×

बीरगंज १३ कार्तिक । दिपावली तथा धनतेरसको दिन विशेष रुपमा हिन्दु धर्मावलम्वीहरुको घर घरमा भित्रिने चाँदीको सिक्का वीरगन्जमा नक्कली फेला परेको छ ।

वीरगंज बजारमा रहेका धेरै जसो सुनचाँदी पसलेहरुले गणेश तथा लक्षमी छापका नक्कली चाँदीका सिक्काहरु उपभोक्ताहरुलाई विक्री गरेको गुनासो आएकोले सुनचाँदी व्यवसायि महासंघका केन्द्रिय सदस्य तथा पर्साका अध्यक्ष निरज सर्राफले सोमा रोक लगाउन वीरगन्जमा रहेका सुनचाँदी पसलेहरुलाई पत्रचार गरि सचेत गराएका छन ।

तोलाको ७ सय ७० रुपैया चाँदीको दर रहेकोमा केही मिसावट नगरी चाँदीको सिक्का सो भन्दा ज्याला बापत १ सय ५० रुपैया बडी थप गरि बिक्री गर्नु पर्ने अध्यक्ष निरज सर्राफको भनाई रहेको छ ।

सुनचाँदीको बिक्री वितरण नेपाल सरकारले तोकेको गुणस्तर र मापदण्ड अनुसार गर्नु पर्नेमा सोको अनुगमन नहुँदा उपभोक्ता ठगिएका छन् ।

उत्पन्न समस्याका सम्बन्धमा अध्यक्ष निरज सर्राफले महासंघसँग आवद्ध व्यवसायिहरुले नक्कली चाँदीको सिक्का उपभोक्तालाई बेचेको गुनासो आफूलाई जानकारी आएको र सरकारले तोकेको मापदण्ड विपरित नक्कली सिक्का बेच्नेलाई कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

अध्यक्ष सर्राफले धनतेरसको बेला चाँदीका भाडा वर्तन तथा सिक्काको कारोवार सुनचाँदी पसलबाट बढी हुने हुँदा यसको मौका छोपी धेरै जसो वीरगन्जको सुनचाँदी पसलेहरुले गलत समान बेचिरहेका छन तर प्रमाणित भेटिए त्यस्तालाई कारवाही गर्न स्थानिय प्रशासनलाई समेत आग्रह गर्नु भयो ।

यसरी पहिचान गर्नुहोस् सक्कली र नक्कली सिक्का

तिहारमा धनतेरस मनाइन्छ । यो विशेष अवसरमा अधिकांश नेपालीहरुले सकेजति धनसम्पत्ति जोड्ने चलन छ । त्यसमा पनि सुनचाँदीको सामान बढी खरीद हुन्छ । तर, सबैसँग धेरै सुनचाँदी खरीद गर्ने पैसा हुन्न । यही कारण अधिकांश नेपालीको छनौटमा यो दिन चाँदीका सिक्का र अन्य सामानहरु पर्छन । तर के तपाईले खरीद गर्ने चाँदीको सिक्का सक्कली हो या नक्कली कहिले जाँच गर्ने गर्नुभएको छ ? हतारमा चाँदीको सिक्का भनेर अन्य कुनै कमसल धातुको सिक्का ल्याउने गल्तीबाट बच्नुपर्छ, किनभने यही मौकामा कतिपय सुनचाँदी व्यवसायीले तपाईलाई ठगी पनि गरिरहेका हुनसक्छन् । उसो भए चाँदीको शुद्धता कसरी जाँच्ने त ? आउनुहोस्, हामी बताउँछौ असली चाँदीको पहिचान गर्ने केही पुरातन र आधुनिक विधिको बिषयमा :

सुनजस्तै चाँदीको पनि हलमार्किङ(छाप) हुन्छ । सुनमा शुद्धताका लागि जसरी क्यारेटको हिसाब गरिन्छ, त्यसैगरी चाँदीमा शुद्धताका लागि प्रतिशतलाई आधार मानिन्छ । चाँदीको बिस्कुटमा स्पष्ट रुपमा शुद्धता लेखिएको हुन्छ । जस्तै, ९९.९ प्रतिशत वा ९५ प्रतिशत ।

आवाजमा ध्यान

असली र नक्कली चाँदीको सिक्काको पहिचान त्यसबाट उत्पन्न हुने आवाजबाट पनि गर्न सकिन्छ । कुनै धातुमा चाँदीको सिक्का गिराउँदा कडा आवाज आउँछ । तर नक्कली सिक्का फलामको जस्तै बज्छ ।

थर्मल कण्डक्टिविटी टेस्ट

चाँदी थर्मल इनर्जीको सबैभन्दा राम्रो सूचालक हो । चाँदी असली या नक्कली के हो भनेर छुट्याउन एक बरफलको टुक्रा चाँदीमा राख्नुहोस् । कुनै अर्को धातुको तुलनामा चाँदीमा राखिएको बरफ तेज गतिमा पग्लिन्छ । किनभने थर्मल इनर्जी तीव्र गतिमा बरफमा टान्सफर हुन्छ ।

म्याग्नेट परीक्षण

चाँदी चुम्बकीय धातु होइन । यो टेस्टका लागि तपाईलाई सामान्य भन्दा बढी शक्तिशाली चुम्बको जरुरी हुन्छ । यस्तो चुम्बक तपाईले हार्डवेयरबाट पाउन सक्नुहुन्छ । नक्कली चाँदी चुम्बकतर्फ बढी आकर्षित हुन्छ । तर असली चाँदी चुम्बकतर्फ आकर्षित हुँदैन ।

केमिकल परीक्षण

यदि चाँदीको सिक्कामा शुद्धताको कुनै छाप लगाइएको छैन भने असली र नक्कली छुट्याउन तपाईंले केमिकल परीक्षणको विधि समेत अपनाउन सक्नुहुन्छ । सिल्भर केमिकल टेस्ट समेत खरीद गर्न सकिन्छ । केमिकल टिस्ट किटमै परीक्षणको सबै प्रक्रिया र विधि लेखिएको हुन्छ । तर यस्तो टेस्टबाट तपाईंले खरीद गरेको चाँदीमा नोक्सानी समेत पुग्नसक्छ । यदि तपाईंको साथमा राम्रो चाँदी छ र तपाईं आफ्नो चाँदीको प्रोडक्टमा कुनै दाग नरहोस् भन्ने चाहनुहुन्छ भने यो विधि अनपाउँदा नै राम्रो हुन्छ ।

Back to top