×

वीरगन्ज २ मंसिर । जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा पञ्च भलादमीको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको छ ।

महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो । बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले आज यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो । पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी गणमान्य व्यक्ति सहभागी थिए । अहिले उनीहरू फरार छन् । दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएका हुन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । सामाजिक सुरक्षा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए । यता फरार रहेका पञ्चका परिवारले चोरी अभियोगमा पक्राउ परेका महतोका पितालाई दबाबमा पारेर कागज गराएका छन् । पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका पितासँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले बताएका छन् ।

Back to top