×

बितेको हप्ता नेपालका केही चर्चित धार्मिकस्थलहरुमा पुग्ने अवसर मिल्यो । नेपालका धार्मिक स्थलहरु केवल धार्मिक दृष्टिले मात्र महत्व राख्दैनन्, अधिकांश यस्ता स्थानहरुको पर्यटकीय महत्व पनि उत्तिनै छ । हाम्रा धार्मिकस्थलहरु केवल धार्मिक धरोहरमात्र होइनन्, यस्ता स्थान र आसपासका क्षेत्रका कैयन प्राकृतिक र सास्ंकृतिक सुन्दरताले भरिपूर्ण रमणीय स्थलहरु भएकाले पर्यटकहरुको भीड लाग्ने गरेको छ । यसकारण पनि हामीकहाँ पर्यटनका अनेक आयामहरु छन् । धार्मिक, प्राकृतिक, सास्कृतिकलगायतका पक्षले हाम्रो पर्यटन र पर्यटकीय सम्भाव्यतालाई उँचो बनाइरहेको छ । यो आलेखमा धार्मिकस्थलसँग जोडिएको पर्यटकीय सम्भावना र अन्तर्यमा लुकेका केही समस्याहरुलाई केलाउने जमर्को गरिएको छ ।

गत साता गोरखाको मनकामना मन्दिर जाने मौका जुरेको थियो । त्यो पारिवारिक तिर्थाटनमा मेरो अनुभव आलेखको विषयका निम्ति पर्याप्त बन्न पुग्यो । मनकामना एक महत्वपूर्ण शक्तिपिठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवतीको रुपमा मनकामना नाम रहन गएको विश्वास छ । मानिसले भाकल अनुसार मनको कामना पूरा भएपछि दर्शनका लागि मन्दिरमा पूग्ने गर्छन । यो धार्मिकस्थलमा आवागमन सहज भएसँगै विदाको समय सदुपयोग गर्दै घुमफिरका लागि जाने स्थल पनि बनेको छ । यहाँ दशंैमा पूजा गर्न आउने भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ ।

मनकामना दर्शनका लागि पुग्नेका लागि केबुलकार सञ्चालन हुनुअघिसम्म यो मन्दिरमा पूग्न केही असहज थियो । दर्शन गर्न जानेहरु पैदल हिँडेर जानु पर्ने अवस्था थियो । मनकामना केवुल कार प्रालिले यो सेवा सञ्चालनमा ल्याएपछि भक्तजनलाई सहजमात्र भएको छैन । अपांग, असहाय र वृद्धवृद्धालाई पनि यो धार्मिकस्थलमा पुग्न तुलनात्मक सहज भएको छ । केबुलकार सञ्चालन भएको स्थलको व्यवस्थापन, सरसफाई, सवारीका साधनको पार्किङदेखि सबै कुराहरु अति व्यवस्थित तुल्याइएको छ । असक्तहरुका लागि केबलकारमा चढ्नका लागि लाइनमा बस्नुनपर्ने गरी प्रबन्ध मिलाइनु सकारात्मक छ । मन्दिर परिसरमा लामो लाइनमा उभिन नसक्ने शारिरीक अवस्थाका मानिसहरुका लागि बेग्लै स्थानबाट दर्शनको व्यवस्था मिलाइएको छ । यसले यस्ता मानिसहरुलाई सहज दर्शनको सुविधा उपलब्ध भएको छ । यो व्यवस्थानको प्रशंशनीय पाटो हो ।

दर्शनार्थीको सहजताका लागि यति व्यवस्थान भएर पनि केही सानातिना कुराहरुको अपूर्णताले गर्दा अझै पनि वृद्धवृद्धा र शारिरीकरुपमा असक्तहरुलाई समस्या हुने गरेको छ । मन्दिरस्थलनिर केबुल कारबाट ओर्लिइसकेपछि मन्दिरसम्म पुग्न समस्या हुने गरेको छ । सवलांग र युवाहरु सहजै जान सके पनि उकालो बाटोमा राखिएका सिँढीहरु पार गरेर मन्दिरसम्म पुग्नु वृद्धवृद्धा, असक्त र अपांगहरुलाई निकै कठिन हुने गरेको छ । मन्दिरस्थलसम्म पुग्न बनाइएका सिँढी पनि इट्टाबाट बनाइएका र मर्मत नभएको हुनाले असजिलो छन् । त्यसलाई कंक्रिटयुक्त बनाएर बेलाबेलामा मर्मत गर्न सकेको खण्डमा केही सहज हुन सक्छ । र, शरिरीकरुपमा कमजोरहरुलाई आवतवजावतमा सहज होओस् भन्नका लागि सिँढीको बीचमा रेलिङ लगाउने हो भने त्यसमा समातेर आउजाउ गर्न सजिलो हुने थियो । भन्दा सामान्यजस्तो कुरा लागे पनि जो मानिस शारीरिक रुपमा असक्त छन्, उनीहरुका निम्ति यो महत्वपूर्ण कुरा हो ।

मनकामनामात्र होइन, हालै सञ्चालनमा आएको चन्द्रागिरीमा समेत असक्तहरुको असुविधालाई ध्यानमा राखेर यस्ता कुनै संरचना निर्माण गरिएको छैन । अहिले सार्वजनिक क्षेत्रका संरचनाहरु आपांग र असक्तमैत्री बनाउने अभ्यास विस्तार भइरहेको छ । भवनदेखि सडकसम्मको निर्माणमा यस्तो आवश्यकतालाई महसुसमात्र गरिएको छैन, संरचनाहरुलाई यो मापदण्डअनुसार निर्माण गर्ने अभियान नै चलाइएको छ । यो सकारात्मक छ, यसले निरन्तरता पाउनु पर्दछ । यसअर्थमा पनि नेपालमा पर्यटकीयस्थल, त्यसमा पनि धार्मिक पर्यटकीयका गन्तब्यहरुमा यो आवश्यकतालाई बढी ध्यानमा राखिनु पर्दछ । आस्था र स्वभावैले धार्मिकस्थलहरुमा बृद्धबृद्धा र असक्तहरुको आउजाउ बढी हुने गर्दछ ।

कतिपय तिर्थस्थलमा असक्तहरुका लागि भरियाको व्यवस्था मिलाइएको हुन्छ । भारतको गया, केदारनाथ, वैष्णोदेवीलगायतका तिर्थस्थलमा हिड्न असमर्थका लागि बोक्ने प्रबन्ध मिलाइएको देखिन्छ । त्यहाँ भरिया पेशामा कतिले रोजगारी चलाएका छन् । अझ त्यस्ता स्थानमा नेपालीहरु नै गएर काम गरेको पनि भेटिन्छ । हाम्रा तिर्थस्थलहरुमा यस्तो कुनै प्रबन्ध हुन सकेको छैन । यदि हुने हो भने यो तिर्थयात्रीको लागि सहजतासँगै रोजगारीको एउटा अवसर पनि हुन सक्छ । नेपालमा आउने धार्मिक पर्यटक अधिकांश भारतबाट आउने गरेका छन् । नेपाल र भारतको धर्म, भाषा र संस्कृतिसमेत मिल्दोजुल्दो हुनुका कारण यहाँ धार्मिक पर्यटनको सम्भाव्यता अघिक छ । तर, यस्तो सम्भावनालाई उपयोगका लागि आवश्यकीय पूर्वाधारहरुको भने अभाव खट्किएको छ । त्यसमा पनि तिर्थ स्थलहरुमा अपांग र असक्तमैत्री पूर्वाधारको निर्माण अपरिहार्य छ ।

Back to top