×

अमेरिकाको सेनडियागोबाट सुरु भएको टेडको यात्रा विभिन्न देश हुँदै नेपालसम्म आइपुगेको छ । केही वर्षदेखि काठमाडौँमा बढी केन्द्रित यो कार्यक्रम वीरगञ्जमा सन् २०१६ मा पहिलो पटक भएको थियो । पहिलो संस्करणको सफलतापछि टेडएक्स् वीरगञ्ज २.० को आयोजना हुँदैछ । विगत ५ वर्षदेखि कला क्षेत्रमा काम गर्दै आएका वीरगञ्जका केही सृजनशील युवाहरूको समूह संस्कृतिको आयोजनामा हुन लागेको टेड २.० मा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूलाई वक्ताका रुपमा निम्त्याइएको छ । यही डिसेम्बर २२ तारिख अर्थात पुष ७ गते वीरगञ्जको नगर सभागृहमा हुन लागेको टेड २.० को तयारी जोडतोडले भइरहेको छ । टेड र टेडएक्स् अझै पनि धेरैका लागि जिज्ञाशाको विषय हो । वीरगञ्जमा टेडएक्स् आयोजनको उद्देश्य, आवश्यकता र महत्वलगायतका विषयमा केन्द्रित भएर आयोजक संस्था सस्कृतिका अध्यक्ष शैली चौधरी र उपाध्यक्ष आँशु सर्राफसँग गरेको कुराकानीको सम्पादित अंश:

टेड के हो ?

आँशु: टीईडी (टेड) को शाब्दिक अर्थ टेक्नोलोजी, इन्टरटेन्मेन्ट र डिजाईन हो । इतिहास हेर्ने हो भने सन् १९८४ मा अमेरिकामा पहिलोपल्ट नाफा कमाउने उद्दश्यले सुरु भएको थियो । यो एउटा छलफल कार्यक्रम हो । जहाँ विभिन्न क्षेत्रमा जानकारी र दख्खल राख्ने व्यक्तिहरूले आफूले जानेको विषयगत अनुभव, विचार, आफ्नो जीवनको यात्रा र सफलताको कथा प्रस्तुत गर्ने गर्दछन्, जस्ले विश्वभरि करोडौं मान्छेलाई प्रोत्साहन गर्ने गर्दछ । टेक्नोलोजी इन्टरटेन्मेन्ट र डिजाइनलाई मात्र केन्द्रमा राखेर आजभन्दा झन्डै ३ दशकअगाडि सुरु गरिएको कार्यक्रम आज विश्वको हरेक देशमा वर्षेनि आयोजना हुने गरेको छ । यसले आफ्नो दायरा फराकिलो पार्दै सम्भवतः विश्वका हरेक विषयमा दख्खल राख्दै आएको छ । टेडको मञ्चबाट सार्वजनिक गरिएका विषयहरूलाई सामाजिक सञ्जालको भिडियो जायन्ट युट्युबमा राखिन्थ्यो । अमेरिकाको सैन डियागो भन्ने सहरमा भएका टेड टक भिडियो टेडको अफिसियल युट्युब च्यानलबाट राख्न्थ्यिो र संसार सामु पुग्थ्यो । अहिले टेड एउटा त्यस्तो मञ्च बन्न पुग्यो जस्को भिडियोमात्र हेरेर कैयौं जानकारी प्राप्त गर्न सकिन्छ । आज स्याप्लिंग फाउन्डेसन नामक संस्थाद्वारा सञ्चालित टेड एक गैरनाफामूलक संस्था हो । जसले युट्युबमार्फत निःशुल्क ज्ञान बाड्ने काम गर्दै आएको छ ।

टेडएक्स् के हो ?

