सात प्रदेशमध्ये छ प्रदेशमा नेकपाको प्रदेश सरकार छ । प्रदेश दुई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच गठबन्धनको सरकार छ । यो सरकार बनेपछि केपी ओलीलाई मन परेको थिएन । ओलीले शुरुदेखि नै दुई मधेस केन्द्रित दलहरुलाई विभाजन गराउन खोजेका थिए । विभाजन गराउने उदेश्य ओलीको पूरा हुने क्रममा रहेको नेकपाका एक नेताले बताए । स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली, पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भएको गोप्य वार्तामा प्रदेश २ को सरकार ढालेर नयाँ सरकार बनाउने तयारी भएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवम् प्रदेश सांसद सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । प्रदेश दुईको सरकारबाट राउतलाई हटाएपछि पुरस्कार स्वरुप प्रधानमन्त्री ओली र नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई उपप्रधान तथा गृहमन्त्री बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ । गृहमन्त्री रामबहादुर थापाको कार्यशैलीबाट ओली र प्रचण्ड पछिल्लो समय खुसी छैनन् । थापालाई हटाउनको लागि प्रदेश २ को सरकार परिवर्तनको कुरा अगाडि ल्याएपछि ओली र प्रचण्डलाई सजिलो हुनेछ । उपेन्द्र यादव पनि स्वास्थ्य मन्त्रालय छाड्न चाहेका थिए । उपेन्द्रले गृहमन्त्री पदसँग प्रदेश दुईको मुख्यमन्त्री साट्न लागेको भनेर संघीय फोरमभित्र विवाद समेत भएको छ ।