×

वीरगंज, २२ पुस । सरकारले ठूलो दरका भारतीय रुपैयाँ (भारु)को चलनचल्तीमा लगाएको प्रतिबन्धको औचित्यमा सीमा क्षेत्रका व्यवसायीले प्रश्न उठाएका छन् । सरकारले हालै भारू दुई सय, पाँच सय र दुई हजार दरका नोटमा रोक लगाए पनि औचित्य पुष्टि गर्न नसकेको उनीहरूले बताए । भारू प्रतिबन्धले सीमावर्ती क्षेत्रको व्यापार र आवागमन असहज बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । ‘सरकारले यो नियम किन लगायो, चित्त बुझ्दो कारण थाहा पाइएको छैन,’ अध्यक्ष शर्माले आर्थिक अभियानसित भने, ‘तर, यसबाट सीमाक्षेत्रको आम दैनिकी अत्यन्तै असहज बनेको छ ।’

यसअघि २५ हजार भारूसम्म जुनसुकै दरका नोट बोक्न छुट थियो । सरकारले एक सय दरका भारू बाहेक अन्य नोटको चलनचल्तीमा रोक लगाएपछि सीमाक्षेत्रमा यसको नकारात्मक प्रभाव बढी देखिएको छ ।

घटे भारतीय ग्राहक

भारू ठूला नोटको चलनचल्तीमा रोक लगाइएपछि भारतबाट किनमेलका लागि वीरगञ्ज बजारमा आउने ग्राहकसमेत घटेका छन् । प्रहरीले प्रतिबन्धित नोट भेटिएमा दुःख दिने डरले भारतीयहरू आउन छोडेको व्यवसायी खेतानको भनाइ छ । नोट प्रतिबन्धपछि स्थानीय आदर्शनगर बजारमा भारतीय ग्राहकको आवागमन स्वात्तै घटेको उनले बताए । ‘सीमा क्षेत्रका बासिन्दाले सीमानाको बजारबाट किनमेलका लागि भारू राख्नु सामान्य कुरा हो । तर, साना नोट बोकेर हिड्नु पनि अर्को समस्या हो,’ वीरगञ्ज आदर्शनगरका व्यवसायी प्रकाश बायतीले बताए ।

ढुवानी भाडामा झमेला :

भारूमा लगाइएको यस्तो प्रतिबन्धले वैदेशिक व्यापार परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाट ढुवानी झन्झटपूर्ण बनेको गुनासो व्यवसायीले गरेका छन् । भारतका विभिन्न स्थानबाट मालसामान लिएर आएका गाडी चालकलाई भाडा तिर्न समस्या भएको व्यवसायी जयप्रकाश खेतानले बताए । प्रतिबन्धित दरका नोट फेला परेमा पक्राउ परिने डरले भारतीय गाडीका चालकले त्यस्ता नोट लिन मान्दैनन् । नाकामा खटिएका प्रहरीले भारतीय चालकमाथि प्रतिबन्धित नोट बोकेको आशंकामा बढी निगरानी राखेर सोधपुछ गर्न थालेका छन् । वीरगञ्ज नाकाबाट सामान्य अवस्थामा दैनिक पाँच सय भारतीय ट्रक मालसामान बोकेर भित्रिन्छन् । एउटा ट्रकलाई ५० देखि ६० हजार भारू भाडा तिर्नु पर्छ । भन्सारमा पेश हुने कागजातमा अधिकांशले भाडाको कागजात पेश गर्दैनन् । यस्तोमा आयातकर्ताले भाडा नगदै बुझाउनु पर्छ ।

वीरगञ्ज भन्सारका सूचना अधिकारी मनिषकुमार महतोले भारतबाट हुने अधिकांश ढुवानीको भाडा बैंकमार्फत नहुने बताए । धेरैजसो आयातकर्ताले ढुवानीकर्तालाई नगदै दिने गरेको महतोको भनाइ छ । बैंकमार्फत भुक्तानीका लागि आयातकर्ताले भन्सारमा भाडाको कागजात पेश गर्नु पर्दछ । बैंकबाट हुने भुक्तानीमा बढी समय लाग्ने भएकाले अधिकांश ढुवानीकर्ताले नगदै माग्ने गरेको आयातकर्ता बताउँछन् । सीमाक्षेत्रमा व्यापार, ढुवानी र कतिपय पारिश्रमिकसमेत भारूमा भुक्तानी गरिन्छ ।

उद्योगलाई पनि समस्या :

बारा÷पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई कामदारको तलब दिन समस्या परेको एक उद्योगीले बताए । ती उद्योगीका अनुसार भारतीय कामदारलाई भुक्तानी दिन कठिनाइ परेको हो । यस्ता कामदारको पारिश्रमिक भारूमा दिनु पर्छ । ‘ठूला नोट लिन मान्दैनन्, साना नोटको अभाव छ,’ ती उद्यमीले भने, ‘सरकारको हचुवा निर्णयले हदै समस्या भयो ।’ कोरिडोरका अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । बारा र पर्साका उद्योग प्रतिष्ठानमा १५ हजारभन्दा बढी भारतीय कामदार रहेको अनुमान ती उद्योगीको छ ।

बढ्यो बट्टा दर :

१ सय दरका नोटको माग बढी भएपछि सटहीमा संलग्न व्यवसायीले त्यस्ता नोटको सटही दर (बट्टा) बढी लिने गरेको आयातकर्ताको गुनासो छ । सामान्यतः १ सय भारूको सहटी दर १ सय ६० नेपाली रुपैयाँ रहेकोमा अहिले १ सय ६५ पुगेको व्यवसायीले बताए । बट्टा दर भारूको माग बढी हुँदा बढ्छ भने कम हुँदा घट्ने गरेको छ ।

सरकारको यो प्रतिबन्धले भारतमा शिक्षा, स्वास्थ्य उपचार, सामान्य किनमेलजस्ता आवश्यकीय कामले आवतजावत गर्ने नेपालीलाई पनि समस्या थपिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताए । ‘कम्तीमा २५ हजार भारूसम्म जुनसुकै दरका नोट बोक्न छुट दिइनु पर्छ,’ उनको सुझाव छ ।

Back to top