×

वीरगन्ज १७ मंसिर । नेपालमा बढ्दो वैदेशिक व्यापारलाई लक्षित गरी यश टर्मिनल एण्ड लजिष्टिक कम्पनी (नेपाल) ले व्यसाय शुरु गरेको छ । भारत र तथा तेस्रो मुलुकबाट हुने सबैखालको ढुवानी सेवा प्रदान गर्ने लक्ष्यका साथ व्यवसाय थालिएको कम्पनीका सञ्चालक अशोक टेमानीले बताए ।

तेस्रो मुलुकबाट हुने आयातमा सिपिङ कम्पनी छनोटदेखि गन्तव्यस्थलसम्मकै ढुवानीको प्याकेज उपलब्ध गराइने कम्पनीले बताएको छ । यसबाट आयातकर्ताले भोग्दै आएको ढिलाई र अनपेक्षित जरीवानाको भारबाट मुक्ति पाउने दाबी टेमानीले गरे । ‘आयातकर्तालाई चाहिएको गन्तव्यसम्मै सहजरुपमा ढुवानी दिने भएपछि अनावश्यक जरीवाना र ढिलाईको भार स्वतः हटेर जान्छ,’ उनले भने ।

कण्टेनरमा ढुवानी गर्न नसकिने प्रोजेक्ट कार्गो ढुवानीको व्यवस्थासमेत मिलाएको कम्पनीले बताएको छ । आयात र निर्यात दुवैतर्फ सहजरुपमा सेवा प्रदान गर्ने यो वीरगञ्जकै पहिलो कम्पनी भएको दाबी टेमानीको छ ।

कम्पनीले भारतीय समुद्री बन्दरगाह र नेपालका नाकामा भन्सार क्लियरेन्सको सेवा पनि प्रदान गरिरहेको छ । टेमानीले ती निकायमा आवश्यकीय कागजी प्रक्रियाको जिम्मेवारीसमेत लिने बताए ।

अहिले समुद्री, रेल र सडकमार्गबाट ढुवानी सेवा प्रदान गरिरहेको कम्पनीले निकट भविष्यमा हवाईमार्गबाट पनि सेवा दिने योजना राखेको टेमानीले बताए । बन्दरगाह व्यवस्थापनलाई समेत उद्देश्यमा राखेको यो कम्पनीले आयात तथा निर्यातकर्तालाई तुलनात्मक सस्तो दरमा सेवा उपलब्ध गराउन सक्ने जानकारी दिएको छ ।

Back to top