×

वीरगंज, २८ मंसिर । प्रदेश सरकारले प्रादेशिक रंगशाला जनकपुरमा निर्माण गरिने निर्णयको वीरगन्जका राजनीतिककर्मी र खेलकुदका पदाधिकारीले विरोध गरेका छन् ।

दशरथ रंगशालापछि मुलुककै दोस्रो ठूलो रंगशाला वीरगन्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला घोषणा गर्नुपर्ने उनीहरूको जोड छ । १८ बिघा क्षेत्रफल भएको नारायण्ी रंगशालाको १५ हजार दर्शक क्षमता छ ।

मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराले गत असोज २५ गतेको प्रदेश मन्त्रीपरिषदले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित लक्ष्मण मन्दिर गुठीको गुठी तैनाथी जग्गामा प्रादेशिक रंगशाला निर्माण गर्ने निर्णय गरेको जानकारी दिएपछि वीरगंजमा बबाल खडा भएको छ ।

राजपा महासचिव राजेशमान सिंहले स्थानीय होटल कुमु प्यालेसमा बिहिबार सर्वपक्षिय भेला बोलाएका थिए । सो भेलामा उपस्थित नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, संघीय समाजवादी फोरमको केन्द्रिय सदस्य शशीकपुर मियाँ, संघीय समाजवादी फोरम पर्साका कार्यवाहक अध्यक्ष सुन्दर प्रसाद कुर्मी लगायत थुप्रै युवाहरुको उपस्थिती रहेको थियो ।

सो बैठकले मुख्यमन्त्री लालबाबु राउतको यस कदमको विरोध गरेका थिए । आन्दोलन गर्ने वीरगंज दु:ख पाउने वीरगंजीयाहरु र हरेक दृष्टिकोणले फाइदा लिने पूर्वाहाहरु भनेर चर्को विरोध बैठकमा भएको थियो । बैठकमा मुख्यमन्त्री लालबाबु राउतलाई वीरगंजमा प्रवेश निषेधसम्मको कुरा सहभागिहरुले उठाएका थिए । नारायणी रंगशालालाई वर्तमान प्रदेश सरकारले उपेक्षा गरेर हिडेको खण्डमा कडा आन्दोलन गर्ने सम्मको छलफल भएको र आगामी बैठकले यस सन्दर्भमा निर्णय लिने सहमति भएको थियो ।

यस सन्दर्भमा मुख्यमन्त्री राउतले आफु वीरगंजप्रति पूर्वाग्रही नभएको र नारायणी रंगशालाको लागि १ करोड रुपैया छुट्याएको बताउनु भयो । संघीय सरकारको बजेट उसको नीति, उसको कार्यक्रम यो प्रदेशको कसरी भयो भनी प्रतिक्रिया दिंदै यो संघीय सरकारको काम भएकोले यसमा आफ्नो भूमिका गौण भएको बताउनु भयो ।

Back to top