×

वीरगन्ज १० पुस । नेतृत्व विवाद चुलिँदा लामो समयदेखि बस्न नसकेको राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलको बैठक आज मंगलवार अपराह्न १ बजेदेखि बोलाईएको छ ।

बबरमहल स्थित पार्टी मुख्यालय मधेश भवनमा बोलाईएको यस बैठकमा अध्यक्ष मण्डलका सबै सदस्यहरू आउने सम्भावना रहेको छ।

गत मंसिर ४ गते अध्यक्ष मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई संयोजक बनाइएपछि सुरु भएको विवाद उत्कर्षमा पुग्दा एक महिना पाँच दिन सम्म पनि अध्यक्ष मण्डलको बैठक बस्न सकेको थिएन।

चक्रीय प्रणालीअनुसार संयोजक फेर्ने व्यवस्था भएको भन्दै अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि विवाद सुरु भएको हो । अध्यक्ष मण्डलको बैठक बोलाउंदा पनि कुनै न कुनै बहानामा ठाकुर बैठक टार्न खोज्दै थिए।

ठाकुरलाई बैठकमा सहभागी गराउन अध्यक्ष मण्डलका संयोजक महतोले पनि प्रयास गरिरहेका छन । महतोले एक महिनाको बीचमा धेरैपटक बैठक बसाउने प्रयास गरे । तर ठाकुरले नमानेपछि बैठक बस्न सकेन ।

संयोजक महतोले शनिबार मात्र ठाकुर निकटका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, महासचिव जितेन्द्र सोनल, उपाध्यक्ष गोविन्द चौधरी र महासचिव विजय सिंहसँग छलफल गरेका छन् ।

तर उनीहरूले पनि ठाकुरको असन्तुष्टि के हो भन्ने विषय नभनेको बताइएको छ । उनीहरूले पार्टीमा अब मिलेर अघि बढ्नुपर्ने मात्रै बताएका थिए।

महतोले बैठकको वातावरण तयार पार्न आइतबार ठाकुरको निवासमै पुगेर भेटघाट पनि गरे । ठाकुरले मंगलवार १ बजेको समय दिएपछि मात्रै आज बैठक बसाउने गरी महतोले प्रयास गरिरहेका छन् ।

Back to top