग्रीको अभाव छ । क्‍याम्पसका भवन, कक्षा कोठा, डेक्सबेन्च र ल्याव जीर्ण छन्, अपाङ्गमैत्री छैनन् । क्‍याम्पस परिसरमा सरसफाई छैन् । होस्टेलको अवस्था दयनीय छ । बिजुलीको उचित व्यवस्थापन समेत हुन् सकेको छैन । त्यसैगरि क्याम्पसमा भ्रष्टाचार मौलाएको छ । नियमित कक्षा संचालन नभएको अवस्था छ । क्‍याम्पसका यी महत्वपूर्ण पक्षहरुमा सुधार ल्याउन स्ववियु निर्वाचनबाट आएको नेतृत्वले धेरै ठुलो योगदान दिनसक्छ ।

हाम्रो ठाकुर राम क्याम्पसलाई आज सहि नेतृत्वको खाँचो परेको छ र यहि खाँचोलाई पूर्ण स्ववियु निर्वाचन अवसर बनेर आएको छ । हामि सम्पूर्ण विद्यार्थीहरुले मिलेर आगामी फागुनमा तोकिएको दिन शान्तिपूर्ण तरिकाले स्ववियु निर्वाचन सफल पार्न तिर लाग्नु पर्छ । आफ्नो विद्यार्थीको आवाज सामुहिक रुपमा राज्य र सरोकारवाला समक्ष पुर्याउने यो सुवर्ण अवसर हो, यस्लाई खैर जान दिनु हुन्न । त्यस्तै विद्यार्थी राजनीतिकबाट उठेको जनताको बिस्वासलाई फिर्ता ल्याउन पनि हामीले स्ववियु निर्वाचनको आवशयकता छ । किनभने, स्ववियु निर्वाचनले हामि विद्यार्थीहरुलाई आफ्नो नेतृत्वकर्ता छान्ने मौका दिन्छ जस्ले हामि अनुकुल विद्यार्थीको हकहित, क्याम्पस व्यवस्थापन र शिक्षामा सुधार ल्याउन कार्य गर्छ । फलत क्याम्पसको अवस्थामा सुधार आउछ र गुमेको अध्ययन गर्ने वातावरण फेरी फिर्ता भएर आउछ ।

स्ववियुले नेतृत्व मात्र नदिएर विद्यार्थीहरुलाई आफ्नो अध्ययन गर्ने जीवनमै राजनीतिक नेतृत्वको अभ्यास गर्न अवसर दिनेगरेको छ । स्ववियुलाई मिनि संसद समेत भन्ने गरिएको छ त्यसैले नयाँ पुस्तालाई राजनीतिक अभ्यासको लागि प्लेटफम उपलब्ध गराउन पनि स्ववियुको निर्वाचनको आवश्यकता छ । स्ववियुले क्याम्पसमा मौलाएको गुन्डागर्दी, भ्रष्टाचार, झैझगडा समेत रोक्न सहयोग पुर्याउछ । स्ववियुको सफलता हामि सम्पूर्ण विद्यार्थीको सफलता हुन्छ र ठाकुर राम बहुमुखी क्याम्पसको प्रगतिको लागि यो एउटा कोशे ढुङ्गा प्रमाणित हुन् सक्छ । तसर्थ सबै विद्यार्थी, कर्मचारी वर्ग र अन्य सम्पूर्ण सरोकारवाला निकायलाई स्ववियु निर्वाचन सफल पार्न म अनुरोध गर्दछु ।

लेखक ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थी हुन ।

Back to top