×

वीरगंज २४ पुस । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको नेतृत्वमा गठित सरकारले भोजभतेरदेखि अतिथि सत्कारसम्म ४ करोडभन्दा बढी खर्चेको छ।

मंसिर २६ गते भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत सत्कारमा सरकारले ७३ लाखभन्दा बढी खर्चेको छ। सीताराम विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर आएका मुख्यमन्त्री योगीलाई प्रदेश सरकारले मधेस भवनमा स्वागत गरेको थियो। योगीको सत्कारमा मुख्यमन्त्री राउतले भण्डारा (भोज) को आयोजनासमेत गरेका थिए।

स्वागत सत्कार र भण्डाराको आयोजनामा सरकारले ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्चेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त खर्च विवरणमा उल्लेख भएअनुसार योगीको स्वागतका लागि बनाइएका गेट, टेन्ट निर्माण, फूलमाला, कुर्सी तथा साउन्ड सिस्टमको व्यवस्थापनमा ३८ लाख ८४ हजार ७ सय ८९ रुपैयाँ खर्चिएको छ। त्यसैगरी, भण्डाराका निम्ति २६ लाख ५१ हजार ३ सय, अतिथिलाई उपहार दिन ५७ हजार ५ सय र कार्ड छपाइ, फ्ल्याक्स बोर्ड, प्रचारप्रसारलगायत खर्चमा ७ लाख १४ हजार ५ सय ५६ गरी जम्मा ७३ लाखभन्दा बढी खर्चिएको छ।

यता, विवाहपञ्चमी महोत्सवकै लागि जानकी मन्दिरका तर्फबाट अढाई करोडभन्दा बढी खर्च भएको मन्दिर व्यवस्थापक पक्षले दाबी गरेको छ।

यसभन्दा पूर्व वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएका बेला प्रदेश सरकारले स्वागत सत्कारको नाममा ३ करोड १२ लाख रुपैयाँ खर्चेको थियो। मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त खर्च विवरणअनुसार सो बेला प्रदेश सरकारमातहत रहेका ६ वटा मन्त्रालयमार्फत विभिन्न शीर्षकमा सो रकम खर्चिएको थियो। भारतीय प्रधानमन्त्रीको तीन घण्टाको जनकपुर बसाइका लागि प्रदेश सरकार र उपमहानगरपालिकाबाट विभिन्न शीर्षकमा ५ करोडजति खर्चिएको दाबी गरिएको थियो।

आर्थिक मामिलामन्त्री विजय यादवले भने, ‘खर्च अपारदर्शी छ भने सम्बन्धित समितिलाई समय दिऊँ। यो खर्च भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसम्मको भ्रमण स्वागतलगायतमा भएको हो। मन्त्रिपरिषद्मा यो एजेन्डा आएको छैन।’

प्रदेश सरकारले मोदी भ्रमणको खर्च हालसम्म सदनमा पारदर्शी गर्न सकेको छैन। खर्च पारदर्शी गर्नुपर्ने मागसहित पटक पटक प्रतिपक्षी दलले सदन अवरुद्ध पार्ने समेत चेतावनी दिइसकेका छन्। तर, सरकारले खर्च पारदर्शी हुने आश्वासनको भरमा सदनलाई टार्दै आएको छ ।

Back to top