×

वीरगन्ज २४ पुस । नेपाल राष्ट्र बैंकले भारु २ सय, ५ सय र २ हजारका नोटको प्रतिवन्ध हटाउनका लागि भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियालाई पत्राचार गरेको हो। भारतले ति नोट सटही गर्ने अनुमति दिएमा यी नोटहरु वैधानिक रुपमा चलाउन सकिनेछ।

नेपालको व्यापार भारतसँग निर्भर रहनु र स्थिर बिनिमयदर रहेकाले भारु नोटहरु प्रतिबन्ध गर्दा नेपाललाई असर पर्ने भएपछि सरकारको आग्रहमा राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई पत्र पठाएको हो।

राष्ट्र बैंक बिदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानाले नयाँ भारु नोटको प्रतिवन्ध हटाउनका लागि भारतलाई आग्रह गरिएको जानकारी दिए। ‘भारतीय रिजर्भ बैंकले नयाँ नोट सटहीका लागि प्रतिबद्धता जनाएमा ति नोटमा लागेको प्रतिबन्ध हटाउन सकिन्छ’ ढुंगानाले भने। ठूला नोटहरु प्रतिवन्ध लगाउँदा भारतीय सीमा क्षेत्रमा हुने कारोबारलाई नियन्त्रण गर्न समेत सरकारलाई चुनौति थपिएको छ।

‘प्रतिवन्ध गरिसकेपछि ति नोट बोक्नु गैह्रकानूनी हुन्छ, तर सीमा क्षेत्रमा कारोबार नियन्त्रण गर्न चुनौतिपूर्ण छ’ ढुंगानाले भने ‘भारतमा रोजगारीमा गएकाले तिनै नोट ल्याउँछन्, सटही सुविधा नहुँदा उनीहरुलाई पनि समस्या देखियो।’

भारतले नयाँ भारु नोट सटहीका लागि अनुमति नदिएपछि नागरिकलाई कारोबारका लागि सचेत गराउन यसअघि ति नोट प्रतिवन्ध गरिएको थियो। साथै उनले पुराना भारु ५ सयको नोट सटही गर्नका लागि समेत आग्रह गरिएको जानकारी दिए।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै २०१६ नोभेम्बरदेखि ५ सय र १ हजार भारुका नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो।

नेपालमा रहेका पुराना नोट सटही गरिदिने सम्वन्धमा भारतले बेवास्ता गर्दै आएको छ।ति नोट चल्तीमा रहँदा एक व्यक्तिले २५ हजार रुपैयाँसम्म बोक्न पाउने व्यवस्था थियो।

बैंकिङ प्रणालीमा मात्रै ३ करोड ३२ लाख रुपैयाँ यस्ता नोट छन्। त्योबाहेक राष्ट्र बैंकसँग साढे २ करोड बढी रकमको भारु पाँच सय र हजारका नोट छ।

Back to top