×

वीरगंज, ८ मङ्सिर - यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र लाइसेन्सको आवेदन शुक्रबारबाट खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् ।

यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारण हैरान भएका हुन । शुक्रबार विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै नचल्दा समस्या उत्पन्न भएको जनाईएको छ । विगत लामो समयदेखि सवारी चालक अनुमति पत्र बन्द भएको कारण धेरै मानिसले एकैपटक आवेदनको प्रयास गरेकाले अनलाइन प्रणालीले लोड धान्न नसकेको यातायात व्यवस्था विभागका एक प्राविधिकले जानकारी दिएका छन् ।

देशभरीको आवेदन एउटै सिष्टममा आउने भएकाले लोड धान्न नसकेको र यो समस्या १/२ दिन भित्रैमा समाधान हुने जनाईएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वीरगंज शाखाका निमित्त प्रमुख रोहित कोइरालाले सम्पूर्ण वर्गको लाईसेन्सको अनलाईन आवेदन खुला भएको र आवेदन बमोजिम तोकिएको समयमा परिक्षा लिई उतिर्ण हुनेलाई लाईसेन्स वितरण गरिने बताउनु भयो ।

विगतमा नेपालीकरण गरि जारि गरिएका लाईसेन्समा अनियमितता भएको भन्दै अख्तियारले यातायात व्यवस्था कार्यालय विरगंजका तत्कालिन ५ जना कार्यालय प्रमुखहरुलाई निलम्बन गरी कारवाही गरेको छ ।

Back to top