×

बीरगंज १६ कार्तिक । वीरगंजको ऐतिहासिक घडिअर्वा पोखरी र पर्सा राष्ट्रिय निकुञ्जलाई सरकारले पर्यटकीय गन्तव्य स्थलको रुपमा घोषणा गरेको छ । सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गर्ने क्रममा पर्साका दुई वटा स्थानमात्रै परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सूचीमा उल्लेख गरिएको छ । सो सूचीमा वाराको गढीमाई मन्दिर र सिम्रौनगढ क्षेत्र समेत परेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको छ । पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूचि सार्वजनिक गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तब्यमा मुलुकमा नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्ने र ती क्षेत्रको पूर्वाधारलगायत विकासका लागि बजेट विनियोजन गर्ने घोषणा अनुरुप अब वीरगंजको घडिअर्वा पोखरी र पर्सा वन्यजन्तु आरक्षलाई पर्यटकको नयाँ गन्तब्य बनाउने र यसको पूर्वाधार विकासका लागि यसै वर्ष बजेट विनियोजन हुने मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रको विकाससँगै विरगंजको विकासमा अब पर्यटन क्षेत्र पनि जोडिने भएको छ । पर्यटन पूर्वाधारका लागि अहिले वीरगंज तथा यस आसपासमा तारेहोटलहरु खुल्ने क्रम शुरु भई सकेको छ ।

Back to top