×

वीरगन्ज २७ पुस । परम्परागत रूपमा सिंचाइका लागि प्रयोग हुँदै आएको कुलो मिचेर उद्योग निर्माण हुन थालेपछि विरोध भएको छ । वीरगन्ज महानगरपालिका २२ जगरनाथपुरमा निर्माणाधीन सर्वोत्तम स्टिल्सले सार्वजनिक कुलोको जग्गा मिचेर भौतिक संरचना निर्माण गरिरहेको छ । ९ महिनादेखि नै स्थानीयले अतिक्रमणको विरोध गरे पनि सरोकारवाला निकायले सुनवाइ नगरेको गुनासो छ । निर्माणाधीन उद्योगले गाउँको परम्परागत कुलोको जग्गा मिचेको थाहा पाएपछि वडावासीले वैशाखमै वडा कार्यालयमा निवेदन दिएका थिए । वडा अध्यक्ष गैसुदिन मियाले वैशाख २५ गते उद्योगको नाममा पत्र लेखेर सार्वजनिक कुलो मिचेको विषयमा छलफल गर्न बोलाएका थिए । वडाअध्यक्षको पत्रको वास्ता नगरेपछि गत मंसिर २१ मा वीरगन्ज महानगरपालिका कार्यालयमा पनि अतिक्रमणको विरोधमा निवेदन दिएको तेज बहादुर साहले जानकारी दिए । ‘नापजाँचका लागि महानगरपालिकाले अमिन पठाउँदा पनि उद्योग भित्र प्रवेश गर्न दिइएन,’ साह भन्छन्, ‘कुलोको अस्तित्व जोगाइएन भने यस क्षेत्रका खेतहरू डुबानमा पर्छन् ।’ जगरनाथपुरका ८० वर्षीय ब्रम्हदेव यादवका अनुसार उक्त कुलोले झन्डै सात सय क्षेत्रफल भन्दा बढी जमिन सिञ्चित हुने गरेका थिए । ‘गाउँलेहरू टाउकोमा माटो बोकेर बाँध बाध्थे । सरिसवा नदीमा बाँध बाधेपछि कुलोमा पानी आउथ्यो,’ विगत सम्भिँmदै उनले भने, ‘कुलोको पानीले लालपर्सा हुँदै जगरनाथपुरसम्मका खेतमा सिंचाई हुन्थ्यो । पछिल्लो समय बोरिङ, दमकलको प्रयोग हुन थालेपछि कुलो प्रयोगविहिन बनेको थियो । सिंचाइ नहुँदा बाढीको पानी त्यही कुलोबाट निकास पाउँथ्यो । स्थानीय मन्जुर मियाँका अनुसार उद्योगले कुलो मिचेपछि बाढीको पानीको निकास रोकिन्छ । अतिक्रमण विरोध निरन्तर लागिरहेका तेज बहादुरले आफूलाई विभिन्न किसिमको दबाब आइरहेको खुलाए । ‘धेरै दबाब दिइरहेका छन्,’ उनले भने, ‘अतिक्रमणका बारे नबोल्न भन्छन् ।’

१२ फिट देखि २२ फिटसम्मको कुलोलाई गाउँलेले ‘बड्का पइन’ (ठूलो कुलो) भन्दै आएका थिए । उद्योगका प्रतिनिधि गेनालाल पटेलले माटो फिलिङ्गको कार्य सम्पन्न भएपछि पक्की कुलो निकाल्ने बताए । निर्माणाधिन उद्योग परिसरमा भेटिएका पटेल भन्छन्, ‘हो, उद्योगले कुलो मिचेको छ । साहुले पनि पछि कुलो निर्माण गर्ने आश्वासन दिएका छन् ।’

उद्योगको अतिक्रमण हटाउन उदासिनयसैगरि बीरगन्ज महानगरपालिको ३२ बेल्वा स्थित कियासोत खोलाको दुबै किनारमा रहेका उद्योगले करिब १२ बिघा जग्गा अतिक्रमण गरेको छन् । झन्डै १८ महिना अगाडि स्थानीयले जिल्ला प्रशासन कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म अतिक्रमण हटाउनका लागि प्रमाण सहित ज्ञापनपत्र बुझएका थिए । तर, हालसम्म अतिक्रमण खाली भएको छैन् । स्थानीय अगुवा प्रभु यादवका अनुसार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएपछि जिल्लाको नापी, मालपोत र भूमिसुधार कार्यालयले उद्योगले अतिक्रमण गरेको क्षेत्रको कागजात काठमाडौँ पठाएका थिए ।