शैली: टेड सुरु भएपछि त्यहाका छलफलका सामग्रीहरूलाई टेडको अफिसियल युट्युब च्यानलमा हालिन्थ्यो । जहाँबाट ती भिडियोलाई संसारभरिका दर्शकले निःशुल्क हेर्थे । टेड अमेरिकामा मात्र हुने गरेकोले युट्युबमा त्यहाँका भिडियोमात्र पाइन्थ्यो । बिस्तारै टेड विश्वभरि रुचाइन थाल्यो । टेड मञ्चबाट विश्वमा नाम चलेका सफल व्यक्तिहरूले आफ्नो आइडिया र सफलताका कथाहरू भन्न थाले । टेड कार्यक्रम विभिन्न सहरमा गर्नुपर्ने आवाज उठ्न थाल्यो । त्यही आवाजको उपज हो टेडएक्स् । विभिन्न देशका सहरहरूमा टेड आयोजना गर्नुपर्ने आवाज उठ्न थालेपछि त्यसैको परिणाम स्वरुप टेड हेडक्वार्टरले अब विश्वको कुनै ठाउँमा टेडबाट मान्यता लिएर टेडएक्स् आयोजना गर्न सकिने समाधान निकाल्यो । एक्स् अर्थात, टेडबाट मान्यता प्राप्त स्वतन्त्रतापुर्वक आयोजना हुने टेड कार्यक्रम । टेडएक्स् आएपछि विभिन्न देशका विभिन्न सहरमा त्यहाँका सफल व्यक्तिहरुको उपस्थितिमा टेडएक्स् हुन थालेका छन् । टेक्नोलोजी, डिजाइन र ईन्टरटेन्मेन्टबाट सुरु भएको टेड अहिले यत्तिमै सिमित छैन । टेडले विज्ञान, उद्यमशिलता, प्रकृति, वातावरणलगायतका विभिन्न विधालाई समेटेको छ । समग्रमा टेड हेड्क्वार्टरबाट मान्यता लिई आफ्नै ठाउँमा आयोजना गरिने टेड कार्यक्रम टेडएक्स् हो ।

टेडएक्स्मा किन जाने ?

आँशु: जमाना आधुनिकताको छ । सम्पूर्ण विश्व अब मानिसको हत्केलामा छ । सामाजिक सञ्जालले विश्वलाई एकै ठाउँमा उभ्याइदिएको छ भन्न सकिन्छ । फेसबुक, ट्विटर, युट्युब अब सामान्यजस्ता भएका छन् । यस्ता प्लेटफर्महरूमा कुनै सूचना, जानकारी अथवा भिडियो सेयर गर्दा धेरै मानिसले एकैचोटि हेर्न सक्छन् । त्यही अभिप्राय टेडको पनि हो । सन् १९८४ देखि अहिलेसम्म विश्वको कुनै पनि कुनामा भएका टेड इभेन्ट टेडको युट्युब च्यानलमा उपलब्ध छन् । र, टेडको नियमबमोजिम मान्यता लिएर गरिएका टेड इभेन्टलार्ई युट्युबमा हाल्नै पर्छ । टेडको च्यानललाई डेढ करोडभन्दा बढीले सब्स्क्राइब गरेका छन् । यस कारण यदि यो च्यानलमा कुनै भिडियो हालियो भने डेढ करोडभन्दा बढी मानिसले एकैचोटि हेर्न सक्छन् । अब आफंै सोचौं न, यत्रो ठुलो जनसङ्ख्याले एकैचोटि हेर्ने कार्यक्रममा आफू पनि संलग्न हुँदा कति गौरवानुभूति हुन्छ होला त ? एक त युट्युबमा भएको भिडियो रेकर्ड गरिएको कार्यक्रममा आफू पनि जाने भइयो । दोस्रो, त्यहाँ सेयर गरिएका व्यक्तित्वको कथा र अइडिया पनि सुन्न पाइने भयो । तेस्रो, यदि तपाईं उर्जाशील हुनुहुन्छ र केही गर्न आतुर हुनुहुन्छ, तर सफल आइडियाको पर्खाइमा हुनुहुन्छ भने तपाईले टेड ईभेन्ट छुटाउनै हुँदैन ।

टेडएक्स् वीरगञ्ज २.० का अन्य आकर्षण पनि छन् कि ?

