×

राैतहट २८ पुस । रौतहटको गरुडामा स्थापित तथा करिब अढाई दशकदेखि सञ्चालित वंशीराम जयसवाल अनाथालय अत्यन्त दयनीय अवस्थाबीच चलिरहेको छ । अनाथाललयका संस्थापक वंशीराम जयसवालले आफ्नो घरखेतमा सञ्चालन गरेर आफ्नो निजी लगानीमा अनाथ, अपाङ्ग बालबालिकाको भरणपोषण गर्दै विभिन्न संघसंस्थाहरुलाई गुहार्दै यहाँसम्म ल्याई पु¥याएका हुन् तर अब आफ्नो शरीरले धेरै समय साँस धान्न नसक्ने भएको भन्दै जयसवालले अनाथालयलाई स्वचालित बनाउन अक्षयकोष स्थापनाको अभियान आरम्भ गरेका छन् ।

८५ वर्षीय वयोवृद्ध जयसवालले अनाथालयको लागि अक्षयकोष स्थापना गर्ने विषयमा अन्तक्र्रिया नै गराएका छन् । अन्तक्र्रियामा माधवनारायण नगरपालिकाका नगरपिता वीरेन्द्र राय यादवले आफ्नो नगरपालिकाको तर्फबाट पाँच लाख रुपैया दिने घोषणा गरेका छन् ।

अनाथालयमा नै हुर्केर अहिले दक्षिण कोरियाको सिउलमा रहेको सिउल विश्वविद्यालयमा एमफिल अध्ययनरत कृष्णकुमार सिंहले पनि आफूले आफ्नो गाँस कटाएर भए पनि कोषमा एक लाख रुपैया जम्मा गर्ने बताएका छन् । सिंह सिउलमा पढ्दै अध्यापन पेसामा संलग्न छन् । उनी स्नातक तहमा आफ्नो विश्वविद्यालयमा विदेशी विद्यार्थीमा सर्वोत्कृष्ट भएपछि अनाथ बालक विश्वविद्यालयमै सर्वोत्कृष्ट भी सञ्चारमाध्यमले खूब प्रशंसा गरेका थिए । आफूजस्तै अनाथहरुको भविष्य सपार्ने काम गरिरहेको महायज्ञमा थोरै भए पनि योगदान दिन हरेक सहृदयी मानवलाई सिंहले आग्रह गरेका छन् ।

अनाथालयका संस्थापक जयसवालले एक करोड एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेपछि धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जयसवालले आफ्नो निजी सम्पत्ति बेचेर किनिदिएको तेल ढुवानी गर्ने ट्याङ्करको आयबाट जेनतेन चलिरहेको अनाथालयमा कहिलेकाहीँ कतैबाट अपर्झट सहयोग आएपछि निकै सजिलो भएको छ । केही सहृदयीले आफ्नो जन्म दिन, विवाहोत्सव र कुनै चाडपर्वमा आएर अनाथ बालबालिकासित रमाउँदै अलिकति सामग्री प्रदान गर्ने चलन पनि चल्न थालेको छ तर बालबालिकाहरु बिरामी पर्दा र शिक्षदीक्षाका साथै मौसमअनुसारको खानपानमा अनाथालयलाई निकै ठूलो चुनौती रहेको छ । ३४ जना बालबालिका र ४ जना अन्य गरी ३८ जना नितान्त अनाथालयमा नै निर्भर रहेका छन् । अनाथालयमा सबैले शाकाहार भोजन नै गर्दछन् तर पनि मासिक सरदर दश लाख रुपैयाभन्दा बढी चाहिने र निरन्तर महंगी पनि बढ्दै गइरहेकोले एक करोडको अक्षयकोष स्थापना गर्नुपर्ने आफूलाई लागेको संस्थापक अध्यक्ष जयसवालले बताएका छन् । एकजना अनाथ बालकले नै अक्षयकोषमा एक लाख रुपैया सहयोग गर्छु भन्ने घोषणा गरेपछि अब एक लाख वृद्धि गरी अक्षयकोषको लक्ष्य एक करोड एक लाख पु¥याएको बताउँदै संस्थापक जयसवालले भने “अनाथ बालबालिकालाई भोक र रोगबाट बचाउन तथा शिक्षाको उज्यालो घाममा लैजानको लागि थालिएको अक्षयकोष स्थापनारुपी पुण्य महायज्ञमा योगदान दिन हरेक मानिसलाई आग्रह गर्दछु ।”

कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाका नगरपिता इन्नु राय यादवले नगरपालिकाबाटै निर्णय गराएर आफूले निरन्तर सहयोगको बाटो बनाइदिने घोषणा गरेका छन् । यसै गरी यमुनानाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले पनि आफूले गाउँपालिकाबाट निर्णय गराएर राम्रै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवी जयसवाल, गढीमाई नगरपालिकाकी उपमेयर शुभद्रा गुप्ता, संघीय समाजवादी फोरम नेपालको मधेस प्रदेश सदस्य वृजकिशोर यादव, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खड्का, नन्दलाल साह लगायतले अनाथालयले स्थापना गर्न लागेको अक्षयकोष निकै सराहनीय कदम भएको भन्दै आफूहरुले आफ्नो पालिकाको निर्णय गराएर र अन्य माध्यमले पनि सहयोग गर्ने गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनाथालयका उपाध्यक्ष अवधकिशोर ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा बनारसमा एउटा भव्य कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेर गीत गाउने अनाथालयकै बालक विजयशंकरले गीत गाएर सबैलाई मुग्ध पारेका थिए । विजयशंकर काशी विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरी हाल बनारसकै एउटा कलेजमा सहायक प्राध्यापक पदमा कार्यरत छन् ।

Back to top