‘प्रमाणित गरी पठाएको सरकारी कागजातहरू भूमिसुधार र मालपोत विभागमै छन्,’ यादवले भने, ‘कुनै निर्णय गरेका छैनन् । यता उधोगहरूले खोलाको बगर पुरेर पक्की पर्खाल निर्माण गरिसकेका छन् ।’ २० महिना अगाडिसम्म झन्डै ६० फिट चौडाइमा सलल बग्ने खोला अहिले मुस्किलले ५ फिटको नालामा खुम्चिएको छ । स्थानीयका अनुसार खोलाको पूर्वी किनारामा निर्माण भएको जगदम्बा कंक्रिटको उद्योगले आफ्नो भोगचलनबाहेकको बगर र खोला पुरेर पर्खाल निर्माण गरी अतिक्रमणको सुरुवात गरेको थियो । नयाँ निर्माण हुने उद्योगले पूर्व पट्टीको बगर अतिक्रमण गरी पर्खाल निर्माण गर्दा स्थानीय प्रशासनले कारबाही नगरेपछि झन्डै १३ वर्षदेखि खोलाको पश्चिमी किनारामा सञ्चालनमा रहेको श्री शिवशक्ति केमो प्लाष्ट उद्योगले पनि डोजर नै लगाएर धमाधम खोलाको बगर पुरेको थियो । दुबै उद्योगले अतिक्रमण गरेको जग्गा नापी कार्यालयको नक्सा र फिल्ड बुक उतारमा ‘पर्ती/ऐलानी’ उल्लेख गरिएको छ । उद्योगले अतिक्रमण गरेको क्षेत्र नजिकै सिँचाइ विभागले ०५४ सालमा ४ करोड रुपैयाँमा कियासोत खोलामा बंगमोही बाँध निर्माण गरेको थियो । खोलाको पर्ती जमिन अतिक्रमण हुँदा बाँधसमेत प्रभावित बनेको छ । बाँधको सञ्चित पानीले वरिपरि गाउँका एक हजार पाँच सय हेक्टर खेती योग्य जमिनमा सिँचाई हुँदै आएको थियो । उक्त क्षेत्र वरिपरि गाउँका गाई, भैंसी, बाख्रा चरिचरनस्थल पनि हो । तर, उद्योगको अतिक्रमणले चरिचरण क्षेत्र मासिएपछि किसान समेत मारमा परेका छन् । मधेसमा निजी रेखात (चरिचरण गराउने क्षेत्र) नहुने किसानले आफ्नो गाई वस्तु खोला किनारको पर्ती, एैलानी जग्गामा चराउने गर्छन् ।

ऐलानी सार्वजनिक जग्गा संरक्षण संघर्ष समिति पर्साका अनुसार साविक चोर्नी गाविस वडा नम्बर ७ को कि.नं. ११६ को एक बिघा १३ कठ्ठा, कि.नं.१२१ को एक बिघा ३ कठ्ठा, कि.नं. १२२ को एक बिघा दुई कठ्ठा, कि.नं.१४६ को एक बिघा एक बिघा दुई कठ्ठा, कि.नं.१४८ को दुई कठ्ठा, कि.नं. १४९ को एक बिघा पाँच कठ्ठा, कि.नं.१५० को चार बिघा १२ कठ्ठा र कि.नं.१२६ को एक बिघा २ कठ्ठा र बंगमही बाँधदेखि पूर्व, पश्चिम र दक्षिणको ऐलानी जग्गा अतिक्रमण गरेका छन् । करिब १२ बिघा जग्गा अतिक्रमण हुँदा प्रशासनले रोक्नुको सट्टा अतिक्रमणकारीकै पक्ष लिएकामा बेल्वावासी चिन्तित छन् । संघर्ष समितिका प्रभु यादवले भने, ‘जिल्लाको ऐलानी जग्गा संरक्षणको दायित्व पाएका निकायले चासो नलिएपछि ६० फिटको खोला ५ फिटमा खुम्चिएको छ ।’ सभार कान्तिपुर दैनिकबाट

Back to top