×

मधेसलाई बदनाम गराउने कुतर्कको प्रतिवाद गर्न मधेसीलाई अब मूलधारकै मिडिया ताक्नु नपर्ने भएको छ, सोसल मिडियाबाटै मुखभरिको जवाफ दिन सकिने भएको छ ।

मधेस तेस्रो आन्दोलनमा थियो । आन्दोलनको ‘इपिसेन्टर’ वीरगन्ज थियो । ‘अल जजिरा’का लागि आन्दोलन कभर गर्न काम गरिरहेका थियौँ । एक दिन चाँडो रिपोर्टिङ सकाएर समाचार कतार पठाउन आत्तिँदै थियौँ । हतार देखेर गाउँबाट आएका मुस्लिम युवाले भने ‘किन हतार नि, मोबाइलबाटै समाचार र भिडियो पठाउनुहोस् न, सब काम त मोबाइलबाटै हुन्छ ।’ कुरा सुनेर अनौठोभन्दा आनन्द लाग्यो, मधेसमा मोबाइल र यसको प्रयोगमा गाउँबाट आएको युवासमेत अपडेट पाउँदा ।

आन्दोलनको ३ वर्षमा देशमा धेरै परिवर्तन भइसकेका छन् । मधेसका गाउँका सानातिना चोकमा समेत कुराकानीको विषय फेरिएको छ । देश र संसारका विषयमा कुराकानी हुन्छ, सामाजिक सञ्जालबाट पाएको सूचनाको आधारमा । सामाजिक सञ्जालमा आएका विषयवस्तुमा कडा विवाद र विश्लेषण भइरहेको हुन्छ । यसलाई ‘चौकबाजी’ भन्ने गरिन्छ । यही चौकबाजी मधेसलाई एकसाथ र एकसूत्रमा बाँध्ने औजार पनि हो । मधेसले आफूविरुद्ध केन्द्रित आक्रमणबाट बचाउका लागि समेत सामाजिक सञ्जाल र चौकबाजीलाई उपयोग गरिरहेको छ ।

अमेरिकाको ‘ब्ल्याक लाइब्स म्याटर’ आन्दोलन सुरुवातको कथा यहाँ जोड्न सकिन्छ । सन् २०१३ देखि नै सामाजिक सञ्जालमा ह्यासट्याग ‘ब्ल्याक लाइब्स म्याटर’ अभियान चलिरहेको छ । श्वेत सुरक्षाकर्मीले काला मान्छेमाथि गरेको बर्बरता र हिंसाविरुद्ध अश्वेत समुदायले सामाजिक सञ्जालमा सुरु गरेको अभियान देशव्यापी मात्र नभएर आहिले विश्वव्यापी भएको छ । अश्वेतको जीवनले पनि महत्व राख्छ भन्दै सामाजिक सञ्जालमा कैयौँ भिडियो पोस्ट र सेयर भएका छन् । ती भिडियोमा अश्वेतले आफूमाथि भएका रंगभेद, दमन र प्रतिरोधका कथाव्यथाबारे बताएका छन् । कतिले त आफूमाथि घटेका घटनाको भिडियो रेकर्ड गरेर पोस्ट गर्ने गरेका छन् ।

अभियानका कारण अमेरिकामा सुरक्षाकर्मी दण्डित मात्र भएका छैनन्, डरले तिनको व्यवहारमा परिवर्तन आउन थालेको विश्वास गरिन्छ । यस्तो प्रयोग आन्दोलनका क्रममा मधेसी युवाले गरेका थिए । जसले भइरहेका घटनाक्रमको यथार्थ चित्र बाहिर आएको थियो । पहिलो मधेस आन्दोलनमा निकै कम इन्टरनेट प्रयोगकर्ता थिए, सामाजिक सञ्जाल प्रयोगकर्ता त नगण्य । तेस्रो मधेस आन्दोलनसम्म आइपुग्दा सडकमा भएका सबै गतिविधि सामाजिक सञ्जालमार्फत संसारभरि पुग्यो । यसले राज्य र प्रदर्शनकारी दुवैलाई थोरबहुत सचेत र सजग बनाउँदै मधेसका युवालाई एकसूत्रमा बा“ध्ने काम पनि ग-यो । सामाजिक सञ्जालमा चोकबाजी यहीँबाट सुरु भयो ।

