×

वीरगन्ज १५ मंसिर । महानायक राजेश हमाल हेलिकोप्टरबाट उत्रेर हिरो शैलीमा भन्छन्, ‘भनेर होइन, बनेर नम्बर वान । ’जगदम्बा स्टिल उद्योगको विज्ञापनमा खेल्दै हमालले जगदम्बा उद्योग देशकै ठूलो उद्योग भएको पनि बताएका छन् । हुन पनि हो, बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योग देशकै ठूलो स्टिल उद्योग हो । मुख्यतः संरचना निर्माणका लागि अत्यावश्यक फलामे छडदेखि तार र किलासम्म यो उद्योगले उत्पादन गर्ने गरेको छ ।

अझ जगदम्बा स्टिलले आफ्नो छडको विज्ञापनमा ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन र प्रचारप्रसार समेत गरेको छ ।मेरुदण्डको सामान्य अर्थ मूल हड्डी अर्थात् सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो भन्ने बुझाउँछ । तर जसरी जगदम्बा स्टिलले ‘देशको मेरुदण्ड’ भन्दै प्रचारप्रसार गरेको छ, के जगदम्बाको फलामे छड वा रड मेरुदण्डजस्तै बलियो छ त ? के जगदम्बाले उत्पादन गर्ने फलामे डन्डी मापदण्डअनुसार उच्च गुणस्तरकै छ त ? के कवाडी अर्थात् थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेड अर्थात् पहिलो श्रेणीको फलाम जत्तिकै बलियो हुन्छ त ? आखिर थोत्रा फलाम पगालेर बनेको छड कसरी देशको मेरुदण्ड बन्न सक्छ त ? यही प्रश्नहरूको उत्तर खोज्न रातोपाटीले काठमाडौंदेखि बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको फ्याक्ट्रीसम्म पुगेर स्थलगत रिपोर्ट तयार पारेको छ । अघिल्लो पटक हामीले काठमाडौँलगायत देशका सहरबाट उठाइने थोत्रा फलाम कसरी छड उद्योगमा पुग्छ भन्ने जानकारी पाठकसामु प्रस्तुत गरिसकेका छौँ ।

कवाडी फलामबाट बनेको छडले बलियो होला घर ?

कवाडी कथा बुझ्नका लागि हामीले काठमाडौंबाट थोत्रा फलाम अर्थात् कवाडी बोकेर गएको एउटा ट्रकको सहचालक बनेर हामी सिमरामा रहेको जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र प्रवेश गरेका थियौं । त्यहाँ पत्रकार बनेर वा क्यामेरा लिएर वा सामान्य व्यक्ति बनेर जगदम्बाको फ्याक्ट्रीमा प्रवेश गर्न सम्भव नै छैन । फ्याक्ट्रीभित्र हामीले देख्यौंः देशको मेरुदण्ड भनेर प्रचार गरिएको र उच्च गुणस्तरको दाबी गरिएको जगदम्बाको फलामे डन्डी अर्थात् छड बनाउन त थोत्रा फलाम अर्थात् कवाडी फलाम पगालेर बनाइएको कच्चा पदार्थ चाहिँ अत्यधिक मात्रामा प्रयोग हुँदो रहेछ । केही मात्रामा भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट उच्च गुणस्तरको छड बनाए पनि सस्तो मूल्यमा बजारमा बिक्री वितरण गरिएको जगदम्बाको छड बनाउन त अधिकांश कवाडी फलामहरुको पो प्रयोग हुँदो रहेछ । तस्बिरमा देख्नुभएको यो दृश्य जगदम्बा स्टिलको उद्योगभित्रको दृश्य हो । जगदम्बा स्टिलको उद्योगभित्र यस्ता धेरै कवाडी अर्थात् थोत्रा फलामको स्टोर देख्न सक्नुहुनेछ । देशका विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएका थोत्रा फलामहरू पगाल्नका लागि यहाँ यसरी राखिएको हो । विभिन्न प्रकार र प्रकृतिका यी थोत्रा फलामलाई अत्यधिक तापक्रममा पगालेर जगदम्बाले फलामे डन्डी अर्थात् छड बनाउने गरेको रहेछ ।

जगदम्बाको फ्याक्ट्रीभित्र मोबाइलबाट तस्बिर लिनसमेत निषेध गरिएको छ । अझ मुख्यतः कवाडी अर्थात् थोत्रा फलाम राख्ने स्थान, त्यो पगाल्ने स्थानमा मोबाइल चलाउन नै प्रतिबन्ध लगाइएको छ । त्यसकारण हामीले स्पाई क्यामेरा (गोप्य क्यामेरा) प्रयोग गरेर थोत्रा फलाम पगालेर जगदम्बाले कसरी फलामे छड बनाउँछ भनेर त्यसको तस्बिर र भिडियो लिएका छौँ ।