आँशु: यसमा आकर्षण हो हाम्रो स्पिकर लाइनअप । टेड २०१६ भन्दा निकै भिन्न र विविध क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूलाई हामीले टेडएक्स् वीरगञ्ज २.० मा वक्ताका रुपमा बोलाएका छौं । हामी १० कक्षामा पढ्दा महावीर पुनको कथा पक्कै पढेको हुनु पर्दछ । उहाँले नेपालको ग्रामिण क्षेत्रमा वायरलेस टेक्नालोजी पु¥याएको हामीलाई अहिले पनि स्मरण छ । हाम्रो टेडएक्स् वीरगञ्ज २.० को ५ स्पिकरमध्ये एकजना उहाँ पनि हुनुहुन्छ । अर्का स्पिकर समाजिक चिन्तक सिके लाल हुनुहुन्छ । सामाजिक विषयमा रुची राख्ने व्यक्तिले विभिन्न पत्रपत्रिकामा आउने उहाँको लेख पक्कै पढेको हुनु पर्दछ । हाम्रो आफ्नै जिल्लाकी महिला नेतृ सल्मा खातुन, एउटा मुस्लिम परिवारबाट पत्रकारिता क्षेत्रमा १० वर्ष काम गरेर अहिले पर्साकै पोखरिया नगरपालिकामा उपप्रमुखको पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई वक्तको रुपमा ल्याउने छौं । उहाँ महिला सशक्तिकरणको ज्वलन्त उदाहरणको रुपमा हुनुहुन्छ । अर्का वक्ता वीरगञ्जमै हुर्केबढेका वैज्ञानिक विक्रम उपाध्याय रहनुभएको छ । उहाँ बम्हाण्डको सृजना कसरी भयो भन्ने विषयमा ‘एटलस प्रोजेक्ट’ नामक सोधमार्फत अध्ययन गरिरहेको वैज्ञानिक संस्था सर्नमा ४ वर्ष वैज्ञानिकका रुपमा काम गरिसकेका व्यक्ति हुनुहुन्छ । त्यस्तै रुकसाना कपाली, कपाली एक ट्रान्सगेंडर केटी हो । उहाँ तेश्रो लिङ्गी भएर कसरी जीवन बिताइरनुभएको छ । पुरुषबाट ट्रान्सगेंडर केटी बन्ने यात्राको उहाँको कथा सुन्न सकिन्छ । उहाँको कुरामार्फत तेश्रो लिंगी व्यक्तिहरूप्रतिको भ्रमलाई तोड्ने हाम्रो प्रयास रहने छ ।

टेडएक्स् वीरगञ्जमा किन हुँदैछ ?

शैली: टेडएक्स्ले विश्वको कुनैै पनि कुनामा टेडएक्स् गर्न मान्यता दिनुपछाडि एकमात्र कारण छ । त्यो त्यहाँको लोकल आइडियाकोे प्रोत्साहन हो । वीरगञ्ज प्रतिभाको महासागर हो । यहाँका हरेक युवामा केही न केही विशेष क्षमता छ । टेडएक्स् वीरगञ्जले यहाँ भएका युवालाई सही पथमा हिँड्न मद्दत पुगोस् भन्ने अठोट गरेको छ । साथै, विगतमा भएको आन्दोलन, नाकाबन्दी र अन्य कैयौं कारणले नेपालभरि वीरगञ्जलाई गलत दृष्टिकोणले हेरिन्छ । कहिले काहिँं त बन्द र हड्तालको मात्र सहर हो वीरगञ्जसमेत भनेको सुनेका छौं । त्यसैले हामी सबैले मिलेर टेडजस्तो कार्यक्रम आयोजना गर्नु पर्छ र वीरगञ्जमा पनि अन्तराष्ट्रियस्तरका कार्यक्रम आयोजना हुन्छन्, यहाँका युवा पनि सृजनशील छन्, काम गर्न इच्छुक छन् भन्ने सन्देश सबैमा पु¥याउन टेडएक्स् वीरगञ्ज आयोजना गरेका हौं । त्यसमाथि यो वीरगञ्जमा हुने अन्य कार्यक्रमभन्दा एकदमै भिन्न हुन्छ ।

टेडएक्स् वीरगञ्जमा हुने अन्य कार्यक्रमभन्दा भिन्न कसरी छ ?