सरकार र सरकारनिकट रहेका वा आन्दोलनविरोधीले आफूअनुकूल घटनाको विवेचनासहित त्यसलाई सर्वसाधारणसम्म पु-याउन सामाजिक सञ्जालको प्रयोग गरे । आन्दोलनकारीले आफूअनुकूल र राज्यले छरेका भ्रम चिर्न सामाजिक सञ्जाललाई हतियार बनाए । मधेस आन्दोलनमा राज्यको बर्बरता रोक्नसमेत सामाजिक सञ्जाल प्रयोग भयो ।

सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने होडबाजीको नतिजा सकारात्मक नै रह्यो । यसले सुरक्षाकर्मीलाई अनावश्यक र अत्यधिक बल प्रयोग गर्नबाट रोक्न नसके पनि सुरक्षाकर्मीको दमनको पराकाष्ठालाई उजागर गरेको थियो । परिणाम, मधेसीलाई झन् आन्दोलित बनायो, आन्दोलन उचाइमा पुग्यो । अबका आन्दोलनमा सुरक्षाकर्मीले बर्बरता प्रदर्शन गर्नुअघि मधेस आन्दोलनताका पोस्ट भएका भिडियो पक्कै सम्झिनेछन् र संयमित हुनेछन् भन्ने आश गरौँ ।

आन्दोलनमा सुरक्षाकर्मी, गुप्तचर र राज्यनिकट व्यक्ति तथा संघसंस्था नै सामाजिक सञ्जालको पूर्ण निगरानीमा रहे । यसले श्रव्यदृश्य सामग्रीसहितका यथार्थ विवरण छल्न राज्य र आन्दोलनकारी दुवैलाई मुस्किल थियो । यसस“गै सामाजिक सञ्जालमा केही अनावश्यक र देशबाहिरका घटनालाई समेत अतिरञ्जित गरी प्रचारप्रसार गरियो । यसले केही स्थानमा आन्दोलन भड्कियो पनि । सुरक्षाकर्मीसमेत अनाहकमा जनआक्रोशको सिकार भए ।

वीरगन्ज देशको यस्तो सहर हो, जहाँ मोहर्रम, जैन दिवसदेखि भीमसेन जात्रासमेत बडो भव्य र हृदयैदेखि मनाइन्छ । यसपटक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत (मुस्लिम धर्मावलम्बी) को सहभागितामा सबै जातजाति मिलेर नेवार समुदायको म्हःपूजा गरे । यो एउटा सन्देश थियो, हामी जोडिनुपर्छ । पूजाको आयोजक स्थानीय नेवार समुदायले मधेस आन्दोलनमा देखाएको ऐक्यबद्धता पनि स्मरणीय छ । हामी सामाजिक सञ्जालको शक्तिलाई मधेस र मधेसीसँग जोड्न सदुपयोग गर्न खोज्दै छौँ ।

सिंगो मधेसले सदियौँदेखि उत्पीडन सहँदै आयो । प्रत्येक क्रान्ति वा आन्दोलनको सहयात्री बन्यो । तर, कुनै परिवर्तनले पनि मधेसको समस्याको सम्बोधन गर्न सकेन । यतिवेला वीरगन्जमा एकजना दलित महिलामाथि बलात्कारको घटना चर्चामा छ । महानगरभित्र घटेको घटनाका विषयमा सामाजिक सञ्जालमा आएको विरोधले उनले न्याय पाउनेमा शंका छैन ।