यसरी बनाइन्छ थोत्रा फलामबाट फलामे छड

मुख्य मुख्य सहरबाट कवाडी सङ्कलन केन्द्रले निश्चित रकम दिएर थोत्रा फलामका टुक्राहरू किनेका हुन्छन् । यस्तो कवाडी किन्दा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने भएका फलाम वा फलामको कराईसम्म लिएका हुन्छन् । यी फलामका टुक्राहरू सङ्कलनकर्ताहरू व्यक्तिका घरघरमा पुगेर सङ्कलन गर्छन् । व्यक्तिका घर घरबाट सङ्कलन गरिएको उक्त कवाडी अर्थात् फलामको टुक्रा सङ्कलन केन्द्रले एजेन्टमार्फत् विभिन्न छड उत्पादक कम्पनीहरूलाई बिक्री वितरण गर्छन् । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर यस्ता फ्याक्ट्रीमा लगिन्छ । यो दृश्य यस्तै सहरबाट ल्याएर जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र राखिएको दृश्य हो । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान देख्न पाइन्छ । थोत्रा फलामका यी टुक्रालाई पहिले भाँचेर सानो बनाइन्छ । यसका लागि जगदम्बाले विद्युत्बाट चल्ने क्रेनको प्रयोग गर्ने गरेको छ । थोत्रा फलामका सामानहरूलाई भाँचेर सानो बनाइसकेपछि फ्याक्ट्रीको भट्टीतर्फ लगिन्छ । जगदम्बाले थोत्रा फलाम पगाल्नका लागि ४ वटाभन्दा बढी भट्टी बनाएको छ । यिनै भट्टीमा यी थोत्रा सामान राखेर जगदम्बाले पगाल्ने गरेको छ । विद्युत्बाट सञ्चालन हुने यस्तो भट्टीको तापक्रम ४ हजार डिग्री सेन्टिग्रेटभन्दा बढी हुन्छ । यही भट्टीमा फलामका थोत्रा सामान राखेर पगालिन्छ र ती सामान लिक्युड आइरन अर्थात् फलामको झोल बन्छ । त्यो झोललाई बिस्तारै तापक्रम घटाइन्छ र फलामको ब्लेड बनाइन्छ । माथिको यो तस्बिर यस्तै कवाडी पगालेर बनाइएको फलामको अंश हो । यही फलामलाई पछि मेसिनमा राखेर आफूलाई आवश्यकता अनुसारको साइजमा छड बनाइन्छ र त्यो बजारमा आइपुग्छ । जगदम्बाले उत्पादन गर्ने अधिकांश छड यस्तै थोत्रा फलाम पगालेर बनाउने गरेको छ ।

थोत्रा फलामको फिल्टर नै गरिँदैन

हुन त कवाडी अर्थात् थोत्रा फलाम पगालेर छड बनाउँदा त्यहाँ फिल्टरेसन अर्थात् फलामको प्रकृतिअनुसार छान्नुपर्ने हो । फलामको छनोट गर्दा खिया लागेको वा नलागेको, कुन प्रकृति वा गुणस्तरको फलाम भनी पहिले नै छान्नुपर्ने हो । तर जगदम्बाको फ्याक्ट्रीभित्र फलामको प्रकृति छुट्याई छनोट गर्ने विधि वा प्रक्रिया अवलम्बन गरिन्छ कि गरिँदैन ? मुख्य प्रश्न यो हो । एउटा ठूलो म्याग्नेट अर्थात् चुम्बकले तानेको सबै वस्तुलाई फलामका रूपमा भट्टीमा हालिन्छ र पगालिन्छ । जसका कारण पहिले नै कार्बन, फस्फोरस, सल्फर र सल्फर फोस्फरस कम्बाइन्डको मात्रा कम्पोजिसनमा फरक पार्छ । ग्याँस सिलिन्डरदेखि फलामका कराई वा कडाभन्दा कडा फलामका सामान र नरम फलामलाई पनि एकै स्थानमा राखेर पगालिन्छ । कडा फलामका सामानमा पहिले नै कार्बन, फोस्फरस र सल्फरको मात्रा बढी हुन्छ । तर छड बनाउन फेरि पनि केही न केही मात्रामा कार्बन, फोस्फरस र सल्फर राखिन्छ, जसका कारण यस्ता छडहरूमा कार्बन र सल्फर तथा फोस्फरसको मात्रा बढी भई फलाम हुनुपर्नेभन्दा कडा बन्छ र आवश्यक मात्रामा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) नहुँदा उक्त छडलाई बङ्ग्याउँदा भाँचिन्छ । यस्ता फलामको डक्टिलिटी मात्रै कम हुँदैन, ब्रिटलनेस अर्थात् कडापन बढी हुन्छ । अनि अलिकति बढी दबाब पर्नेबित्तिकै त्यो भाँचिन्छ । यस्ता छड प्राइम ब्लेडबाट बनेको छडभन्दा कमजोर हुन्छन् । त्यसकारण थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेडबाट बन्ने छडको तुलनामा स्वाभाविक रूपमा कमजोर नै हुन्छ । कवाडी पगालेर बनाइने अधिकांश फलाम छड निर्माणमै प्रयोग हुने गर्छ, जसका कारण छड मापदण्डभन्दा कमजोर बन्न पुग्छ ।

