×

वीरगन्ज १७ मंसिर । ४ महीनाअघिसम्म खाल्डाखुल्डी कच्चीबाटोमा धुलोले पुरिएर यात्रा गर्नुपर्ने पर्साका बासिन्दाको बाध्यतालाई जनता सडकले मुक्ति दिएको छ । पर्सा जिल्लाको ग्रामीण भेगलाई त्रिभुवनराजपथसँग जोड्ने जनता सडक सञ्चालनमा आएपछि स्थानीयको दैनिकी नै फेरिएको हो ।

बाराको जितपुरदेखि पर्साको रङ्पुरटाँडीसम्म पौने ६ मीटर फराकिलो १७ किमी सडक गत असारमा सञ्चालनमा आएको हो । अहिले जिल्ला पूर्वाधार विकास कार्यालयअन्तर्गत सो सडक योजनाका प्रमुख दीपक मिश्र बाटो कच्ची हुँदा एउटा पनि तीन पाङ्ग्रे टेम्पु नदेखिनेमा अहिले दिनहुँ ३ सयभन्दा बढी यस्ता साधन गुडिरहेको बताउँछन् । सडकमा ठूला सवारी र ढुवानीका साधानको आउजाउ पनि उत्तिकै छ ।

जनता सडकले स्थानीयबासिन्दाको दिनचर्यालाई सहज बनाइदिएको छ । ‘यो सडकले स्थानीय बासिन्दाको समय बचत भएको छ,’ प्रुमख मिश्रले आर्थिक अभियानसित भने, ‘आवतजावतमा सवारीको असुविधाको समस्यालाई समाधान गरिदिएको छ ।’

घण्टौसम्म बस कुरेर बस्नु पर्ने बाध्यता खेप्दै आएका पर्साका बासिन्दा अहिले आफ्नो दैलोसम्म तीन पाङ्ग्रे टेम्पु लिएर सजिलै आउन र जान सक्ने भएका छन् । जनता सडकबाट बाराको जितपुरसिमरा उपमहानगर, वीरगञ्ज महानगर, पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौलीलगायका क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

ती क्षेत्रका बासिन्दाका लागि सहज आवागनको माध्यम बनेको स्थानीय बताउँछन् । बडनिहारका स्थानीयबासिन्दा रामप्रसाद चौहानले ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको अन्न र तरकारी बजारसम्म पु¥याउन सहज भएको बताए । ‘यसअघिसम्म परम्परागत खेतीमा अल्झिएका किसान सडकले ढुवानी सहज भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ उनले भने । उत्पादनलाई समयमै सहजरुपमा बजारमा पु¥याउन सकिने भएपछि किसानले तरकारी खेतीमा जोड दिन थालेका हुन् ।

पर्साका ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने योजनाअन्तर्गत १५ करोड रूपैयाँको लागतमा सडक निर्माण भएको हो । सडक निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । गत असारमै निर्माणको अधिकांश काम सकिएको निर्माण कम्पनीका योजना प्रबन्धक इनरदेव साहले बताए । सडक किनारमा मार्किङको काम समेत पूरा भइसकेको साहले बताए ।

योजना प्रमुख दीपक मिश्रले १७ किलोमीटरमध्ये केही सडक मर्मत गरिनुपर्ने बताए । ‘जितपुरदेखि टेडासम्मको २ किलोमीटर जति सडक मर्मत गर्नुपर्ने देखिएको छ । मर्मत पूरा भएपछि हस्तान्तरण हुन्छ,’ उनले भने । मर्मत सुधार अवधिभित्र मर्मत गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।

सरकारले साविक जिल्ला विकास समिति मातहतमा रहेको जिल्ला प्राविधिक कार्यालय खारेज गरेकाले पनि विगतमा केही अलमल भएको बताइएको छ । प्राविधिक कार्यालयको सट्टा जिल्ला पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।

Back to top