तर, विडम्बना मधेसमा सामाजिक सञ्जालको मानसिकताभन्दा परिणाम सधैँ भिन्न आउँछ । यो एउटा प्रतिनिधि घटना मात्र हो । मधेसमा दलित, बालिकाको शिक्षा, दाइजो, बुहारी, महिलाको प्रजनन स्वास्थ्य, महिला अधिकार र स्वतन्त्रताका विषयमा सामाजिक सञ्जालमा व्यक्त हुने धारणा र विचार जति उदार र क्रान्तिकारी हुन्छन्, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको हुन्छ । यसमा परिवर्तनकारी शक्तिहरूको देनसमेत सोही प्रतिशतमा रहने गर्छ । यसले सामाजिक सञ्जालमा आफूलाई परिवर्तनकारी, उदार र क्रान्तिकारी देखाउन पोस्ट गरिएका कुरा व्यवहारमा उल्टो हुने रोगले मधेसमा जरा गाडेको प्रस्ट हुन्छ ।

सामाजिक सञ्जालकै कारण उद्धार र समाधानका विषय पनि रि–ट्विट र सेयर भएका छन् । गाउ“घरका चोटाकोठादेखि आफन्तसँग रमाएका फोटासम्मले रंगीन बनाइएको छ । हामी एकअर्कामा जोडिएका छौँ । के यति मात्र हो त, सामाजिक सञ्जाल र यसको प्रयोग ? पक्कै होइन । अरबमा सामाजिक सञ्जालले ल्याएको उथलपुथल इतिहासमा स्वर्णाक्षरमा लेखिएको छ । यसबाट हामीले जायज विषय र सत्यताका पक्षमा खबरदारीका लागि दलिय मोह, कार्यक्षेत्रको अवरोध र पारिवारिक दायराभन्दा बाहिर निस्कन सक्नुपर्छ । ‘अरब स्प्रिङ’ भनिएको आन्दोलन संगठित रूपमा सामाजिक सञ्जालमार्फत भएको सडक आन्दोलन थियो । यो लाखौँलाखलाई इजिप्ट र ट्युनिसियाको सडकमा उतार्ने उत्प्रेरक बन्यो ।

हामी विविधतापूर्ण देशका नागरिक हौँ । हाम्रो रहनसहन फरक छ । तैपनि हामी जति पहाडी हौँ, त्यति हिमाली हुन सकेका छैनौँ । त्योभन्दा कम मधेसी छौँ । यहाँ मधेसका मुद्दामा अनौठो मौनता देखिन्छ । पहिलो मधेस आन्दोलनदेखि हालसम्मका सबै महत्वपूर्ण आन्दोलनमा हामी विभक्त देखियौँ । मधेस आन्दोलनलाई भारतको सहयोगमा पहाडिया समुदायविरुद्ध भएको आन्दोलनको रूपमा बुझ्नेको संख्या बढी भयो, उत्पीडितले समानताका लागि गरेको आन्दोलनका रूपमा बुझ्नेभन्दा ।

भारतले गरेको नाकाबन्दीको प्रतिकारमा उत्रिनुपथ्र्यो, नाकाबन्दीको आडमा आन्दोलन गरे भनियो । त्यसो भन्नेले भारतले नाकाबन्दी लगाएका वेला पञ्चलाई साथ नदिएर किन ०४६ सालमा जनआन्दोलन गरेको भनेर त प्रश्न गर्दैनन् । पुलिसले लखेट्दा भाग्दै सीमापारि पुगेका आन्दोलनकारीले ढुंगा हानेकोमा कोकोहोलो मच्चाउने मिडिया २००७ सालमा भारतमै गोलाबारुद संकलन, तालिम गरी मुक्तिसेना भारतबाट नेपाल पसी सीमाक्षेत्रका सदरमुकाम कब्जा गरेकोमा चाहि“ किन गर्व गर्छन् ? हो, मधेसलाई बदनाम गराउने कुतर्कको प्रतिवाद गर्न मधेसीलाई अब मूलधारकै मिडिया ताक्नु नपर्ने भएको छ । सोसल मिडियाबाटै मुखभरिको जवाफ दिन सकिने भएको छ ।