के फरक छ प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा ?

मुख्यतः फलामे छडमा ठूलो मात्रामा फलामकै हिस्सा रहन्छ । त्यसबाहेक फलामे छडमा कार्बन, फोस्फरस, सल्फर र सल्फर फोस्फरसको कम्बाइन्ड केमिकल रहेको हुन्छ । फलामे डन्डी अर्थात् छडमा कार्बनको मात्रा अधिकतम ३ प्रतिशत मात्रै राख्नुपर्छ भने सल्फरको मात्रा शून्य दशमलब शून्य ५५, फोस्फरसको मात्रा शून्य दशमलब शून्य ५५ र सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा शून्य दशमलब १ शून्य ५ प्रतिशत मात्रै हुनुपर्छ । यदि यसको मात्रामा वृद्धि भयो भने फलामे छडको डक्टिलिटी अर्थात् नरमपना कम हुने र ब्रिटलनेस अर्थात् कडापन बढी हुन्छ, जसका कारण जति मात्रामा जसरी छड बाङ्गिनुपर्ने हो, त्यसो हुन सक्दैन र बङ्ग्याउन खोज्दा भाँचिन्छ । त्यसकारण कवाडीबाट बनेका फलामे छड प्राइम ब्लेड अर्थात् पहिलो श्रेणीको फलामबाट बनेको छडभन्दा कमजोर हुन्छन् ।

फलामको पुनः प्रयोग नै गलत कि गुणस्तरमा प्रश्न ?

हुन त संसारभर नै फलाम तथा यस्ता धातुको पुनः प्रयोग गरिन्छ । यसलाई पगालेर वा अन्य स्वरूपमा परिवर्तन गरी यसको प्रयोग हुन्छ । हाल विश्वभर रहेका यस्ता धातुको ३० प्रतिशत धातु पुनः प्रयोगमा गएका छन् भने अमेरिकामा मात्रै ४२ प्रतिशत स्टिल उद्योग यस्तै कवाडीबाट बन्छन् । तर सवाल के हो भने के नेपालमा थोत्रा फलामबाट बनाइएका यस्ता छडहरूले न्यूनतम मापदण्ड पूरा गरेका छन् त ? के थोत्रा फलाममा हुने कार्बन, सल्फर र फोस्फरसको मात्रा घटाउन कुनै विधि प्रयोग गरिएको छ त ? के बजारमा आएका फलामे छडमा कार्बन, सल्फर र फोस्फरसको मात्रा मापन गरिएको छ त ? मुख्य समस्या नै यहीँ हो । बजारमा बिक्रीमा आएका यस्ता अधिकांश फलामे छडहरूमा कार्बन, सल्फर र फोस्फरसको मात्रा बढी रहेको पाइएको छ । छड उत्पादक कम्पनीले क्वालिटी कन्ट्रोलमा ध्यान नदिँदा फलामे छडमा यी केमिकलको मात्रा बढी पाइन्छ । यो तथ्याङ्क नापतौल विभाग र पुल्चोकस्थित केन्द्रीय ल्याबको लग रेकर्डमा पनि पाउन सकिन्छ ।

असुरक्षित मजदुर

जगदम्बा स्टिलको फ्याक्ट्रीभित्र जब हामी प्रवेश गर्यौँ, त्यहाँको अवस्था ज्यादै दयनीय देखियो । ४ हजार डिग्री तापक्रममा काम गर्ने मजदुरहरूको सुरक्षा व्यवस्थापनमा भयानक लापरवाही गरिएको देखिन्थ्यो । त्यहाँ कार्यरत मजदुरहरूले सुरक्षित पोसाक लगाएका थिएनन्, केहीको त टाउकोमा हेल्मेटसमेत थिएन । उनीहरू अत्यधिक तापक्रम रहेको भट्टीमा थोत्रा फलामका टुक्रा हालेर पगाल्नमै व्यस्त थिए ।

https://www.facebook.com/yatradaily/videos/2162749653997591/?t=2

ratopati.com बाट

Back to top