×

वीरगञ्ज २८ मसिर । केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टमा ठूलो लगानी भित्रिएसँगै भाउ घट्न थालेको हो । उत्पादकबीच तीव्र प्रतिस्पर्धा र बजार विस्तार अपेक्षित हुन नसक्दा दिनहुँ मूल्य घटाउनु परेको उद्योगीले बताएका छन् ।

अघिल्लो वर्ष क्लिङ्कर आपूर्तिमा अवरोध भएका बेला बढेको सिमेन्टको भाउ अहिले ओरालो लागेको हो । प्रतिबोरा सिमेन्टको मूल्य १ सय ५० रुपैयाँसम्म घटेको बताइएको छ । अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)को कारखाना मूल्य प्रतिबोरा ८ सय ५० रुपैयाँसम्ममा झरेको उद्योगीले बताए ।

एक वर्षअघिसम्म ओपीसीको दाम बोराको ९ सय ५० रुपैयाँसम्म पुगेको थियो । सन् २०१७ डिसेम्बर २२ देखि वीरगञ्ज नाकाबाट क्लिङ्कर आयात अवरुद्ध छ । भारतीय रेलवेको रक्सौल यार्डबाट क्लिङ्कर लोडअनलोडमा प्रतिबन्ध अझै खुलेको छै्रन ।

पोर्टल्याण्ड पोजोलना सिमेन्ट (पीपीसी) को मूल्य बोरामा १ सय १० रुपैयाँसम्म झरेको उद्योगी बताउँछन् । अहिले उद्योगले ६ सय ९० देखि ७ सय २० रुपैयाँसम्ममा पीपीसी सिमेन्ट बेचिरहेका छन् । ६ महीनाअघिसम्म यो सिमेन्टको भाउ बोराका ८ सय रुपैयाँ थियो । रक्सौलमा क्लिङ्कर लोडअनलोड रोकिएपछि बारा–पर्साका ग्राण्डिङमा आधारित सिमेन्ट उद्योग बढी प्रभावित भएका थिए । कच्चा पदार्थको ढुवानी लागत बढी परेपछि सिमेन्टको मूल्य बढाएका थिए । त्यसताका आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योगलेसमेत मूल्य वृद्धि गरेका थिए ।

श्री सिमेन्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवाल चर्को प्रतिस्पर्धाका कारण मूल्य निरन्तर ओरालो लागेको बताउँछन् । ‘पछिल्लो समय सिमेन्टमा ठूलो परिमाणमा लगानी त आयो, तर बजार विस्तार अपेक्षित हुन सकेको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका अग्रवालले भने, ‘उद्योगहरू लागत मूल्यभन्दा पनि कम दाममा सिमेन्ट बेच्न बाध्य छन् ।’

बितेको ६ महीनायता सिमेन्टको मूल्य घटेको हो । इण्टरनेशनल सिमेन्ट्सका सञ्चालक सन्दीप अग्रवाल उत्पादनमा नयाँ उद्योगको आगमन र प्रतिस्पर्धाले मूल्य घटेको बताउँछन् । ‘दैनिकजसो मूल्य घटाउनु परेको छ । नयाँ उद्योग थपिनु र पूरानाले उत्पादन क्षमता बढाउनु प्रतिस्पर्धाको मुख्य कारण हो,’ अग्रवालले आर्थिक अभियानसित भने ।

चिनियाँ मुख्य लगानीमा खुलेको होङ्शी शिवम् सिमेन्ट ठूलो उत्पादन क्षमतासहित नेपाली बजारमा भित्रिएको नयाँ उद्योग हो । नवलपरासीमा खुलेको यो उद्योगले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्छ । रिद्धीसिद्धी, बालाजी, सौर्य, बन्धनलगायतका उद्योग हालै सञ्चालनमा आएका नयाँ उद्योग हुन् । पूराना उद्योगलेसमेत प्रविधि र उत्पादन क्षमता बढाएका छन् । अहिले स्वदेशी बजारमा करीब ६ दर्जन उद्योगबीच प्रतिस्पर्धा छ ।

सिमेन्टको मूल्य घट्नेक्रम नरोकिएकाले भाउ अझै तल झर्ने उद्योगी बताउँछन् । राजनीतिक स्थिरतासँगै विकास निर्माणका कामले गति समात्ने र बजार विस्तार हुने अपेक्षामा लगानी र क्षमता बढाएका उद्योगी अहिले दाम घटाउन प्रतिस्पर्धा गरिरहेका छन् । यसबाट उपभोक्ता भने लाभान्वित भएका छन् ।

नयाँ उद्योग र उत्पादन बढे पनि सरकारले पूँजीगत खर्च गर्न नसक्दा सिमेन्टको बजार झन खुम्चिएको उपाध्यक्ष अग्रवालले बताए । ‘मूल्य घटाएर पनि सिमेन्ट बिक्री भइरहेको छैन । माग नै नभएपछि दाम जति कम भए पनि कसले लैजान्छ र ?,’ अग्रवालले प्रतिप्रश्न गरे ।

नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले प्रतिस्पर्धाका कारण मूल्य घटेको बताए । सिमेन्टको माग नै घटेको पनि ठाकुरको भनाइ छ । ‘वित्तीय क्षेत्रमा तरलता अभावको प्रभावले पनि माग घटेको हो । एकातिर उत्पादन बढ्यो, त्यहीबेला माग सृजना नै नभएपछि मूल्य त घट्ने नै भयो,’ उनले भने ।

बारा–पर्साका उद्योगको बेग्लै पीडा :-

सिमेन्टको मूल्य निरन्तर घटिराख्दा बारा र पर्साका सिमेन्ट उद्योग भने दोहोरो सकस झेल्न बाध्य छन् । आन्तरिक बजारमा बढ्दो प्रतिस्पर्धाका कारण मूल्य घटाइरहेका उद्योग कच्चा पदार्थको आपूर्तिमा बेग्लै पीडा खेपिरहेका छन् ।

गत वर्ष डिसेम्बरदेखि भारतीय रेलवेको रक्सौल यार्डमा क्लिङ्कर लोडअनलोड रोकिएपछि यहाँका उद्योगले १ सय २५ किलोमीटर टाढाको नारायणपुरबाट ढुवानी गरिरहेका छन् । यसबाट उत्पादन लागत बढी परेको उद्योगी आग्रवाल बताउँछन् ।

बारा–पर्सा कोरिडोरमा १३ ओटा उद्योग आयातित कच्चा पदार्थको भरमा चलेका छन् । यहाँका उद्योगको लागत बढी परेपछि वीरगञ्ज क्षेत्रमै पश्चिम नेपालका उद्योगले बजार जमाएको उद्योगी बताउँछन् । वीरगञ्जका उद्योगको उत्पादन विक्री हुने पूर्वी नेपालमा समेत पश्चिमको सिमेन्ट पुगिरहेको उद्यमीको भनाइ छ ।

Back to top