छुटाउनै नहुने अर्को विषय भनेको सामाजिक सञ्जाल केन्द्रित राष्ट्रवाद र समृद्धि पनि हो । केही दिनअघि मात्र भारतमा सामाजिक सञ्जालकेन्द्रित राष्ट्रवाद र समृद्धिको चिरफार गरियो, बिबिसीको अध्ययनमार्फत । कुटिल राजनीतिक नेतृत्वले अपरिपक्व सामाजिक सञ्जाल प्रयोगकर्तालाई कसरी झुक्याइरहेका छन्, प्रस्ट पारेको थियो सो अध्ययनले । अनुसन्धानमा राष्ट्रवादको बढ्दो लहरले आममानिसलाई झुटा समाचार फैलाउन हौस्याउन भूमिका निर्वाह गरिरहेको छर्लंग भयो । यसमा दक्षिणपन्थी र वामपन्थी बढी सक्रिय देखिन्छन् ।

सामाजिक सञ्जालका विज्ञका अनुसार दक्षिणपन्थीको सञ्जाल वामपन्थीको भन्दा अझ बढी संगठित रूपमा राष्ट्रवादसँग जोडिएका झुटा समाचारलाई अघि बढाउन सक्रिय छन् । राष्ट्रवादको खोक्रो नारालाई लिएर मानिसले तथ्य नबुझी भावनात्मक रूपमा समाचार सेयर गरिरहेको अनुसन्धानले देखाएको छ । हामीकहाँ त ‘फेक आइडी’बाट पोस्ट भएका समाचारका आधारमा नामीगिरामी मिडियासमेत झुक्किएका छन् । वेलावेला सामाजिक सञ्जाल राज्यबाटै समेत परिचालित हुने गरेको छ ।

स्थानीय, प्रदेश र संघीय तहको चुनावमा मधेसले पनि सामाजिक सञ्जाललाई राम्रो व्यापार दियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणताका पनि सामाजिक सञ्जालको ‘स्टन्ट मोडेल’ मधेसमा खुब चल्यो । स्थानीय चुनावका क्रममा वीरगन्ज महानगरको चुनावमा सम्भवतः सबैभन्दा बढी ‘सामाजिक सञ्जाल स्टन्ट’ भए ।

मेयरमा निर्वाचित विजयकुमार सरावगीले भारतबाट समूह नै ल्याएर आफ्नो फेसबुक पेजलाई सशक्त बनाएको ‘चौकबाजी र मिडियाबाजी ’ त्यतिवेला चलेको थियो । अन्य उम्मेदवारको फेसबुक र ट्विटर पेज पनि चर्चामै थिए । सामाजिक सञ्जालमार्फत त्यसवेला उम्मेदवारहरूले गरेका घोषणा र नाराको केही प्रतिशत असर युवा उम्मेदवारमा प-यो । जुन निर्वाचनको एक वर्षमै मिथ्या भएको हिजोका पोस्टमा कमेन्टसहित भइरहेका नयाँँ सेयरले देखाउँछन् ।

चौकबाजीमा जसरी सामाजिक सञ्जालका विषयको चर्चा हुन्छ, त्यसले मधेसले आशा, आड र भरोसाका लागि साथ खोजिरहेको देखिन्छ । जबजब केन्द्रीय सत्ता मधेसका आवाज दबाउन उद्यत हुन्छ, त्यसवेला क्रान्तिको बिगुल यही सामाजिक सञ्जालबाट फुकिनेछ । संविधान संशोधन नभए चौथो मधेस आन्दोलन अवश्यम्भावी देखिँदै छ । त्यतिवेला मधेसले आन्दोलनको सशक्त हतियार सामाजिक सञ्जालालाई बनाउने निश्चित छ । ‘मधेस स्प्रिङ’को सुरुवातको संकेत सडक र सामाजिक सञ्जालमा व्यवस्थित र संगठित रूपमै देखिन थालिसकेको छ । अभियन्ताहरूले विश्वबाट सिकेको र देखेको सफलता नेपालमा प्रयोग गरे नौलो मान्न सकिँदैन ।

