×

चिरन्जीवी यादव ,वीरगन्ज १८ मंसिर । पर्साको वीरगन्ज पोखरीयामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । वीरगन्जबाट करिब २० किलोमिटर पश्चिम वीरगन्ज पोखरीया सडकखण्ड अन्तरगत बैरियामा म्याजिक भ्यानको ठक्करबाट मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।

ना १ ज ८०२४ नम्बरको म्याजिक भ्यानले विपरित दिशातर्फबाट आइरहेको ना १२ प ५३९७ नम्बरको मोटरसाइकललाई पोखरीया नगरपालिका वडा नम्बर ९ बैरिया चोकमा ठक्कर दिदा मोटरसाईकल चालक बैरियाकै १८ वर्षिय रामपुकार मुखियाको घटना स्थलमै ज्यान गएको प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र बहादुृर केसीले बताए ।

भ्यानका चालक गाडी छोडेर फरार रहेका छन् र उनको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक केसीले बताए । प्रहरी निरिक्षक केसीका अनुसार बिहान करिब ७ बजे घटना भएको हो । म्याजिक भ्यान वीरगन्जबाट प्यासेन्जर लिएर पोखरीया तर्फ गईरहेको रहेको थियो भने बैरियाबाट मोटरसाईकलमा सवार मुखिया वीरगन्ज तर्फ आईरहेको अवस्थामा म्याजिकले ठक्कर दिएको थियो ।

शवलाई अहिले बैरिया चोकमा राखेर स्थानीयले प्रर्दशन गरिरहेका छन् । घटनामा संलग्न चालकलाई यथाशिघ्र पक्राउ गरी कार्बाहीको माग र मृतकलाई क्षतिपुर्तिको माग राख्दै बिहानदेखि स्थानीयबासी वीरगन्ज पोखरीया सडक अवरोध गरेका छन् ।

स्थानियको अवरोधका कारण बिहानदेखि वीरगन्ज पोखरीया सडकको यातायात पूर्णरुपले ठप्प रहेको छ ।

Back to top