×

वीरगन्ज, ९ कात्तिक । वीरगञ्ज उद्योग वाणिज्य संघ कामदार र कर्मचारीहरुप्रति कुन हदसम्म अनुदार रहेछ भन्ने कुराको रहस्य बाहिर आएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घले आफ्नो कार्यालयका कर्मचारीलाई विगत ४ महीनादेखि तलव नदिएको खुलासा भएको छ ।

प्रत्येक २ वर्षमा २५ प्रतिशतका दरले तलव वृद्धि हुँदै आएकोमा यस वर्षको साउनदेखि तलव वृद्धि हुनुपर्नेमा संघका अध्यक्ष ओमप्रकाश शर्मा र महासचिव शुनिल खेतानको कर्मचारीलाई पेल्ने चालाका कारण अहिलेसम्म तलव पाएका छैनन् । यतिसम्म कि दशैंजस्तो चाडमा समेत तलव नदिँदा कर्मचारीहरुले बेखर्ची भएर चाड मनाउनुपरेको गुनासो गरेका छन् ।

उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीका लागि सरकारले यही आर्थिक वर्षदेखि लागू हुने गरी तय गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समेत भिलेनको रोल खेलेको संघका पदाधिकारीले आफ्नै कर्मचारीहरुमाथि पनि बद्नियत राखेको खुलासा भएको छ । साउन महीनादेखिको तलव वृद्धि हुनुपर्ने माग कर्मचारीले राखेकोमा माग पूरा नगरी कर्मचारीलाई गलाएर आफ्नो सर्तमा घुँडा टेकाउने योजनाअनुसार अहिलेसम्म अल्मल्याएर राखिएको एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

यसअघि प्रत्येक २ वर्षमा २५ प्रतिशतका दरले तलव बढ्ने गरेकोमा यस पटक अध्यक्ष र महासचिवले १५ प्रतिशतभन्दा बढी दिन नसकिने अडान राखेर अल्झाएको बताइएको छ । साउनदेखिको तलब दशैंमा समेत नदिँदा आर्थिक अभावबाट आत्तिएर कर्मचारीहरु संघको शर्तका अगाडि लत्रिने अपेक्षा पदाधिकारीको थियो । तर, पदाधिकारीको अनुमानले फेल खाएको छ ।

महासचिव खेतानले कर्मचारीको मागबारे अध्ययनको बाहानामा चार महीनादेखि फाइल अड्काएर राखेको एक पदाधिकारीले बताए । आफ्ना उद्योग र व्यापार प्रतिष्ठानमा मजदूर कर्मचारीको श्रम शोषण गर्न माहिर संघका पदाधिकारीको असली चरित्र संघका कर्मचारीका अगाडि पनि उदाङ्गो भएको छ ।

चाडवाडमा तलवविहीन बनेका कर्मचारीले आफूहरुको खाजा खर्चको रकम जम्मा गरेर बनाएको कल्याण कोषबाट रकम सापट निकालेर दशैं मनाएका छन् । केहीले संघका पदाधिकारीबाटै सयकडा ३ रुपैयाँमा ब्याजी पैसा लिएर गर्जो टारेको पदाधिकारीले नै बताए ।

चार महीनादेखि तलव नपाउँदा किराना पसलेले समेत पत्याउन छोडेको एक कर्मचारीले गुनासो छ । संघका अहिले १५ जना तलबी कर्मचारी छन् । बारा र पर्साका उद्योग प्रतिष्ठानहरुमा श्रम समस्या सल्ट्याउने नाममा थिचोमिचो गर्ने पदाधिकारीहरुले आफ्नै कर्मचारीमाथि बद्नियत साँधेको उनीहरुको बुझाइ छ ।

Back to top