अन्तिम प्रसंग, बिबिसीको नेपाली सेवामा कार्यरत पर्साका पत्रकार गनी अन्सारीको एउटा ‘पिन्ड ट्विट’ म वेलावेला हेर्छु । उनले लेखेका छन्, ‘जब म आफ्नो रोजा तोड्ने समयमा हुन्छु, त्यसवेला मलाई एउटा हिन्दू साथीको निम्तो आउँछ ।’ उनले सहिष्णुता ह्यासट्यागमा लेखेको यो ट्विटले हामीबीच धार्मिक सहिष्णुता झल्काउँछ । यस्तै मधेस आन्दोलन उत्कर्षमा पुगेका वेला सिराहामा भेटिएका एकजना किसान भन्दै थिए, ‘सिरहाको चामल जुम्लामा जान्छ, जुम्लाको स्याउ सिराहा पुग्छ ।’ हामी जोडिने एउटा माध्यम सामाजिक सञ्जाल हो । तैपनि हामी जोडिन होइन, तोडिन तम्तयार रहेको वेलावेला सामाजिक सञ्जालका आक्रोशले देखाउँछ ।

सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने त्यो प्रयोगकर्तामा मात्र निर्भर हुँदैन । उसका म्युचुअल फ्रेन्ड, उसले लाइक गर्ने पेज र ऊ सदस्य भएका ग्रुपहरूले पनि निर्धारण गरिरहेका हुन्छन् । यसकारण सामाजिक सञ्जाल पूरै खत्तम भन्नु भन्दा यसलाई उत्तम बनाउन सबैको प्रयास जरुरी छ । यसका लागि फेसबुकबाट प्रेम भएर नाबालिग उमेरमा ‘भागी बिहे’ गर्ने युवायुवतीलाई मात्र उदाहरणका रूपमा प्रस्तुत गर्नु कति उचित होला ? विश्वका राम्रा विश्वविद्यालयका अध्ययन सामग्रीदेखि प्रजनन स्वास्थ्यसम्मका विषय पनि त त्यही सामाजिक सञ्जालमा अटाएका हुन्छन् ।

हाम्रो समाजको सोच र संस्कृतिको जग हल्लाउन सामाजिक सञ्जालले सक्दैन । तर, यसले हामीलाई विकृत बनाउन अवश्य सक्छ । यसकारण सबै सचेत र सजग बनेर सामाजिक सञ्जालको सदुपयोगमा जुट्नुप-यो । एक सर्वेक्षणका अनुसार फेसबुकमा जति धेरै नेपाली प्रयोगकर्ता भए पनि जम्मा २ प्रतिशतले यसमा आएका विषयवस्तुमा पूर्ण विश्वास गर्छन् । अचम्म के छ भने मधेसलाई भारतस“ग जोडेर आउने सामग्रीमा विश्वास राख्ने जमात भने निकै ठूलो देखिन्छ । यहाँ टेलिभिजन र रेडियोमा विश्वास गर्नेभन्दा पत्रपत्रिकामा विश्वास गर्ने समूह सानो छ । यसकारण डिजिटल प्लेटफर्मलाई अझै विश्वसनीय बनाउन सबैको चेतना आवश्यक छ ।

(लेखक स्वतन्त्र पत्रकार, सामाजिक अभियन्ता तथा अपराध र राजनीतिका शोधकर्ता हुन्)

Back to top