दुई वर्ष भित्र १ सय २५ करोड भन्दा बढि लगानीमा वीरगंजमा निर्माण हुने आधुनिक मल-आकृति अग्रवाल

3970

वीरगंज, २१ पुष – वीरगंजमा प्रदेश नं. २ कै ठुलो तथा अत्याधुनिक सुविधा सम्पन्न मलको निर्माण कार्य सुरु भएको छ । स्काई लाईन मल नाम गरिएको मलको निर्माण कार्य युद्धस्तरमा चलिरहेको मलका सञ्चालहरुले जनाएका छन् । नेपालका प्रतिष्ठित व्यवसायीहरुको संयुक्त लगानीमा निर्माण सुरु गरिएको मलमा १ सय २५ करोड भन्दा बढि लगानी लाग्ने अनुमान गरिएको छ ।

वीरगंजको मुख्य चोक आदर्शनगरमा साढे ४ कठ्ठा जग्गामा फैलिएको सात तल्ले मल निर्माण गर्न लागिएको योजनाकी प्रमुख आकृति अग्रवाल जानकारी दिईन । मलको बेसमेन्टको काम सुरु भई सकेको र आगामी दुई वर्ष भित्र मल पूर्ण रुपले सञ्चालनमा आउने अग्रवालले बताईन ।



अग्रवाल अनुसार मलको बेसमेन्टमा पर्किङ्ग, ग्राउन्ड फ्लोर र पहिलो तल्लमा स्टोर, दोश्रो तल्लमा स्पा, पार्टी प्यालेस, सभा गृह, पार्लर, जिम र बोर्ड रुम रहेका छन् भने तेश्रो तल्लमा फुड कोर्ट र विभिन्न ब्राण्डका रेष्टुरेन्ट हुनेछन । त्यसैगरि चौथो र पाँचौ तल्लमा २ सय भन्दा धेरै मान्छे अट्ने तिन वटा अत्याधुनिक सुविधा सम्पन्न थ्रिडि सिनेमा हल हुनेछन भने छैठो र सातौ तल्लमा १६ वटा सुविधा सम्पन्न अफिस रहनेछन्, जसका लागि छुटै लिफ्ट र पार्किङ्गको समेत व्यवस्थापन गरिनेछ । ‘वीरगंजमा एकै थलोमा किनमेल, रेष्टुरेन्ट, सिनेमा, अफिस, जिम, पार्लर, पार्टी प्यालेसलगायतको आवश्यकता महसुस भएको कारणले मलको प्रोजेक्ट सुरु गरेको अग्रवालले बताईन, ‘दुई वर्षभित्र निर्माण सम्पन्न गरि मल सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं ।’

मलमा वीरगंजको जगदम्बा, कलश, क्याल, राजेश हार्डवेयर समूहलगायत व्यापारिक घरानाको लगानी रहेको छ । मलमा व्यवसायीहरुको दोश्रो पुस्ताले लगानी गरेका छन् । लगानीकर्तामा जगदम्बा समूहका राजेश अग्रवालकी छोरी आकृति अग्रवाल र अम्बे सिमेन्टका अंकुर भंगड रहेका छन् । त्यसैगरी क्याल समूहबाट अनुज क्याल, प्रतिक अग्रवाल, कलश सिमेन्टबाट अंशुमन पाटवारीलगयात रहेका छन् ।

प्राविधिक हिसाबले माटो परीक्षण गरी परीक्षणको प्रतिवेदनको आधारमा भवनको स्टक्चरल डिजाइन गरी भवन निर्माण कार्य भईरहेको सञ्चालकहरुको भनाई छ । ‘भवन ठुलो रेक्टरस्केलको भूकम्प सहन सक्ने गरि डिजाईन गरिएको छ,’ अग्रवालले भनिन, ‘मलमा फायर फाइटिङको व्यवस्थाका साथ् भवनमा डिटेक्टरको व्यवस्था, विद्युतीय भर्‍याङ, लिफ्टको सुविधा समेत रहेने छ । ‘अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी धेरै व्यवसायीलाई एकत्रित गर्न हाम्रो योजना छ,’ अगर्वालले भनिन ।

भवन निर्माणका लागि सम्बन्धित सबै निकायबाट स्वीकृति प्राप्त गरि निर्माण कार्य सुरु गरिएको अग्रवालले जानकारी गराईन । ‘व्यापारी नगरी वीरगंजलाई व्यवस्थित बनाउन यस्ता व्यावसायिक मलले सहयोग पुग्ने हाम्रो विश्वास छ,’ अग्रवालले थपिन, ‘भारतको बिहार, छिमेकी जिल्ला बारा, रौतहटलगयातलाई समेत लक्षित गरेर मल सञ्चालनमा ल्याउने हामीले उद्द्येश्य राखेका छौं ।’ मल निर्माण पश्चात यो वीरगंज तथा प्रदेश नं. २ कै यो पहिलो मल हुनेछ ।