×

वीरगञ्ज २५ पुस । प्रदेश २ का भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले खेल क्षेत्र राज्यको सँधै उपेक्षामा परेको बताएका छन् । उनले खेलकुदको संरक्षणका निमित्त राज्यले उचित लगानी गर्न नसकेको बताए । जिल्ला तेक्वान्दो संघ, पर्साको आयोजना वीरगञ्जमा आयोजित प्रथम वीरगञ्ज इन्डो नेपाल तेक्वान्दो च्याम्पीयनसिप २०७५ को उद्घाटन गर्दै उनले नेपाललाई विश्वमा चिनाउन सक्ने खेल जगत ओझेलमा पर्नु दुःखद भएको बताए ।‘खेल क्षेत्र र खेलाडी माथि लगानी गरेर खेल क्षेत्रलाई स्थापित गर्न सकिन्छ, यथोचित लगानी गर्न सके खेलाडीहरुले विश्व सामु आफ्नो पहिचान बनाउन सक्छन्’ उनले भने ‘अहिले प्रदेश सरकारमा छुट्टै खेलकुद मन्त्रालय त छैन तरपनि जो ट्यालेन्ट छ, चाहे त्यो तेक्वान्दो, क्रिकेट वा फुटबल खेलाडी नै किन नहोस त्यसमा लगानी गर्न प्रदेश सरकार तयार छ ।’ नारायणी रंगशालाको स्तरोन्नतीका लागि प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको बताउँदै उनले अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउन पहल गर्ने बताए । प्रदेश सरकारले अहिले तत्काल खासै केही गर्न नसक्ने बताउँदै उनले तर सकेको गर्ने दावी गरे । ‘विगतमा राज्यको दृष्टिकोण सघन किसिमले जान सकेको छैन, अब संघ प्रदेश र स्थानीय गरी तीन तहको सरकार भएको छ । सरकार शिशु अवस्थामा छ । अहिले न कर्मचारी छ, न बजेट छ तर आशा छ यस क्षेत्रको विकासका लागि केही गर्न सकिन्छ’ मन्त्री सोनलले भने । प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, ६ वटै प्रदेशबाट एक/एक टिम, आयोजक वीरगञ्ज र भारतका बिहार, कालिम्पोङ लगायत नेपाल भारतका १३ वटा टीम भाग लिएका छन् । १२ वेट क्याटेगोरीमा महिला र पुरुष खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

Back to top