आँशु: भिन्नता धेरै प्रकारले छ, सर्वप्रथम त यो एउटा विश्वस्तरमै धेरै ख्यातिप्राप्त कार्यक्रममध्ये एक हो । यस्ता कार्यक्रम वीरगञ्जमा विरलै हुने गर्दछन् । दोश्रो, यो कुनै मोटिभेसनल कार्यक्रम हैन, जहाँ वक्ताले आएर शब्दमार्फत उपस्थितलाई मोटिभेट गर्ने प्रयास गर्दछ । यो आइडिया सेयरिङको प्लेटफर्म हो । यहाँ आउने वक्ताले आइडिया आदानप्रदान गर्ने गर्दछन । टेडको त मुख्य ट्यागलाईन नै ‘आइडियाज वर्थ स्प्रेडिंग’ हो अर्थात बाड्न सकिने अइडियाहरू । तसर्थ, यहाँ आउने व्यक्तिले केही न केही आइडिया लिएर अथवा सिकेर नै जान्छ । हाम्रो संस्थाको पनि एउटा मान्यता के हो भने शब्दभन्दा पनि कार्यले धेरै मोटिभेशन दिन सक्छ । त्यसैले टेड मञ्चबाट पनि हामीले कार्य गरेका व्यक्तिलाई नै बोलाएका छौं ।

टेडएक्स् कार्यक्रम त धेरै ठूलो छ । खर्च पनि निकै लाग्ने होला, त्यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

शैली: सर्वप्रथम त टेड धेरै ठूलो खर्च लाग्ने कार्यक्रम होइन । यसका नियमको अधिनमा रहेरमात्र हामीले कार्यक्रम आयोजना गर्न मिल्दछ । धेरै अनावश्यक खर्च गरे टेडले आयोजकहरूमाथि कारवाहीसमेत गर्ने अधिकार राख्दछ । त्यसैले टेडएक्स् वीरगञ्ज एकदम थोरै खर्चमा आयोजना हुने कार्यक्रम हो । मुख्यतः हामीले कार्यक्रमको टीकट बेचेर केही पैसा सङ्कलन गरेका छौं । त्यसपश्चात विभिन्न सङ्घसंस्था, उद्यमी र व्यवसायीसंग सहयोग लिएका छौं । कार्यक्रम समापनपश्चात हामीले खर्चको विवरणसमेत प्रस्तुत गर्ने योजना बनाएका छौं ।

आगामी योजनाहरू केके छन ?

शैली: यो कलाका क्षेत्रमा काम गर्ने एक गैरनाफामूलक संस्था हो । जसलाई कुनै दातृ निकायको सहयोग प्राप्त छैन । हामीले गर्ने कार्यक्रमहरू यस्तै विभिन्न व्यक्ति र सङ्घसंस्थाबाट सहयोग उठाएर गर्दछौं । सन् २०१९ मा पनि टेडएक्स् वीरगञ्ज आयोजना गर्ने योजना छ । हरेक वर्षजस्तै आउने दिनहरूमा हामीले विभिन्न तालिमको आयोजना गर्ने योजना बनाएका छौं । जस्तै फोटोग्राफी, आर्ट, नृत्य र सङ्गीतका कार्यशालाहरू आयोजना गर्ने योजना छ । यसैवर्ष वीरगञ्जका विभिन्न स्थानमा जनचेतनामूलक आर्ट बनाउने योजना छ ।

Back to top